साहित्यपोस्ट डट कम

कथा: बाँसुरीको धून

कथा: बाँसुरीको धून

रात निकै छिप्पिइसकेको थियो । साँझ अबेरसम्म आफ्ना आमा बासँग अनेकन् प्रश्न गरेर नथाक्ने पल्लो कोठे रोजी निदाइसकेकी थिइन् । करिब मध्यरातसम्म गितार झाँङ्गझाँङ्ग झुँङ्गझुँङ्ग पार्ने पल्ला घरे अपरिचित युवकको कोठामा बत्ती निभिसकेको थियो । टोलको चोकमा भेला भएर प्राण पखेरु उड्लाझैँ गरी भुक्ने कुकुरहरूको चालचुल थिएन । चारैतिर अन्धकारले ढाकिएको चकमन्नता व्याप्त थियो । निन्द्राको बाटो छेक्ने बाह्य शक्तिहरू सबै निस्तेज अवस्थामा भए तापनि आभाषलाई निन्द्रा आइहाल्ने छाँटकाँट थिएन । ओछ्यानमा पल्टेर छटपटाइरहेको ऊ आफैँभित्र चलिरहेको आन्तरिक कलहले प्रताडित थियो । ऊ एक पल खुसी हुन्थ्यो, फेरि अर्को पल दुःखी; पलभर उज्यालो हुन्थ्यो, फेरि अन्धकार । न उज्यालो भइरहन्थ्यो न अन्धकार रहिरहन्थ्यो | आभाषलाई उसको मस्तिष्कले मस्त पिङ खेलाइरहेको थियो । ऊ सकेसम्म खुसी, उज्यालो भएतिरै अडिरहन चाहन्थ्यो तर अँ.. हँ.. सक्थेन । बिचरो उसको केही सिप लाग्थेन । उसले आफ्नो मुटुको अन्धकार स्थानहरूमा निकै मेहनत गरेर बलियोसँग बाँधेर राखेका स्मृतिका यादका पोकाहरू आज फेरि एक एक गर्दै खुलिरहेका थिए | जसले गर्दा उसको दिमागी हालतको सन्तुलन पुरै खलबलाएको थियो । ऊ एक कुनामा फुकेको पोको बन्द गर्न थाल्थ्यो, अर्को कुनामा अर्को पोको खुलिहाल्थ्यो | यसरी खुलेका पोकाहरूबाट सिर्जित सम्झनाका झोक्काहरूले पिङलाई धक्का दिन थालिहाल्थे । धकेल्दै–धकेल्दै दुःख र अन्धकार भएतिर पुर्‍याएर छोडिदिन्थे । फेरि कहिले यता आनन्दको शिखरमा, त कहिले मच्चिँदै उता कोलाहलको शिखरमा । स्मृतिसँग सुमधुर प्रेम सम्बन्धमा हुँदाको अबोध प्रेमी, उसलाई के थाहा कि प्रेम छुटेपछि उसको दिमागले प्रेम सम्बन्धमा हुँदाका नमिठा अनुभवहरूको तीव्रतालाई दबाएर, मीठा अनुभूतिहरूलाई जतनसँग जोगाएर राख्छ । नमिठा अनुभवलाई जम्मा एउटा थुप्रो जस्तो मात्रै ठान्छ र मिठा अनुभूतिहरूको सगरमाथा टल्काइएझैँ राख्छ ।

