असार पन्ध्रको दिन थियो । म पाँच वर्षपछि मलेसियाबाट घर फर्किँदै थिएँ । वर्खा लाग्ने समय भए पनि मेरो गाउँको खेत धुलाम्य देखिन्थ्यो । रौन्याँ झार मरेर पुनर्जन्म लिएको जस्तो देखिन्थ्यो । बोरिङको पहुँच हुनेहरू खेतमै देखिन्थे । म हिँडिरहेको आलिको छेउको खेतमा पिक्र्यान घरका निमेष, उसकी आमा र बहिनी धान रोप्दै थिए । मलाई देखेर हुनुपर्छ, धान रोप्न छाडेर म भएतर्फ हेर्न थाले । “बिहान बिहान घरिहान भाले किन जुधिरहेछन् भनेको लाहुरे आउन रै’छ ।” निमेषले भन्यो ।
“हो र ? कामको यस्तो चापाचाप भएको बेला समेत हाम्रै भाले के गरिराछन् ? सबै थाहा पाउँछौ । तिमिलाई मान्नै पर्छ है निमेश भैया ।”
“दही चिउरा खाने दिन पारेर आउनु भा,’छ बाबु । आउनुस्, दही चिउरा खान ।” काकीले आग्रह गर्नुभयो । उहाँको आग्रहलाई अस्विकार गर्न सकिनँ । पाँच वर्ष पहिले जस्तो खेत सज्ना गाइरहेको थिएन । मार खाँदै धान रोप्ने थारुहरू दही चिउरा खाइरहेका देखिन्थे । कति छिटो फेरिएछ गाउँ । कति छिटो फेरिएछन् गाउँलेहरू । यति छिटो शायद दिनरात फेरिँदैन ।
मोह्रा उँइरामा पुजापाठ गरेको छैन । सुट नमाएको, कज्रा सेन्डुरा रोन्हिँको पातमा राखेर टिकेको छैन । मोह्रा पुजा गर्न छाडिसकेको जस्तो भान भयो । घर पुगेँ । बाबा, आँगनमा खटौलिमा बस्नु भएको थियो । छट्ट्रि बिन्नका लागि काम सिँट्दै हुनुहुन्थ्यो ।
“बुबा, ढोग गरेँ ।”
ढोग गरेँ भनेपछि बुबा अरुबेला भाग्यमानी भन्नुहुन्थ्यो । त्यतिबेला हात मात्रै दिनुभयो । बुबा केही बोल्नुभएन । बरु बसेको खटैलिबाट उठ्नुभयो । त्यसपछि खेततिर लाग्नुभयो । मलाई बैराग लाग्यो । पाँच वर्ष परदेश बसेर आएको छोरासँग किन बोल्नु भएन होला, बुबा ? के उहाँलाई साँच्चै आफ्नो छोरासँग बोल्न मन नभएर होला ? किन उठेर जानुभयो होला ? के आफ्नो छोरासँग बस्न मन नभएर होला ? मनले मनमाथि प्रश्नको वर्षात् गरायो । मेरो टाउको भाउन्न भएर आयो । आँखा पिलपिल भए । छाती दुखेजस्तो भयो ।
म घरभित्र छिरेँ । आमा बह्रिमा बसेर चामल केलाउँदै हुनुहुन्थ्यो । आमालाई खुट्टामा ढोग गरेँ ।
“के हो बुडि.. ? के हो बुडि…. ?” “को हो हजुरआमा……? को हो हजुरआमा………?” भन्दै छोरी कोन्टिबाट बह्रिमा आई । “ट्वा बाबा आरहल रि बुडि ।” “तिम्रो बाबा, नातिनी ।” “टुहाँ छावा फुरसे आ रल का माउँ ?” “हजुरको छोरा साँच्चै आउनु भएछ र, आमा ?” भन्दै श्रीमती बह्रिमा आइन् । छोरी र श्रीमती मलाई देखेर दङ्ग परे ।
“भिसा थपे भन्नुहुन्थ्यो । थाहा नदिई आउनलाई पो रै’छ । आउने बेला एकचोटि भन्नु पर्दैन है हजुरलाई ?” “बाबा, मेरो लागि के ल्याई दिनुभयो ?” छोरी र श्रीमती मलाई पालैपिच्छे प्रश्न गरिरहेका थिए । आमा, श्रीमती, छोरी मसँग बोल्नका लागि लालायित हुँदै थिए । म भने बुबासँग बोल्न मन लागेर मरिसकेको थिएँ । झोला बुढीलाई राख्न दिएँ । आफूलाई रोक्न सकिनँ । म बुबालाई खोज्दै हिँडे । हाम्रो बेह्रा उँइरा नजिकै बुबा उभिनु भएको थियो । बाहिर खै के हेर्दै हुनुहुन्थ्यो । बुबा खै किन हो ? रुँदै हुनुहुन्थ्यो ।
