यसरी मैले उसको निम्ति भाडामा काम गर्ने निधो गरेँ । साउनको अति नरमाइलो एक दिन त्यस्तो निर्णय भयो । मेरो आत्मामा व्यभिचारको प्रेत मडारिन थाल्दा बाहिर बकैनाको रूखमाथि बसेका कौवाहरू ज्यादै रिस उठ्दो पारामा कराइरहेका थिए ।
उसलाई मैले पहिलो पटक देखेको तिथिमितिको राम्ररी सम्झना छैन । तर ठाउँचाहिँ स्पष्ट थाहा छ । ऊ राष्ट्रिय साहित्य परिषद्को भीमकाय भवनको पाँचौं तलाबाट तल झर्दै थिई । त्यही तलाको एउटा कुनामा साहित्य सचिवको कोठा थियो । म साहित्य सचिवको दलाली गर्न त्यहाँ गएको थिएँ । उसलाई देख्नासाथ उसको मादक अनुहार हेरेर मैले घुटुक्क थुक निलें तर उसले मलाई हेर्दैनहेरी आफ्नो थलथले शरीर हल्लाउँदै बेतोडसित भर्याङ्बाट खुरमुरिई ।
दोस्रो पटक मैले उसलाई साहित्य सचिवको कोठामा अत्यन्त नौलो भावभङ्गिमा र कार्यव्यापारमा लिप्त भएको बेलामा भेटें, एक्स-एक्स सिनेमाको दृश्यजस्तो । म साहित्य सचिवको ढोकालाई ह्वात्त खोलेर भित्र पस्दा उनीहरू प्रेमको माथिल्लो चरणमा तपस्यारत थिए । त्यही घटनापछि साहित्य सचिवसित मेरो दुस्मनी आरम्भ भयो । ऊ आफूलाई बचाउन मेरो चरित्रहत्या गर्ने अभियानमा सरिक हुन थाल्यो ।
त्यो दृश्य देखेर मेरो मनमा सात रेक्टरस्केलको भूकम्प पैदा भयो । म ठाडो पुच्छर लगाएर त्यहाँबाट कुदेँ । “यो साहित्य परिषद् कस्तो ठाउँ हो ? ककनी हो या नगरकोट ?” बेतोड भागेर म परिषद्को कारिन्दाको कोठामा गएर बरबराउन थालें ।
“यो ठाउँ फेरि उस्तै भयो । राणाशासन या पञ्चायतमा जस्तो थियो ।” कारिन्दाले स्पष्टीकरण दियो ।
कारिन्दा मेरै जातको मानिस थियो । कवि वा कथाकार जातको । सामान्य रूपले ऊ सरल र भलादमी छ । तर अरूका कुरा काट्नु उसको दिनचर्या पनि हो । कार्यालयमा काम नभएकोले ऊ कुरा काट्छ । यदि त्यहाँ मनग्य काम हुँदो हो त ऊ मेहनती र सक्षम कारिन्दा हुन्थ्यो ।
मेरो निधारमा चिटचिट पसिना बगिरहेको थियो । मैले कारिन्दा साहित्यकारलाई आफ्नो आँखाले देखेका सबै कुरा भनें । उसले छोटकरीमा भन्यो- “हाम्रो संसार यस्तै हो । ईश्वरको लीला अपरम्पार छ ।”
कवयित्रीसित रमाइलो मेलामा अर्को भेट भयो । म त्यहाँ एक बोतल सानमिगेल चुस्दै शाहजादा रबाफमा बन्दुकले निसाना ढाल्ने जुवामा भिडिरहेको थिएँ । मलाई निकै धेरै पैसाको आवश्यकता थियो । तर म लगातार हारिरहेको थिएँ । साला, कन्जुस पैसा मेरो खल्तीमा आउन मानिरहेको थिएन । त्यसै बखत ऊ एउटा छयाके, कालो, धम्मरधुस मानिसको हात समातेर मनेर आइपुगी । मैले उसको र मेरो निकटताको दूरीको फाइदा उठाउँदै भनें, “नमस्कार है कवयित्रीज्यू । म कवि सनतकुमार ।”
“ओहो, कविज्यू नमस्कार । सन्चै हुनुहुन्छ, होइन ?” एकदमै परिचितझैँ उसले जवाफ दिई ।
“सन्चै छु । अनि तपाईं पनि सन्चै ?”