“यो साला दिमाग, सम्बन्धमा रहुञ्जेल तितो मात्रै जोगाउने, सम्बन्ध टुटेपछि मीठो मात्रै जोगाउने ।” ऊ आफ्नै पिङमा मच्चिरहेको दिमागलाई गाली गरिरहेको थियो | स्मृति उसको जीवनमा आउँदा करिब करिब तहसनहस थिई | ऊ भित्रैबाट भत्किएकी थिई | उसको प्रेम सम्बन्ध टुटेर भौतारिएको बेलामा आभाषसँग भेटिएकी थिई | आभषले सोचेको थियो, “ धेरै समयदेखि एकतर्फी प्रेम गरेकी स्मृति टुटेरै भए पनि मेरो जीवनमा आएकी छे, उसलाई ठिक गर्ने सामर्थ्य मसँग छ | पूर्व प्रेम सम्बन्धले मुटुमा दिएका चोट निको पार्न आफ्नो प्रेमको शीतल मलम दिनेछु | उसका कोमल हृदयका पीडा एक पछि अर्को सापट लिँदै आफ्नो कठोर हृदयको कुनामा दफनाइ दिनेछु | ऊ प्रेमको खडेरीले मुर्झाएकी छे, उसको जीवनमा फेरि प्रेमको बर्सात ल्याउनेछु | केही समय उसको यो सोचले अद्भुत काम गर्‍यो | क्रमशः स्मृतिभित्र साहस भरिएको थियो | आभाषको साथ पाएर ऊ फेरि फक्रिएकी थिई | उसको जीवनमा सब कुरा ठिक हुँदै गएको थियो | उसलाई हेर्दा यस्तो लाग्थ्यो उसको जीवनमा आभाष आउनु अघि हस्पिटलको सघन उपचार केन्द्रमा भर्ती थिई | आभाषको प्रेमिल साथले बिस्तारै बिस्तारै निको हुँदै साधारण उपचार कक्षमा आइपुगी | बिस्तारै कसैको सहाराबिना आफैँ चल्न सक्ने भई |

अब सुस्तरी आभाषले आफ्ना कमजोरी, आफूभित्र निकै समयदेखि डेरा जमाएर बसेका पीडाका पोका स्मृतिका सामु फुकाउन थालेको थियो | आफ्नो मनको कुना कुना खोतलेर पोखिन थालेको थियो | केही समयसम्म स्मृतिले उसका सबै खाले कथा व्यथाहरूलाई आँसुमा आँसु र हाँसोमा हाँसो मिलाएर साथ दिई | स्मृतिको अन्धकारको यात्रामा दर्बिलो साथ दिँदा निकै दरिलो देखिएको ऊ बिस्तारै कमजोर देखिन थालेको थियो | केही समयसम्म उनीहरू प्रेम सम्बन्धको यही अवस्थामा रहेपछि एक दिन स्मृतिले उसलाई तिमी बदलियौ आभाष, तिमीलाई मेरो वास्ता नै छैन आजकल भनेकी थिई | के ? कसरी ? ऊ अवाक् भएको थियो | म आजकल अभिभूत महसुस गर्दै छु | जुन खुसीका झिल्का म शुरुका दिनहरूमा महसुस गर्थेँ, त्यो बिस्तारै कमजोर हुँदै गएको छ किन हो खै ?” यो प्रश्न सुनेर ऊ भित्र भित्रै जलेको थियो, “ला… म कमजोर छु देखिनु हुन्थेन, उसले कमजोरी भरिएको म खोजेकै होइन रहिछे |” भित्रको जलन रोकेर बाहिर फिस्स हाँस्दै “यो हामीबिचको सम्बन्धको एक मोड हो, यो पनि बितिजानेछ |” उसले भनेको थियो | यो जवाफ स्मृतिलाई पटक्कै चित्त बुझेको थिएन | “म यस्तो गम्भीर कुरा गरिरहेको छु, तिमी यस्तो कुरालाई पनि कसरी हाँसेर लिन सक्छौ ? के तिमी मलाई प्रेम त गर्छौ ? कि आफ्नो एक्लोपन दूर गर्नका लागि मात्रै प्रयोग गरेका हौ ?” स्मृति आगो भएकी थिई | “खास कुरा के भने नि तिमीलाई मेरो वास्ता नै छैन | नाउ अ डेज इट्स अल एबाउट यू | म तिमीसँग के देखेर प्रेम गर्न पुगेँ भनि सम्झेर उदेक लाग्छ आजकल |” त्यति भनेर ऊ चुप बसी | उसलाई हेर्दै, “तिम्रो कुरा सकिएको हो ?” आभाषले सानो स्वरमा सोध्यो | ऊ अर्कैतिर फर्की “थाहा छ मलाई कस्तो लाग्छ ? मान्छेलाई मुक्का हान्दा आइया गर्छ स्मृति ! मान्छे पन्चिङ ब्याग थोडी हो !”