“के भयो बाबा ? किन रुनु भएको ?” बुबा झन् जोडले रुन थाल्नुभयो । जति सोध्दा पनि केही बोल्नुभएन । मलाई केवल बुबाको आवाज सुन्न मन लाग्यो ।
“बाबा के भयो भन्नुहोस् न ! कि अझै आफ्नो छोरासँग रिसाउनु भा’छ ?” बुबाका आँखा झनै रसाए । मेरो मनमा छुरी रोपेजस्तो भयो । मेरो मन छटपटायो । न बुबा आफैँले केही बोल्नुभयो, न मैले सोधेको प्रश्नको जवाफ दिनुभयो । म र बुबा खेतको आलिमा उभिएका थियौँ । निमेष त्यही आली हुँदै घर जाँदै थियो । निमेषले बुबासँग हातको ईशाराले बोल्यो । बुबा हातकै ईशाराले जवाफ फर्काउनुभयो । म आश्चर्यमा परेँ । निमेष, बुबासँग किन हातको ईशाराले बोल्यो होला ? म घर फर्किएँ । मेरो मनमा भने उही प्रश्न रहिरह्यो ।
बुबा पक्कै मसँग रिसाउनु भा’छ । नभए बोलाउँदा किन बोल्नु हुन्थेन ? पुरानो कुराले मनमा भुइँचालो ल्यायो ।
“सोनियाँ कि आमा, बुबालाई के भयो ? किन हो ? मसँग बोल्नु हुन्न । मसँगको रिस अझै मरेन कि के हो ?” श्रीमतीसँग सोध्नु बाहेक मसँग अरु केही विकल्प बाँकी थिएन । मेरो प्रश्नको जवाफै दिइनन् उनले । केही बेरसम्म नसुनेझैँ गरिन् । आँखाबाट बरर आँसु झारिन् । मेरो मनमा शंकाको डढेलो सल्किसकेको थियो ।
“बुबा.. बुबा…. । हजुरबुबाले कहिल्यै बोल्न सक्नुहुन्न अब । त्यसै भन्नुभाछ, डाक्टर साबले ।” छोरी सोनियाको मुखबाट यस्तो सुन्दा छाङ्गाबाट खसेजस्तो भयो । तैपनि गर्न के पो सक्थेँ र ? मलाई ती कुराहरू झुटा जस्तै लाग्यो । तैपनि विश्वास नगरेर नहुने । सत्यलाई अस्विकार गर्न नसकिने । म रोइरहेको थिइनँ तर पनि मेरा नयन वर्षाको मुल बनेर रसाइरहेका थिए ।
म बिस्तारै आफ्नो विगततिर फर्किएँ । पाँच साल अघिकै असारमा पुगेँ । पन्ध्र असार, जताततै खेत धुलाम्य थियो । जोतिसकेको खेतमा पलाएको घाँस सुक्दै गएको थियो । वर्खा लाग्ने छाँटकाट थिएन । गाउँमा नहर थिएन । वरइ खोलामा बाँध बाँधेर पानी ल्याउँथे । अरु समयमा खोलामा पानी कम हुन्थ्यो । बाढी आएपछि बाँध बगाएर लान्थ्यो । किसानलाई जहिल्यै खेतमा लाउने पानीको अभाव हुन्थ्यो । गाउँलेहरू बोरिङको पानीले बिउ राख्न थालेका थिए । हामीले पनि हप्ता दिन पहिले बिउ राखिसकेका थियौँ । हाम्रो उम्रिसकेको बिउ बिस्तारै पहेँलिँदै गएको थियो । एकदिन बुबाले मलाई बोलाएर भन्नुभयो ।
“छोरा, साँझपख बिउमा पानी लगाएस् । गह्राको बिउ पहेलिँदै गएको छ ।” त्यही साँझदेखि, दिन बिराएर पानी लाउन थाले । साँझ पानी पाएपछि हरियो देखिन्थ्यो, साँझ फेरी उस्तै ।
“बरसेउ र बरसेउ र पनियाँ रे …..
