साहित्यपोस्ट डट कम

कथा: बसवाली केटी

कथा: बसवाली केटी

सोच्दै थिएँ, शायद अब कहिल्यै भेट नहुने मान्छे किन मलाई पढाउँदै छे जीवनका पाना पाना ? एउटा अनजान मानिसलाई किन कण्ठस्थ गराउँदै छे उसको जीवन ?

===

मलाई चितवन जानु थियो । झापाको बिर्तामोडबाट बस चढ्न लागेको थिएँ । मलाई के थाहा आजको यात्रा विशेष हुनेवाला छ भनेर ।

साँझ पाँच बजेतिर पश्चिम स्टेण्ड पुगेँ । मैले गाडीको स्टाफलाई सिट सोधेँ । मलाई उसले प्रभाको छेवैमा लगेर राखिदियो । उनको नाम प्रभाचाहिँ होइन । मैले नै उसको नाम प्रभा राखेको किनभने न मैले उनको नाम सोधेँ, न उनले मेरो । शुरू भयो हाम्रो अलि फरक यात्रा । त्यसैको एउटा पात्र म र अर्को प्रभा ।

उमेरले त्यही ३०–३२ वर्षकी युवती । आकर्षक र मिजासिलो स्वभाव । साधारण र जटिल दुवै विशेषता बोकेकी । झट्ट हेर्दा साधारण देखिए पनि असाधारण । साहित्यमा रुचि तर शृङ्गार अथवा प्रेम मात्रलाई साहित्य नमान्ने ।

मैले सोधेँ, तपाइलाई मन परेको पुस्तक कुन हो ? केही क्षणको मौनता पछि पुलुक्क मलाई हेर्दै भनिन्, ‘चिना हराएको मान्छे ।’ मैले सोधेको प्रश्न टारिदिएको प्रष्टै थाहा थियो । कारण जे पनि हुन सक्छ । शायद त्यस समय उनको दिमागमा समाज जोडिएको कुनै पुस्तकको नाम भेटिएन होला । अथवा उनलाई प्रश्न सोध्ने मानिस कच्चा लागेको पनि हुन सक्छ । मलाईचाहिँ चिना हराएको मानिस निकै मनपर्छ । यसै पनि हरिवंश आचार्यको फ्यान नै हुँ । उनको कुरा गलत लाग्नुको अर्थ चाहिँ पछि बुझ्नुहुनेछ ।

हाम्रो भेट सामान्य थियो । आक्कल–झुक्कल हुने भेट मध्ये एउटा । म पूर्वको उनी मध्यपश्चिमकी । हाम्रो मेल खाने कुनै कुरा नै थिएन । जन्मेको ठाउँ, संस्कार वा पेसा व्यवसाय नै पनि । निकै बेर उनले उनका साथी संगतिलाई फोन गरेर उनको ‘ब्याकग्राउड’ जानकारी गराइन् । मैले थुप्रै यात्रामा महिलाले आफू सुरक्षित हुन यही ‘फर्मुला’ प्रयोग गरेको देखेको थिएँ । मैले उनलाई सामान्य युवतीको ‘क्याटागोरी’मा राखेँ ।

गाडी दमक कटेपछि उनैले शुरू गरिन् करेन्ट ‘अफेयर्स’बाट गफ । मलाई लाग्यो यिनको अक्कल सामान्य छँदै छैन । मानिससँग गफ गर्नु छ, भन्ने कुरा पनि छैन भने म ठ्याक्कै त्यही टुल प्रयोग गर्थेँ । आज पहिलो पटक म मेरैजस्तो क्षमताकी युवतीसँग यात्रामा थिएँ । हामी मजैले गफिन थाल्यौँ । हामी यसरी गफिँदै यात्रा गर्यौं, धेरै यात्रुले हामीलाई प्रेमी–प्रेमिका सम्झिएको हुनुपर्छ ।

हामीभन्दा ठीक पारिपट्टिको सिटमा एक जोडी थियो । वृद्ध पुरुष अनि युवती भर्खरकी । उनीहरूको व्यवहार भर्खर विवाह गरेका श्रीमान–श्रीमती जस्तो थियो । त्यो जोडीले धेरै पटक हामीलाई ‘नोटिस’ गरेको मैले देखेँ । र, शुरू गरेँ मेरो पुरानै टुल प्रयोग गरेर संवाद ।

“काका, हजुरको घर कता नि ?”