“मतलब ?” आभाषतिर फर्कँदा स्मृतिका आँखामा आँसु थिए |

“मतलब, तिमीले मलाई एकपछि अर्को लाञ्छनाका मुक्का हानिरहेकी छौ | यो सिलसिला कहिलेदेखि शुरु भयो पनि मलाई थाहा छ |”

“कहिले देखि ?”

“जहिले देखि तिमीभित्र फेरि म फुल्न सक्छु भन्ने साहस आएको छ | तिमीभित्र साहस मरुन्जेल मसँग तिमीलाई विश्वास थियो | शुरुका दिनहरूमा तिमी अन्धकारमा थियौ, त्यो अन्धकारबाट बाहिर निकाल्न म टर्च लाइट बोकेर तिमीसँग साथै थिए, तिमीले देखेको स्पार्क त्यही हो | आजकल म आफू भित्रका अन्धकारतिर तिमीलाई डोर्याउँदै लिएर जाँदैछु तर तिमीसँग प्रकाश बन्ने आँट छैन | तिमीलाई आफू पनि त्यही अन्धकारमा फेरि हराउँछु कि भन्ने डर लागेको छ ।”

“के रे ? ओ माई गड तिमीले मलाई यस्तो भन्न मिल्छ ?” ऊ चिच्याई |

“उम्म देख्यौ तिमीले पनि आइया गर्‍यौ, तिमीलाई पनि दुख्यो | मान्छेहरू पन्चिङ ब्याग होइनन् स्मृति ! कसैलाई मुक्का हान्ने हो भने आफू खान पनि तयार रहनुपर्छ |”

त्यस दिन पछि उनीहरू फेरि एक भएनन्, एकअर्काबाट यति दूर भए कि पुरै ब्रह्माण्डले साजिस गर्दा पनि उनीहरू एक हुने सम्भावना रहेन |

तर आज आभाषको फेसबुकमा प्रकट भएका विवाहका तस्बिरहरूमा स्मृति बिछट्टै खुसी देखिन्थी । उसको हाँसोले भरिएका तस्बिरहरू देखेर “ऊ कति खुसी छे है !” भन्दै ऊ भित्रैदेखि खुसी हुन्थ्यो र मुस्कुराउँथ्यो । “तर ऊ अर्कैसँग खुसी छे” यो कुरा उसको मुटुमा चसक्क बिज्थ्यो, ऊ भित्रैबाट टुट्थ्यो, दुःखी हुन्थ्यो । ऊ आफ्नै दियो बनेर अँध्यारो खोँचबाट बाहिर निस्कन प्रयासरत थियो | “यो साला पिडा किन कहिल्यै नआउने गरी हराउँदैन ? टर्मिनेटर फिल्मको भिलेन जस्तो, हाँसोका खित्काहरूले पटक पटक त्यसका शिर छेदन गर्दा पनि फेरि ब्युँतेर टक्रक्क देखा पर्छ ।” जीवनको यात्रामा स्मृतिसँग भेटिएर छुट्नु भन्दा नभेटिएकै भए ऊ आज कस्तो हुन्थ्यो थाहा थिएन तर उसलाई लाग्थ्यो ऊ धेरै खुसी हुन्थ्यो । यादहरूको दलदलमा फसेको ऊ जति बाहिर निस्कने प्रयास गर्थ्यो उति झन् तल तल धसिन्थ्यो । “यदि यो दलदलबाट बाहिर निस्किएँ भने फेरि माया जालमा पर्ने छैन । यो सबै छोडिदिनेछु र हल्का हुनेछु ।” खुसी हुनु हल्का हुनु हो वा हलुका मान्छे खुसी हुन्छन् ? यो प्रश्नमा ऊ आफैँभित्र विभाजित थियो । आफ्नै वर्तमान अस्थित्वसँगै विवादित थियो । बिस्तारै हल्का हल्का गर्दै निन्द्राले जकड्दै लागेपछि उसको दिमागको पिङको मच्चाई कम कम हुँदै गयो । आभाषले केही गहिरो सास फेर्‍यो र आँखा बन्द गर्‍यो ।