पुटा मोर ल्यावा करहिँ ।
बरसेउ र बरसेउ र पनियाँ रे…..सौना लाग लगहिँ ।
बरसेउ र बरसेउ र पनियाँ रे …..पटोइह्या मोर धान लगिहिँ ।”
(सज्ना गित गाउँदै)
बुबा घाँटीको नशा फुलाउँदै सज्ना गाउनु हुन्थ्यो । मलाई भने सज्ना सुनेर दिक्क लाग्थ्यो ।
“काम पाउनु हुन्न । जहिल्यै एउटै गीत गाउनु हुन्छ ।”
“तँलाई थाहा छैन छोरा । सज्ना गाए पछि पानी पर्छ ।”
“काला अक्षर भैँसी बराबर भनेको यही हो । गीत गाएर कही पानी पर्छ ? त्यसो भए जेठबाटै सज्ना गाउनु हुन्छ । जेठमा बर्खा लाग्नुपर्ने ।”
“सबैको आ–आफ्नो समय हुन्छ छोरा । पानी, बाफ बनेर दिनहुँ आकाशमा पुगिरहेको हुन्छ । तत्काल पानी परिहाल्दैन । पानी पर्नलाई वर्खा नै लाग्नुपर्छ । सज्ना भनेको पानीको बाफ जस्तै हो । जेठमा गायो । असारमा गायो । त्यसपछि पानी पर्छ । वर्खा लाग्छ । तँ पहिले सानो थिइस् । बिस्तारै बोल्न, हिँड्न सक्ने भइस् । यहाँ एकैचोटी केही हुँदैन छोरा । बिस्तारै हुन्छ सबै । बस हामीले धैर्य गर्न सक्नुपर्छ ।”
“यस्तो गवाँर बाउसँग के कुरा गर्नु ? साँझपख दाह्री, कपाल काट्नु हुन्न । थालमा भात पस्किनुभन्दा पहिले चुलोमा चढाउनुपर्छ । काँक्रा चोरेर खाएपछि मुख बाङ्गो हुन्छ । हार्या गुँरै गर्नु भन्दा पहिले मादल बजाउनु हुँदैन । यस्तै यस्तै भनेर जहिल्यै वाइयात कुरा मात्रै सिकाउनुहुन्छ । एक कलास पढेको भए पो जान्नु ? के गरेपछि के हुन्छ भनेर ।”
सज्ना गाएकै कारण बुबासँग मुखमुखै लागेँ । जे मुखमा आयो, त्यही बोलेँ ।
केही समयपछि, वैदेशिक रोजगारका लागि मलेसिया उडेँ । संस्कृति, चालचलन, धर्म भनेको के हो ? मानिस कसको कारण मानिस भएको छ ? गीत सङ्गीत भनेको के हो ? कुनै पनि मानिसको पहिचान के ले झल्काउँछ ? परदेशले मलाई धेरै कुरा सिकायो ।
बुबाप्रति मैले गरेको व्यवहार सम्झेर लज्जाबोध भयो । मलाई बिस्तारै बुबा प्रतिको आदर भाव बढ्दै गयो । उहाँ प्रतिको प्रेम जाग्दै गयो । मलाई बुबासँग बोल्न मन लाग्न थाल्यो । मलाई बुबाको आवाजमा सज्ना सुन्न मन लाग्यो ।
म बुढीको मोबाइलमा भिडियो कल गर्थेँ । आमासँग कुरा हुन्थ्यो । श्रीमतीसँग कुरा हुन्थ्यो । छोरीसँग कुरा हुन्थ्यो । जब बुबासँग कुरा गर्न खोज्थेँ, आमाले केही न केही बहाना बनाइ हाल्नुहुन्थ्यो ।
“बाबा घर निहुइट । उहँर गोरु चर्हाए गिल बाट ।”
“तेरो बुबा घर हुनुहुन्न । गोठाला जानु भा’छ ।”
“ट्वा बाबा टम्नहँ ट अठ्ठहँ रलह, खै काहाँ गिल ?”
“तेरो बाबा अघिसम्म यही हुनुहुन्थ्यो । खै कहाँ जानु भयो ।”
बुबा मेरै छेउमा उभिनु भएको थियो । बुबा पाँच साल अघिकै स्वरुपमा हुनुहुन्थ्यो तर उहाँसँग सज्ना थिएन । उहाँसँग उच्चारण गर्ने शब्द नै थिएन ।
म, आफू सुत्ने कोठामा गएँ । सज्ना गितको पुस्तक टेबुलमा देखेँ । पुस्तक समाएँ । पाना पल्टाएँ । पहिलो पानामै सज्ना गीत थियो, जुन मेरो बुबाले गाउनुहुन्थ्यो । मेरो बुबाको आवाज सुमधुर लाग्ने सज्ना पुस्तकका पानामा निरर्थक लाग्दै थियो ।
===
बट्या – पर्खाइ