“मेरो झापा बाबु ।”

“झापा कुन ठाउँ हो र ?”

“शुरूङ्गा ।”

“अनि कहाँसम्म हो त काका ?”

“हामी हिँड्नचाहिँ क्यान्सर अस्पतालसम्म हिँडेका । तर आज हेटौँडामा उत्रिन्छौँ । भोली मात्रै पुग्छौँ अस्पताल ।”

मैले सोधेँ, “तपाईंहरूको अनुहार हेर्दा त कोही बिरामी जस्तो लाग्दैन नि ।”

काकाले भने, “यिनी मेरी श्रीमती हुन् । क्यान्सरले थलिएको १ वर्ष नाघ्यो । हेर्दा सन्चै देखिन्छे, तर बिचरी रोगी छे । अस्ति भर्खर किमो चढाएर फर्किएका थियौँ । अहिले ‘फलोअप’मा आएका हौँ ।”

“तर, तपाईंहरू खास भाग्यमानी हुनुहुँदो रहेछ । अनुहार हेर्दा पुरै सन्चो भएको जस्तो देखिन्छ । अब त जिती हाल्नुभएछ नि क्यान्सर”, मैले भने ।

“खै के हो के हो ? बरु बाबुको चाहिँ घर कता ?”

म काकावाला बटन थिचेर नजिक भएँ । धेरै कुरा सुनाए काकाले । केही क्षणपछि काकीलाई पनि चुप बस्न मनले दिएन । आँशु छचल्काउँदै सुनाइन् उनको राम कहानी ।

प्रभा अझ ध्यानले उनीहरूको कथा सुनिरहेकी थिई । मानौँ प्रभाकै कोही आफन्त भए जसरी ।

“शुरूमा अलि–अलि ढाड दुख्थ्यो । बेवास्ता गर्दागर्दै साह्रो भएँ । नेपालका थुप्रै अस्पताल धायौँ, कसैले पत्तो लगाउन सकेन । हामी भारतका पनि थुप्रै अस्पताल गयौँ । सिलगुडीको एउटा अस्पतालले एक वर्ष अघि क्यान्सर भएको सुनायो । म त छाँगाबाट खसेँ । क्यान्सर भएको सुनेपछि हामीलाई चिन्ने सबैको सातो गयो । अनि आएका हौँ, क्यान्सर अस्पताल । अझै, उहाँ त कामले हिँडिहाल्नु भयो, अप्रेसनको दिन म एक्लै थिएँ । रातभर बेडमा रोएर बसिरहेँ ।”

“अनि काका अप्रेसनमा पनि साथ नदिएको त ?”, मैले हत्तपत्त सोधिहालेँ ।

“बाध्यता बाबु, नभए को जान्छ स्वास्नीलाई एक्लै बेडमा मर्न छाडेर ।” उहाँको आवाजमा पीडा थियो ।

एकैछिन सबैजना मौन भयौँ । शायद क्यान्सर भन्दा ठूलो कुनै बाध्यता थियो । खुलेर सबै कुरा सुनाएको यो जोडीले बाध्यता भने लुकायो । बरु काकाका आँखा रसिला थिए । मैले धेरै जोर गरिनँ । उनीहरूको कथामा बिराम मात्रै थिएन, दुःख र पीडा पनि थिए । बिरामी स्वास्नी उपचारका लागि लैजाँदा लैजाँदै थाकेका काका काकीका कथाले जो कोहीलाई रुवाउन सक्छ । शायद म पनि रोएँ र प्रभा पनि । तर, उहाँहरूको कथामा आँशु मात्रै छैन, क्यान्सर जित्न सक्ने ऊर्जा पनि छ । धेरैलाई मोटिभेट गर्ने क्षमता छ ।