भोलिपल्ट बिहान बिउँझँदा शरीरका सबै अङ्ग–अङ्ग दुखेका थिए । “रातभरि दिमागले पिङ मच्चाएको भए पनि बिहान उठ्दा यो शरीर चाहिँ किन थाक्छ ?” सँग यो प्रश्नको जवाफ थिएन । उसले जवाफ खोज्न उत्ति जरुरी पनि ठानेन । आँखा खुल्नासाथ फेरि उही चाचाहुई । “अहँ, यसरी त बिलकुल हुँदैन ।” ऊ जुरुक्क उठ्यो, हत्तपत्त ज्याकेट लगायो, ट्राउजर लगायो, मोजा लगायो । ढोका खोल्यो र बाहिर निस्किएर जुत्ता लगायो । गेट खोल्यो र सधैँ दौडने बाटोभन्दा विपरीत दिशातिर दौडन शुरु गर्‍यो । जहाँसम्म पुग्दा थाकेन, त्यहाँसम्म एकै रफ्तारमा कुदेर रोकियो । केही बेर अगाडि हेर्दै उभिएर गहिरो–गहिरो सास फेर्‍यो र फेरि पहिलेझैँ रफ्तार समात्यो । ठाडो फलामे भर्‍याङका ५२ औँ खुड्किला पार गरिसक्दा अघिसम्म दुखेका शरीरका अङ्गहरू सबै फतक्कै गले । दुई हातले आफ्ना घुँडा समाउँदै उसले टाउको काटिएको कुखुरोजस्तै फटफटाइरहेको आफ्नो मुटुको धड्कन सुन्यो । केही बेर त्यसै गरी बसेको ऊ एकाएक सुरुरु भर्‍याङ झर्‍यो । हल्का दौडँदै कोठा पुग्यो । भित्र छिर्‍यो । उसले हिजो बेलुका किनेको एउटा सानो आकारको नयाँ बाँसुरी ज्याकेटको भित्री खल्तीमा हाल्यो र निस्कियो । त्यसपछि भने सुस्तरी उसले बिहानको हिँडाइका लागि सधैँ प्रयोग गर्ने बाटो समात्यो ।

जाडोको पारो चढ्दो थियो । बिहान प्रायः सधैँ भेट हुने लाहुरे बा आज पनि ठिक दोबाटोमा भेटिए । उसले लाहुरे बालाई सलाम ठोक्यो । पुरै सिरक नै ओढेझैँ गरी शरीरै ढाक्ने गरी ओभरकोट भिरेका लाहुरे बाले पनि उनकै अन्दाजमा सलाम फिर्ता गरे । घाम उदाउने तरखरमा थियो ।

“लाहुरे बा, यो घाम उदाउने–उदाउने बेलामा जाडो झन् सारो हुन्छ नि किन हो ?”

उसको प्रश्न सुनेर लाहुरे बा फिस्स मुस्कुराए । “ए हौ, यत्रो पढेको मान्छेलाई त्यति पनि थाहा छैन ? लु भएन हो गाँठे, लु सुन्नुस्, आभाष मास्टरसाब कसो हो रे भने, आउँदै गरेको घामको न्यानोसँग तर्सिएर चिसो हावा भागाभाग गर्छन् अरे, त्यसैले ठिक त्यो टाइममा जाडोको पारो झन् टुप्पोमा पुगिजान्छ रे नि हाउ ।”

त्यति भन्दै बा आभाषतिर फर्किए ।

“ए अँ, निभ्न लाग्दा बत्ती झन् उज्यालो भएजस्तै रहेछ ।”

उसको जवाफ सुनेर लाहुरे बा हा… हा… हा… हा… गर्दै टोल नै थर्कने गरी हाँसे । “पढेको भनेको पढेकै हो नि हाउ मान्छे ।”

उनीहरू टोलको छेउको घुम्तीमा पुगिसकेका थिए । पछाडिबाट गाडीले हर्न दियो । उनीहरूले छेउमा उभिएर बाटो छोडे ।

