माया त गरेँ तर अधिकार छैन
अथाह प्रेम छ फेरि पहिचान छैन
कठोर भएर बिर्सन खोज्छु
निर्लज्ज मन सताइहाल्छ
कुहिरो भित्र जिन्दगी छ
पापी मन तैपनि
पटक पटक नङ्ग्याइहाल्छ ।
भैरहवा अस्पताल रोडको एउटा सानो होटल । सडकमा हावाको वेगलाई भेट्न कुदेका गाडीको आवाज । मानौँ ती गाडी गन्तव्य भेटाउन आतुर छन् । सडक किनारमा देखिने झ्याम्म झुम्म परेको बिरुवामा बज्रिए स्पर्श गर्दै बहेको हावाको झोंकालाई हेरेर हराइरहेको थिएँ ।
भित्रबाट आवाज आयो, “यो लत के हो ! घातक कि अविष्मरणीय ? स्कुल पोसाक लगाएकी पहाडी मुलकी करिब १६–१७ वर्षीया किशोरीले चुरोटको सर्को लिँदै भनी । उसले थपी, “मायाको लत पनि त्यस्तै केही पाउने आशामा निर्लज्ज सबै फुकाइहाल्छ । पाउनलाई मात्र गरिने मायाले अहिले जञ्जिरमा जेलिएको छु ।”
उसको छेवैमा रहेकी उसकै उमेर समूहकी अर्की केटीले झोला भित्तामा बजार्दै भनी, “धत् तँ त लक्की रैछस्, कोनसा तँ लिख पढकर जब गर्ने वाला थिस्, तेरोे वो गोरखपुर सो आ चुका सुनौली !” उसको झोलाबाट सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा कक्षा–११ (नेपाली संस्करण) लेखिएको पुस्तक भित्तामा बजारियो । ऊ झट्ट हेर्दा तराईमुलकी ठिटी जस्ती देखिन्थी ।
उनीहरूले लिएको चुरोटको धुवाँले उनीहरू बसेको भित्ताबाटै विद्रोह गर्दै बाहिर बसेका मानिसलाई समेत तर्साइरहेको आभास हुन्थ्यो । धुवाँको मुस्लोले सडकलाई रगमगाइरहेको थियो एकतमासले ।
फुङ्ग उडेको केश । हतास जस्तो देखिने अनुहार । मध्य किशोरावस्थाकी त्यो ठिटीले होटलको र्याकबाट गोल्डेन वाक लेखिएको रक्सीको बोतल निकालेर ठाडो घाँटी लगाएर रित्याई । अर्कीले भन्दै थिई, “पुरै नतोड्न, कुछ बुँद मेरो लागि पनि जोगा । नत्र अर्को लिदे !” ऊ भन्दै थिई, “बाध्यताका जञ्जिरमा जेलिएको धेरै भयो । उसको पासमा बिवी छे । तोडेर परिवारलाई खण्डित बनाउँ त भन्न सक्दिनँ । तर यो वेलगाम दिल उसैमा बस्यो क्यारुम् त नि म !”
ती युवतीले एक एक बोतल रक्सी रित्याए । चुरोट र रक्सीले लठ्ठिएका ती ठिटी अनुहार रातो पार्दै भित्ताको टेवलमा गएर बसे ।
छेवैको टेवलमा बसेका थिए एक जोडी ठिटी । झट्ट हेर्दा उनीहरू १३– १४ वर्षका जस्ता मात्र देखिन्थे ।
उनीहरूले लिएको चुरोटको धुवाँमा नमिठो गन्ध आउँथ्यो । छेउमा बस्नेहरू लहरे खोकी लागेझैँ खोकिरहन्थे ।
उनीहरूको गतिविधि झट्ट परबाट हेर्दा लाग्थ्यो ती कसैको व्यग्र प्रतीक्षामा थिए । झोलामा किताब । हातमा चुरोट र रक्सी । बोलीमा अश्लिलता ।
मैले दुई घण्टा त्यहाँको दृष्य हेरी मात्र रहें । बोल्न मन थियो, सोध्न मन थियो ती किशोरीसँग धेरै कुरा । तर सकिनँ ।
म पूर्वीया । मेरो भाषा, संस्कार फरक थियो । शायद त्यो उमेरमा म पनि वेलगाम थिएँ तर चुरोट रक्सी कहिल्यै पिइनँ । लोग्ने मान्छे कहिल्यै विश्वास गर्न योग्य हुन्छन् लागेन । स्कुल जाने समयमा कहिल्यै बरालिइनँ । हुन सक्छ मेरो किशोरावस्था राजनीतिको दुर्गन्धले छोएको तर राजनीति के हो बुझेपछि कहिल्यै स्कुल–कलेज बङ्क गरिनँ ।