प्रभा एकतमास मेरो अनुहार हेरिरहेकी थिई, त्यो जोडीको कथा नछुटाई । बेला बेला कुन डाक्टरलाई चेक गराएको, के को क्यान्सर, कति पटक किमो चढाएको, कुन स्टेजको क्यान्सर सोधिन्थी । अनि हाँस्न खोज्दै मलाई हेर्थी । आँखा रसिला थिए प्रभाका । शायद अपेक्षा थिएन होला त्यो जोडीलाई मैले त्यसरी खुलाउँछु र गफिन्छु भन्ने । के हेरेको त्यसरी ? मैले सोधेँ । प्रभाले टाउको हल्लाएर केही होइन भन्ने सङ्केत गरिन् । अनि मुखले चाहिँ उनको पनि बेला बेला ढाड दुखिरहने सुनाई ।

बेलाबेला मौन, बेलाबेला गफ । हामी निरन्तर यात्रामा थियौँ ।

प्रभाले आधा इतिहास साथीसँग गफ गरेर सुनाइसकेकी थिई । म विवाहित हुँ, विवाहितसँग जिस्कन हुँदैन । म घर हिँडेकी लगायत । बाँकी आधा आफैँ भनी –

“मेरा दादाहरू घरमा एकदम कडा हुनुहुन्छ । छोरी मान्छेलाई घरमा बाँधेर राख्नुपर्छ भन्ने पुरानो खयालतको । दिदी त अहिले पनि दादाहरूसँग डराउँछे । मैले सानै उमेरमा घर छेवैको केटासँग भागेर बिहे गरेकी हुँ । मेरो लोग्ने अहिले विदेशमा छ । सोझो छ बिचरा । दाइहरू जस्तो मलाई बाँधेर राख्दैन । बरु कहिलेकाहीँ त म नै बढी हुन्छु क्यारे । सबै माइतकाले ज्वाइँलाई हेप्लिस्, सताउलिस् भनिरहन्छन् ।”

प्रभा बेपर्वाह आफूलाई खोल्दै थिई । मलाई भने अनौठो लागिरहेको थियो । सोच्दै थिएँ, शायद अब कहिल्यै भेट नहुने मान्छे किन मलाई पढाउँदै छे जीवनका पाना पाना ? एउटा अनजान मानिसलाई किन कण्ठस्थ गराउँदै छे उसको जीवन ? क्रमशः किन तानिहरेकी छे आफूतिर ? तर पनि म भने मौन थिएँ । मैले उसलाई मेराबारे कति पनि भनेको थिइनँ । एक पटक उसैले निकै जिद्दी गरी । तपाईं को ? पेशा के ? यात्रा कहाँ सम्मको ? मैले उही कुरा सुनाएँ, म भुइँ मान्छे । भुइँ मान्छेको जाने ठाउँ कहीँ पनि हुँदैन । पेशा केही पनि हुँदैन । जहाँ गयो त्यही घर ।

ल्यापटप बोकेर हिँड्नुभाछ । हामी पनि प्रोजेक्टमा काम गर्दा ल्यापटप बोकेरै हिँड्थ्यौँ । भन्नु न ? कुनै प्रोजेक्टमा हो ?

हैन । मैले फेरी टार्ने कोशिश गरेँ । “यसै देवघाट घुम्न हिँडेको ।”

उसले भनी, यसै कोही यसरी हिँड्दैन । म अलिअलि त मान्छे चिन्छु नि । अलिकति त देखेँ पनि । अब त साँचो भन्नुस् । मैले म सामान्य ग्राफिक्स मजदुर भएको सुनाए । रङसँग खेल्ने सौखबारे बताएँ । बस त्यत्ति !

प्रभाले फेरि खोली जिन्दगीको पुस्तक । हाम्रो बाटो छोटिँदै थियो । शायद प्रभाको जीवनका केही पाना बाँकी नै थिए ।