“एकाबिहानै यिनीहरू कहाँ जाँदै छन् कि फेरि ?” अगाडि–पछाडि पुलिसका जवानहरूले भरिएको गाडी हेर्दै लाहुरे बा बोले ।

उनको प्रश्न सुनेर ऊ झस्कियो र आफ्नो हिँडाइको गति बढायो । लाहुरे बाको ख्यालै नगरी फटाफट हिँड्यो । घुम्तीको ठिक अगाडि आइपुगेपछि ऊभित्र सलबलाइरहेको हतासा झन् झाँगियो । बाँसघारी छेउको बाटोमा मानिसहरूको बाक्लो उपस्थिति देखियो । तुसारोले ढाकिएर सेताम्मे भएको एकलास कोल्टे ठाउँमा भेला भएका ती मानिसहरू प्राय सबैको हातमा मोबाइल थियो । भर्खर गएको पुलिसको गाडी छेउमा रोकिएको थियो । सबै मानिसहरू बाँसघारी पछाडिको सानो जङ्गलतिर आफ्नो मोबाइल ठड्याएर हल्लाखल्ला गर्दै थिए । आभाष पनि सबै मानिसहरूले मोबाइल फर्काएकैतिर हेर्दै अगाडि बढ्यो । उसको नजरले बिस्तारै बाँसघारी पार गर्‍यो । पुलिसहरू बाँसघारी पछाडिको भिरालो जमिनतिरबाट माथितिर चढ्दै थिए । एउटा मान्छे पुलिसहरूभन्दा अगाडि नै माथि पुगेर डिलको बकाइनोको रुखतिर हेर्दै थियो । बकाइनोको हाँगोमा पन्चिङ ब्यागझैँ कोही निष्प्राण झुन्डिरहेको थियो । तुङ्गरुङ्ग झुन्डिएर मन्द गतिमा अगाडी पछाडि हल्लिरहेको लासको टाउकोमा खैरो टोपी थियो र शरीरमा निलो बाक्लो ज्याकेट थियो । सानातिना बुट्यानका घारीले छेकिएकाले कम्मरभन्दा मुनि देखिएको थिएन ।

मानिसहरू आफ्ना मोबाइलको क्यामेरा जुम गरी गरी त्यस दृश्यलाई अझ नजिकबाट कैद गर्न लालायित थिए । कोही आफ्नो फेसबुकबाट घटनाको प्रत्यक्ष प्रसारण गर्दै थिए त कोही भिडियो कलमा घटनाको विस्तृत विवरण पेस गर्दै थिए । घटनास्थल वरपर भेला भएका ठुला कुकुरहरू त्यतैतिर फर्किएर बेजोड भुकिरहेका थिए भने साना कुकुरहरू एक आपसमा चल्न व्यस्त थिए । भिरालोको फेदीमा जस्ताले बारेर जस्ताले नै छाएको झुप्रोको छानोमा कालो बिरालो लम्पसार पल्टिएर घरी आँखा खोल्दै घरी बन्द गर्दै कुकुरका बथानलाई नियालिरहेको थियो ।

यो सबै भिडियो खिच्ने रमितेको भिडभन्दा अलिकति अलग भएपछि “यो झुन्डिएको को हो ? किन झुन्डियो ? आफैँ झुन्डियो कि कसैले मारेर झुन्ड्यायो ?” एकपछि अर्को प्रश्नहरू फटाफट उसको दिमागमा आउन थाले । कुकुरहरूको कोलाहल बाहेक उसले कसैको बोली सुनिरहेको थिएन ।

कसैले उसको काँधमा बिस्तारै हात राख्यो । ऊ सुस्तरी हात राख्ने मान्छेतर्फ फर्कियो । उसको कोठामा चामल, ग्याँस र पानी ल्याइदिने केटो आँखाभरि आँसु बोकेर उभिएको थियो ।

“आभाष दाइ, साला यो कस्तो खाते र’छ ? मैले नगर भनेको थिएँ ।” केटोको अवस्था देखेर आभाषको मुटुमा झन् चिसो पस्यो ।