“यस्तै रुघासुघा लाग्या छ । अरू त क्यै छैन ।”
“कविलेखक भएपछि क्यै न क्यै त हुनुपर्यो नि । नत्र भावना फुर्छ कसरी ?” मैले भनें ।
त्यसपछि ऊ ठूलोठूलो स्वरमा हाँस्न थाली । त्यो अवधिमा उसले आफूसित आएको कुरूप मानिससित परिचय गराउने हेतुले भनी, “उहाँ मेरो श्रीमान् । गलैंचा एक्सपोर्ट युनियनको अध्यक्ष हुनुहुन्छ । बिजनेसम्यान । यति बिजी हुनुहुन्छ कि छोप्नै गाह्रो । आज फेला पारेर जबरजस्ती घिच्च्याएर यता ल्याएकी । आखिर बिजनेस मात्र सबै थोक त होइन नि । फेमिली लाइफमा भावनाको पनि त कदर हुनुपर्छ । कसो हो, भन्नोस् त कविजी ?”
राष्ट्रिय साहित्य परिषद्मा म बरोबर गइरहन्थें । त्यसपछि लगातार ऊसित त्यहाँ भेट हुन थाल्यो ।
“कविता दिन आएकी ।” कहिले भन्थी ।
“कथा दिन आएकी ।” फेरि कहिले भन्थी ।
तर मेरो कारिन्दा साथी भन्थ्यो, “यसले के खाएर कविता लेखोस् ? सपै भाडामा लेखाउँछे । अचेल त्यो सबै लेख्छ साहित्य सचिवले । भैगो तिमी लट्ठकसित यस्तो कुरा नगरौं । फेरि यो कुरा साहित्य सचिवले थाहा पायो भने मेरो यै अस्थायी जागिर पनि चेट्…।”
मेरो र उसको बीचको करार त्यस दिनदेखि शुरु भयो जुन दिन ऊ फेरि परिषद्को दोस्रो तलाको मटानबाट आउँदै थिई । टाढैबाट मैले उसलाई चिनें । साहित्य सचिवसित प्रणयबद्ध भएर फर्केकी होली । मेरो मनले भन्यो । नजिकै आइपुगेपछि मैले उसको गर्धनमा साहित्य सचिवको अँगालो अझै छ कि भनेर कल्पना गरेँ । भगवान् कसम, म यस्तो मामिलामा बढी शंकालु छु । यो अरूको निजी जीवन हो भनेर मैले कहिल्यै चित्त बुझाउन सकिनँ । त्यसैले म उसका ओठमा साहित्य सचिवका ओठहरू खोज्न थालें । कतै सचिवका ओठका छापहरू त्यहाँ झल्किन्छन् कि ?