“हाम्रो परिवार होटेल व्यवसायसँग जोडिएको छ । दिदीको पनि होटेल नै छ । म दिदीकै घरमा पुगेर फर्केकी । बाबु पनि दिदीकैमा बसेर पढ्छ । अर्काे साल उसलाई यतै ल्याउँछु ।” प्रभा भन्दै थिई, “मैले लामो समय नेपालका विभिन्न प्रोजेक्टमा काम गरेँ । गाउँ–गाउँ पुगेँ । मलाई समाजमै हुन रहर लाग्छ । बिचमा लोग्नेले अलि बढी नै कर गर्यो । मलाई पनि भविष्य बन्ला भन्ने लाग्यो । त्यसैले विदेश पनि गएँ । तर, विदेशमा म रमाउन सकिनँ ।” प्रभालाई दुःख पाएका मानिसको सारथी हुन खुब मनपर्ने रहेछ । अनि कसरी सक्थी त विदेशमा आफैँ दुःख सहेर बस्न । यहाँ प्रभा थिई उहाँ प्रभा हुन सकिन । विदेशीले नेपालीलाई हेपेको उसलाई पटक्कै मन परेन । उसले राम्ररी बुझिछे, विदेशमा धेरै थोक छैन, मात्रै पैसा छ । पैसाका लागि प्रभाले उसका सपना र पखेटा विदेशमै फाल्न सकिनछे ।

अचानक प्रभाका बुबालाई क्यान्सर लागेछ । बाको अवस्था निकै गम्भीर भएपछि फर्किएकी रहिछे नेपाल । आँखा भरी आँशु पार्दै सुनाई, “मलाई घरमा माया गर्ने बा मात्रै हुनुहुन्थ्यो । बाले मलाई कहिल्यै केहीमा रोक्नुभएन । सधैँ अघि बढ्न प्रेरणा दिइरहनुभयो । सधैँ मन लागेको खानू, मन लागेको गर्नू र मन लागेको ठाउँमा जानू भन्नुहुन्थ्यो । बा हुँदा मलाई सब थोकमा ढुक्क लाग्थ्यो ।” अघि त्यो जोडीको कथामा प्रभालाई दुख्नुको कारण मैले बल्ल बुझेँ । जोडी आफ्नो दुःख सुनाउँदै थियो, प्रभा आफैँ दुखिरहेकी थिई ।

“तपाईंलाई थाहा छ, हामीलाई छाड्नुभन्दा केही दिन अघि बा सन्चो भएजस्तो हुनुभाथ्यो । उहाँ पुरै गलिसक्नुभएको थियो, तर हाम्रालागि केही नभए जस्तो गर्नुहुन्थ्यो । मैले मलाई सबैभन्दा धेरै माया गर्ने मान्छे गुमाए यार”, प्रभाले पीडा मिसिएको स्वरमा सुनाई ।

शायद प्रभाका भन्दा मेरा आँखा भरिएका थिए । यसै पनि कवि मन गरेको मान्छे, पग्लिहाल्छु सानै कुरामा । तर उसको कुरा त सानो थिएन । प्रभाले मोबाइलमा बाको फोटो निकाल्दै भनी, “यो मर्नुभन्दा केही दिन पहिलाको फोटो हो । ४५ दिन भयो बा खस्नुभएको ।” आँशुले भरिएका आँखाले धमिलो गरी प्रभाले देखाएको फोटो हेरेँ । हामी दुवै शान्त भयौँ । निकै बेर, आँखाले गफ गरिरह्यौँ । म पनि प्रभासँगै आँशु आँशु भएछु…अघि कतिखेर थाहा नै नपाई ।

प्रभा फेरी अघि बढी, “लोग्ने विदेशमा खुशी नै छ । उसलाई विदेशको बानी परिसक्यो । छ महिना जति बसेर म नेपाल फर्किएकी हुँ । अब त मरे पनि विदेश जान्न । मेरा दुईवटा सपना छन्, लोग्नेलाई नेपाल नै ल्याउने र फेरि पुरानै तरिकाको जीवन बिताउने ।” हुनैलाई चाहिँ उनमा कहीँ पुग्ने हतारो देखिँदैन । उनलाई १६ शृङ्गार गरेर दीपिका पादुकोण वा क्याट्रिना क्याफ पनि बन्नु छैन । उनले अनुहार, शृङ्गार क्षणिक भएको सत्य मज्जाले बुझेकी छिन् ।

“दुई दिनमै उडिजाने अनुहार के रंग्याउनु । मलाई त समाज सिँगार्ने रहर छ । जो सधैँ सुन्दर रहिराखोस्”, उनले भनिन् ।