आभाषले “के रे भाइ ? को ?” केटोको आँखामा हेर्दै प्रश्न गर्‍यो । केटोले भित्रैबाट केही बोल्दै थियो तर घाँटीमा आएर अड्किएजस्तो भयो, आँखाबाट आँसुका ढिका बर्सन शुरु गरे । उसले सासले मात्रै बोल्यो “दिवसे दाइ ।” आभाषलाई जुन नाम सुन्नु थिएन केटोले त्यही नाम लियो । के गरौँ कसो गरौँ हुँदा हुँदै उसले केटोलाई हत्तपत्त अँगालो हाल्यो । केटो घुँक्क–घुँक्क रुन थाल्यो ।

“हिजो राति मलाई म्यासेज गरेको थियो दाइ, म जस्तै गरिबको घरमा कोही नजन्मियोस् भनेर । साला, म छु त तेरो लागि भनेको थिएँ । तैँले पनि मैले गर्दा दुःख पाएको छस्, तेरो प्रगति होस् भन्यो । ह्या, यस्तो कुरा नगर, भोलि बिहानै भेट्छु म तँलाई भनेको थिएँ दाइ । म हिजो काममा गएको थिएँ, उसको अङ्कलले फोन गरेर खबर गर्‍यो । दाइ, यो ठाउँमा अब साँझपख बाँसुरीको धून कहिल्यै सुनिने छैन ।”

केटो झन्–झन् भक्कानिन थाल्यो । आभाषको कानमा भने दिवसले प्रत्येक साँझपख बजाउने बाँसुरीको सुमधुर धून गुन्जन थाल्यो ।

‘पोहोर साल खुसी फाट्दा, जतन गरी मनले टालेँ,

त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ’ गीतको घुन गुज्न्जिरह्यो ।

त्यही गुन्जनबिच अस्ति राति भेट हुँदा मधुरो अनुहार लगाएर “बाँसुरी नै फुट्यो दाइ” भन्दाखेरि देखिएको दिवसको मलिन अनुहार उसको मस्तिष्कमा नाच्न थाल्यो ।

केटोको कारुणिक चित्कारले घटनास्थलको माहोल परिवर्तित भयो । कुकुरहरू कोलाहल रोकेर केटोतिरै फर्किए । “मेरो पनि यो संसारमा आफ्नो भन्ने यही त थियो दाइ, यसले पनि छोडेर गयो ।” केटोले आभाषलाई झन् जोडले अँगालो मार्‍यो । यो अवस्थामा उसले के भन्नुपर्छ ? के गर्नुपर्छ ? भनेर आभाषले आफ्नो दिमागसँग सोध्यो । केही बेर दिमागले आफूभित्र सञ्चित अनुभवहरूलाई खोतल्यो, स्मृतिले छोडी जाँदाको पलमा पुगेर अडियो र त्यही अनुभवलाई ताजा गरिदियो । आभाषले लामो सास फेर्‍यो, उसको शरीर भूकम्पले हल्लाएको घर जस्तै थरर काँप्यो अब रोकिन्छ कि भन्दा भन्दै रोकिएन काँपिरह्यो । कानमा बाँसुरीको करुण धून गुन्जिरह्यो ।

घटनास्थलमा मौजुद मोबाइलका क्यामेराहरू एकपछि अर्को गर्दै केटोतिर फर्किए । एक पुलिस जवानले बिस्तारै छेउमा आएर केटोलाई मोबाइलको म्यासेज देखाउन भन्यो । अँगालोबाट छुटिएर केटोले इन्स्पेक्टरलाई भ्वाइस म्यासेज सुनाउन शुरु गर्‍यो । “माया पनि धनकै बत्तीमा घुम्ने पुतली मात्रै रहेछ केटा । साला…, आमाले छोडिन्, बाउ मरे, म सब सहन सक्थेँ जस्तो लाग्थ्यो । तर उसलाई अर्कैको अँगालोमा खुसी भएको देख्न सक्ने साहस मभित्र छैन रहेछ।” यति सुनेपछि आभाषलाई भित्रै देखि डाहा भयो ऊ त्यहाँ बसिरहन सकेन । भिडसँग छुटिएर माथ्लो डिलमा उक्लने भर्‍याङ भएतिर अघि बढ्यो ।