ती किशोरीलाई देखेपछि म सोचाइको त्यो धरातलभित्र जकडिन पुगेछु किन यी किशोरीले जीवनलाई बैंस र पैसामा परिवर्तन गरे । यो समाजका गन्यमान्यलाई यी किशोरी स्कुल ड्रेसमा के गरिरहेका छन् खोज्न, सोध्न मन लागेन । दुई घण्टामा करिब पाँच–सात हुल आए त्यो सानो होटलमा । कोही केही समयपछि जोडामा कोठा भित्र छिरे ।
केही जोडामा छिल्लिएर निलर्ज्जतापूर्वक किशोरीका छातीमा हात मुर्सादै सडक पार गरिरहेका देखिन्थे । कोही पर्खिरहेका । यत्तिकैमा एउटा युपीको नम्बर प्लेट भएको कार त्यही सानो होटल अगाडि रोकियो । कारबाट एक जना अर्ध बैैँसे पुरुष निस्कँदै चर्को स्वरमा बोल्यो, “साला कचरा औरत जबसे देखा तबसे कचराको पासमा बसिरहन्छ । आजा इधर ।”
होटलको कुनामा बसेकी किशोरी लुसुक्क पर्दै कार छेवैमा गई । त्यो पुरुष भन्दै थियो, “आज त सुनौली पार गर्ने हो नि !” किशोरीले भनी, “म त सुनौली होइन हजुरको घर जाने हो ।” त्यो पुरुषले भन्यो, “मेरो पासमा बिवी, बच्चा छ । म लान सक्दिनँ । तँ त मेरो मनोरञ्जनको साथी मात्र होस् । तँ जत्रो त मेरो बेटी छ । बरु भन् न जान्छेस् घुम्न मुम्बाइ ?”,
उस्ले भनी, “नाइँ म जान्नँ । मा–पापाले मार्छन् ।”
त्यो पुरुष सडक पार गर्दै भन्दै थियो, “गएपछि सधैँ उतै रमाइलो गर्ने बस्ने नि किन आउनुपर्यो !” यति भनी नसक्दै उसले त्यो किशोरीको ओठ टोक्न भ्याइसकेको थियो । केहीछिन मै लठारिँदै त्यही सानो होटलको भित्र कोठामा छिरिसकेका थिए त्यो जोडी ।
वरिपरि तारे होटल । होटलमा चलाइएका स्पा, क्यासिनोको रोनक नै अलग्गै । ती रोनकबाट उत्पादन भएका बाछिटा पनि हुन सक्छन् यी कलिला बालिकाको दिनचर्या ।
काठमाडौं उपत्यकाका गल्ली गल्लीमा २० वर्ष अगाडिदेखि भौँतारिने म । यस्तोसम्म कुलतमा फसेका किशोरी भेटेको थिइनँ । ममा तमासको हलचल आइदियो । मन मुटु मस्तिष्कलाई आघात पारिरह्यो । छेवैमा मेरो मनोविज्ञानलाई ख्याल गर्दै बसेको मेरो साथीलाई झर्केर कराउन पुगेँ । बिचरा उसलाई पनि के थाहा ! पहिलो पटक त आएको । नबोली सडकतिर लाग्यो । शायद, पहिलो पटक अन्तस्करणबाटै नारीको जन्मलाई धिक्कारेँ । बिचरा ती अवोध किशोरीलाई के थाहा उनीहरूको यो गतिविधिले कुन मोडमा हुत्याइदिन्छ जिन्दगी । जिन्दगीको गोरेटोले जुराएका संयोगका यात्रीहरू मुलबाटोदेखि गन्तव्यतर्फ मोडिहाल्छन् । उनीहरूको भागमा पर्छ केवल कुण्ठा र तिरस्कार ! जीवन एउटा चौतारी न होे । बटुवाले शान्तसँग बसिदिए शीतलता प्रदान गर्ने मन्दिर । नत्र त कारागार । सिसाको महल ।
यतिकैमा एयरपोट मोेडमा मान्छेका हुल जम्मा भए । कोही मुख बिगारिरहेका थिए । कोहीे मोबाइलले छोरी बिगार्ने भो भन्दै कराउँदै थिए ।
छेवैमा रगाताम्मे भएर एउटी किशोरी सडक किनारमा लडिरहेकी देखिन्थी । गुप्ताङ्गबाट रगतको भेल बगिरहेको देखिन्थ्यो । धेरैलाई फुर्सद थिएन त्यो किशोरीलाई उद्दार गर्ने । अधिकांश मानिस भिडियो बनाइरहेका देखिन्थे । केही यस्ता गतिछाडा आइमाईलाई यस्तै हुनुपर्छ भन्दै कराइरहेका थिए । कुन बेला त्यो किशोरीको प्राण पखेरु उडेर गइसक्यो भिडले पत्तै पाएन, भिड त गतिछाडा आइमाई … भन्दै कराइरहेकै थियो ।