समाजसँग लामै समय काम गरेर होला प्रभा मान्छे चिन्न पनि माहिर छे । हरेक मान्छेलाई सजिलै आँक्न सक्छे । धेरथोर साइकोलोजीको ज्ञान छ । आफूसँगै आएर बसेको मानिसको भावना अनुसार अथवा उसको चाहना अनुसारकै कुरा गरिदिन सक्छे । प्रभाले देखेका कुनै पनि महिला हिंसाका घटना बिर्सिएकी छैन । उसलाई घरेलु हिंसामा परेका महिलालाई सहयोग गर्न मनपर्छ, गरेकी पनि रहिछे । उसले बसमा केही प्रतिनिधि घटना सुनाई । र, हाम्रो समाज कस्तो छ भन्ने ऐना देखाई ।

एक पटक, ऊ बसेको घर नजिकैकी बुहारी घरेलु हिंसामा परेकी रहिछ । त्यो बुहारी यति डराउँथी रे, कोहीसँग बोल्ने आँट नै गर्दिनथी । प्रभाले उसलाई सहयोग गरिछे । प्रभा निरन्तर त्यो घरमा जाने बहाना खोजिरहन्थी । कहिले पानी माग्न । कहिले फूलको बिरुवा माग्न । कहिले के त कहिले के । ऊ त्यहाँ जाँदा जाँदा बुहारी उसको साथी जत्तिकै भइछे । र, एक दिन सब सुनाइछे ।

बुहारीलाई उनका श्रीमानले दैनिक जसो कुट्थे रे । कहीँ कसैलाई नभन्न दबाब दिन्थे रे । बिचरी जसलाई संसार ठानेर आएकी थिई उही राक्षस निस्कियो । खुब सहेकी रहिछे । अनि प्रभाले उसलाई बाहिर निकाल्न मद्दत गरिछ ।

प्रभाले अनुभव सुनाउँदा, मान्छेसँग सङ्गत कसरी गरी त्यो सुनाई । घटना कसरी भए त्यो पनि सुनाई । घर नै जेलजस्तो भएका पीडित महिलाको धेरथोर अवस्था सुनाई ।

म चुपचाप उसको अनुहार हेरेर कथा सुनिरहेँ । प्रेमी प्रेमिका जस्तो गर्दै यात्रा शुरू गरेका हामी इमोसनल भइसकेका थियौँ । हामीले देश, राजनीति, विदेश हुँदै समाज परिवर्तनको मुद्दासम्मको छलफल गर्यौं ।

जति जति ऊ दुःखी हुन्थी मलाई मेरी प्रेमिकाको याद आउँथ्यो । ठ्याक्कै यस्तै थियो उसको पनि स्वभाव । सक्दिनथी कसैले दु:ख पाएको देख्न ऊ पनि । यसै रोइदिन सक्थी अर्काको दुःखमा । एक दिन भनेकी थिई, “मिलन तपाईं यस्तो मान्छे हुनू जहाँ पुगेपछि सब थोक बदल्न सकियोस् ।” उसको मतलब थियो, हामी जहाँ थियौँ घरेलु हिंसामा परेका महिलालाई पूर्ण रूपमा सहयोग गर्न सक्दैन थियौँ । फेरि सहयोग पनि राजनैतिक हुन्थ्यो । एमालेका पीडितले न्याय पाउने काँग्रेसले नपाउने । काँग्रेसले पाउने अर्कोले नपाउने जसरी । अनि न्याय दिन खुलेका संघ संस्था पनि राजनैतिक भर्ती केन्द्र थिए ।

बिचरी ऊ केही गर्न सक्दिनथी अनि मलाई ठूलो मान्छे हुनु भन्थी । बस दुर्घटनामा परेर मेरी प्रेमिकाले छाडेर गई, आज बसमै ऊ जस्तै स्वभाव भएकी केटी मसँग मस्त गफिँदै थिई । प्रभा मेरी प्रेमिका त कहिल्यै पनि बन्न सक्दिन तर मेरै प्रेमिकाको सपना बोकेर हिँडेकी रहिछे । शुभकामना छ बसवाली केटी तिमीलाई ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.