भर्‍याङ उक्लने छेउको ठुलो घरको अगाडी धुलाम्य सडकमा साना–साना नानीबाबु भाँडा कुटी खेल्न व्यस्त थिए । सानी नानीले आभाषलाई देखेपछि ‘हाउ’ गर्दै कराई । प्राय दोहोरिइरहने यो घटनामा ऊ सानीलाई खुसी बनाउन तर्से जस्तो गर्थ्यो तर आज साँचासाँची तर्सियो । सानी नानी मरीमरी हाँस्न थाली, उसका साथीसङ्गीहरूले पनि उसलाई साथ दिए । ती केटाकेटीलाई बेवास्ता गर्दै ऊ भर्‍याङतर्फ अघि बढ्यो । ठाडो भर्‍याङको टुप्पोमा मज्जाले घाम लागिसकेको थियो । एक झुण्ड मानिसहरू घाम ताप्दै भर्‍याङबाट माथि निस्कने मुख जाम गरेर बसेका थिए । भर्याङको फेदमा दिवसको पुच्छर भनेर परिचित काले झोक्राएर बसिरहेको थियो । उसले पुलुक्क आभाषलाई हेर्‍यो र उठ्यो । आभाषले नजिकै गएर कालेको ढाडमा सुमसुम्याउँदै माया गरेजस्तो गर्‍यो । उताको जस्तै यो भिडमा पनि मोबाइलको बाक्लै उपस्थिति थियो । उनीहरूलाई हेर्दै आभाष केही माथिसम्म चढ्यो । कालेले उसको पिछा गर्‍यो । माथि पुगेर सबैले हेरिरहेको तिरै हेर्‍यो । रुखको हाँगोमा बसिरहेको मानिसले खुकुरीले रेटिरहेको पासो छिनायो । लास भुइँमा बजारिँदा नमिठो आवाज आयो । उभिएका सबैको आङ सामूहिक रूपमा सिरिङ्ग भयो । भिडियो कलमा व्यस्त एक आमैलाई अर्को तर्फबाट “के भो ? झर्‍या हो ? के भो ?” भन्ने प्रश्न गरिरहेकी अर्की आमाको आवाज अलि चर्को सुनिन्थ्यो । आभाष त्यो भिड छिचोल्दै माथि पुग्यो । भिडको सिरानमा बसेर अघिदेखि आभाषलाई नियालिरहेकी डिलको चोककी सेल रोटी पसले बुढी आमैले उसलाई हातमा च्याप्प समातिन् । आभाषले झस्कँदै उनलाई हेर्‍यो । मुजाहरूका बिचमा टल्किरहेको उनको आँखामा गहिरो समवेदना सलबलाइरहेको थियो । हल्का थर्थराइरहेकी आमैलाई देख्नासाथ आभाषका आँखाबाट भेल बग्न शुरु भए ।