“ए कवि, कति क्वारक्वारती आँखा गाडेर हेरेको ?” अगाडि आएर उसले भनी ।
“म एकदमै सख्त बेरोजगार छु ।” लापर्वाहीपूर्वक मैले जवाफ दिएँ । “तपाईं बेरोजगार हुँदा हामी साथी भएर बाँचेको के सार ? आज मेरो घरमा हिँड्नोस् । म तपाईंलाई काम दिन्छु ।”
उसले मलाई के काम दिन्छे भन्ने कुरा मलाई पहिल्यै थाहा थियो । मेरो साथी कारिन्दा कविले उसले दिन सक्ने कामबारे थुप्रै सुनाइसकेको थियो मलाई । त्यसैले म कात्तिक महिनाको कुकुरजस्तै लुखुरलुखुर उसको पछिपछि हिँड्न थालें ।
कालीमाटीको छेउमा उसको विशाल घर थियो । घरको बाहिरी ढोकाबाट पस्नेबित्तिकै म भित्रभित्रै दब्न थालें । मलाई समयसमयमा यस्तै हुन्छ । अरूको सम्पन्नताको उचाइले मलाई थिच्छ र पूरै आकारहीन बनाउँछ । तर त्यस बेला मेरो अनुहारका झलकको पोल खुल्ला भनेर मैले उसको अनुहारतिर हेर्दैहेरिनँ ।
“अच्छा भन्नोस्, तपाईं मलाई के काम दिनुहुन्छ ?” उसको बैठकमा पसेपछि अबोध बालकले जस्तो सोधें उसलाई ।
“यस पटक म एउटा आत्मकथा लेखौं कि भन्ने चाहन्छु । तर हेर्नोस् न, मलाई ह्रस्वदीर्घ नै आउँदैन । मलाई थाहा छ, तपाईंको लेखाइ निकै राम्रो छ । म सबै वृत्तान्त मुखले भन्छु र तपाईंले त्यसैको आधारमा लेख्नुपर्यो । म मेरो कथा लेखेर कमलादास वा अमृता प्रितमहरूलाई उछिन्न चाहन्छु । तहल्का मच्चियोस् न एक पटक । अनि त्यो किताबको भूमिका पनि तपाईंले नै लेख्नुपर्छ ।”
“अनि त्यस्तो किताबको भूमिका त सीता पाण्डे वा वानीरा गिरिहरूजस्ता प्रतिष्ठितहरूबाट लेखाए हुन्न र ?”
“होइन, म आइमाईहरूसित सङ्गतै गर्न चाहन्नँ । यो सार्वजनिक रूपले भन्नु हुन्न, तर आइमाईहरू नै आइमाईका शत्रु हुन्छन् । एउटी आइमाई अर्की आइमाईको प्रगति भएको देख्नै सक्दिन ।”
“अनि तपाईंको यो आत्मकथामा के हुन्छ ?” मैले सोधेँ ।
“उही, मैले केटाहरूलाई मूर्ख बनाएको घटना । हेर्नोस्, यहाँका अधिकांश केटाहरू यौनको मामिलामा ज्यादै नै कमजोर हुन्छन् । उनीहरू यति कमजोर हुन्छन् कि आइमाईले भनेपछि देश बेच्न पनि तयार हुन्छन् । यो मेरो आत्मकथामा त्यस्तै एक दर्जनजति केटाहरूलाई घाँस हालेर उल्लु बनाएको कुरा राख्नुपर्छ ।”
“तपाईंको यो आत्मकथामा राष्ट्रिय साहित्य परिषद्को सचिव पनि छ ?” – मेरो प्रश्न थियो ।
“अहिले छैन, त्यो जब पदबाट खुस्किन्छ त्यसपछि निस्कने संस्करणमा त्यो पात्र पनि थपिन सक्छ । अहिले त त्यसलाई उडाउनु हुँदैन । परिषद्को पत्रिकामा कथा-कविता छपाउन ऊ भएर नै धेरै सजिलो छ मलाई ।”
” अनि तपाईंले यो काम साहित्य सचिवबाटै किन गराउनुभएन ?”
“अचेल ऊ मेरो काम गर्दैन । ऊ अर्कै टिनएजर लडकीका लागि कविता लेख्छ ।”
“त्यसो भए ऊ पनि तपाईंजस्तै अर्कीलाई घाँस हाल्न थाल्यो होइन त ?” मैले अट्टहास गर्दै भनें ।
त्यसपछि कवयित्रीको अनुहार गोल पिँधेको जस्तो कालो भयो । तर मलाई त्यसबाट केही फरक पर्नेवाला थिएन । त्यसपछि मैले भनें- “ठीक छ, यसमा तपाईंले कुनै चिन्ता गर्नु पर्दैन । म तपाईंको नाममा यस्तो किताब लेख्छु – त्यो तहमीना दुर्रानीको ‘माइ फ्युडल लर्ड’ वा रूसोको ‘कन्फेसन्स’ भन्दा पनि बढी चर्चित हुनेछ ।”
त्यसपछि ऊ एकदमै खुसी भई र ममाथि अँगालोले झम्टिन थाली । उता बाहिर बकैनाको रूखमाथि बसेका कौवाहरू भने ज्यादै रिस उठ्दो पारामा कराइरहेका थिए ।