आमैले आभाषलाई डोर्याउँदै उनको पसलतिर लगिन् । कालेले पुच्छर हल्लाउँदै आभाषको पिछा गर्‍यो । पसल पुगेपछि आमैले आभाषलाई बस्नका लागि आधा काटेर बोराले मोहरिएको मुडा दिइन् । ऊ चुपचाप केही नबोली बस्यो । काले पसलको साम्मुने रोडमा आफ्ना अगाडिका खुट्टा फिँजाएर मुन्टो निहुराएर बस्यो । आमैले एउटा सिङ्गै सेल रोटी “ला.. खा..तँ पनि पिडामा छस्, तेरो नि साथी छैन अब देखि” भन्दै कालेको अगाडी राखिदिइन् । काले रोटीमा भुलियो । आभाष चुपचाप आफ्नी हजुरआमाको अगाडी ज्ञानी भएर बसेको सानो बच्चा बसेझैँ बसिरह्यो । आमैले ग्याँस चुलोमा बिना आगो बसालिरहेको कालो कित्लीबाट तातो चिया तरर आवाज निकाल्दै पहिला एउटा अनि अर्को सिसाको गिलासमा भरिन् । दुध चियाको बास्नाले पसलको माहोल केही परिवर्तन भयो । चिया भरिएको एउटा गिलास आभाषलाई दिइन् । आभाषले चुपचाप गिलास समात्यो । आमैले मुन्टो देब्रेतिर केही माथि गर्दै खाऊ भन्ने इसारा गरिन् । आभाषले पहिलो सुर्की लियो । अघिदेखि दिमागमा अनेकन् विचारहरूको ज्वालामुखी फुटेर आएको भूकम्पले हल्लाए जस्तै काँपिरहेको उसको शरीर एकदम स्थिर भयो । उसको दिमाग एकाएक शान्त भयो । मानौँ आमैको चियामा कुनै जादु थियो । आभाषतिर हेर्दै आमैले, “खै त्यो बाँसुरी देऊ त, गाउँमा गोठालो जाँदा खुबै बजाउने गरिन्थ्यो” भन्दै दहिने हात अघि सारिन् । आभाषलाई बल्ल आफूले बाँसुरी बोकेको याद आयो । उसले बिस्तारै ज्याकेटको फस्नर खोल्दै बाँसुरी आमैको हातमा दियो । उनले बाँसुरी बजाउन शुरु गरिन् । बाँसुरी बजाउन नबिर्सेको भए पनि सासले उनलाई धोका दियो । “ए अब त सासै पो नपुग्ने भएछ त नि, रहर मात्रै गरेर के पो हुनु” भन्दै आमै फिस्स हाँसिन् । आभाष पनि मुस्कुरायो ।

उसको मुस्कान हेर्दै हल्का लामो सास फेर्दै “यो सब क्षणिक हो, एक दिन हर चिज नासिएर जानेछ । तर त्यसो भन्दैमा हतारमा हामीले कुनै पनि निर्णय लिने गर्नु हुँदैन है बा । समयको बहावले सब ठिक पारिदिन्छ ।” भन्दै आमैले आभाषको हात समातिन् । “यदि तिमी केही कुरा एकदमै सम्झिरहेको छौ भने कुनै बेला त्यो कुरा निकै नै महत्त्वपूर्ण थियो वा भनौँ निकै सुन्दर थियो भने हो नत्र किन सम्झन्छौ र ? त्यसैले यी तिता अनुभवहरू सबै समय सँगै बहिजानेछ । सुन्दर अनुभूतिहरू भने मुटुमा छाप बनी रहिरहने छ । यही नै जीवनको रीत हो । यही नै जिन्दगीको गीत हो ।” त्यति भन्दै आमैले उसको हात छोडिन् । आभाषले सुस्तरी सहमतिमा मुन्टो हल्लायो । आमैले फेरि बाँसुरी समातेर दुई पल्ट लामो लामो सास फेरिन् र अरुणा लामाको “हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो” बोलको गीतको तालमा बाँसुरी बजाउन शुरु गरिन् । योपल्ट भने उनको सास रोकिएन । एकदमै सहज तरिकामा उनको हातका औँला बाँसुरीमा नाच्न थाले । बाँसुरीको मिठो धूनले त्यस ठाउँ वरपर छरिएको असहज सन्नाटालाई चिर्‍यो । कालेले कान ठाडो परेर मुन्टो उठाएर आमैलाई हेर्‍यो । आमै बाँसुरीको धूनको बहावमा समाहित भइन् । धून, गीतको मुखडा सकेर अघि बढ्यो ।

“सुम्पिए हृदय तिमीलाई

हृदय मेरो नतोड

जीवनको बाटो छ लामो

एकलै बिचमा नछोड”

आमैका चाउरिएका औँला बाँसुरीमा मनमोहक तालमा सहज तरिकाले नाचिरहेको देख्दा लाग्थ्यो यो नाच छिटै रोकिने वाला छैन । आभाष हातमा चियाको तातो गिलास लिएर आँखा चिम्म गर्दै आफैँभित्र हराएकी आमैलाई ट्वाँ.. परेर एकोहोरो हेरिरह्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.