साहित्यपोस्ट डट कम

कथा: औपन्यासिक पात्र, पुष्करनको दुखेसो

कथा: औपन्यासिक पात्र, पुष्करनको दुखेसो

यता केही दिनदेखि हाम्रो नगरको जुन कुनामा पुगे पनि बाक्लो शीतलहर र तुँवालो सितै जम्काभेट भइराखेको थियो । सूर्यनारायणको मुहार नदेखेको जुग बितेजस्तो भएको थियो । हाम्रा सहरका चाणक्यहरूलाई भेट्न अचेल उनीहरूको घरसम्म पुग्नु पर्दैन । बाटोघाटोमा जताततै भेट्न सकिन्छ । भएभरका प्लाष्टिकजन्य कचडाहरूलाई अग्नि समर्पण गदै आफ्ना मुखारविन्दबाट देशविदेशका समस्याबारे चिन्तन बखान गरिराखेका हुन्छन् । मेरो दुर्भाग्य, उनीहरूको जमघटमा बस्ने समय कहिल्यै जुराउन सकिनँ । क्यार्नु, उनीहरूको गुटमा सामेल नै हुन सकिनँ । एकातिर छुट्टीको दिन, अर्कोतिर मौसम निर्ममता । तैपनि नुहाउनै पर्ने भयो । थरथर काम्दै तयार भएर घरकै भुइँतल्लामा अवस्थित अफिसमा पुगे । कामधाम खासै थिएन । आज त अखबार पढ्न पनि अल्छी लाग्दै थियो । हाई काढ्दै आफ्नो कुर्सीमा बसेर तीतामीठा पुराना कुराहरू सम्झिन थाले । के थिएँ पहिले….के भएँ अहिले……..। अतीतको गोरेटोमा घुम्दै थिएँ, कसैले मेरो कानपुरमा साउती गरे जस्तो भान भयो, हेलो लेखक ! हेलो सर ।” सजग भएर चारैतिर आँखा फर्काएँ । मान्छे त छोडौँ, माउसुली अथवा मुसो पनि देखिएन । भ्रम भयो होला भनेर लाग्यो । म पुनः अतीतको गोरेटोमा पुगेँ ।

केही सेकेण्ड बित्न नपाउँदै पुनः त्यही मधुरो स्वर मेरो कानपुरसम्म पुग्यो, “हेलो सर, हेलो लेखकज्यू !” चारैतिर आँखा फर्काएँ, फेरि पनि कोही देखिएन । दिग्दार मान्दै झर्किएँ, “को हो यार ? दातृसंस्थाले असल ध्येय लुकाएजस्तै किन तिमी पनि आफूलाई लुकाएको ? जे कुरो छ, अगाडि आएर गर्नुपर्छ नि !” “सर ! म तपाईंले सृजना गर्नुभएको उपन्यास क्षमादानको खलपात्र पुष्करन हो । तपाईंले मलाई भौतिक अनुहारको नाममा साढे चार अक्षरबाहेक क्यै दिनुभएकै छैन । त्यही भएर प्रकट हुन नसकेको ।” त्यही अदृश्य मनुवाले बडो शालीन पारामा फर्कायो । मेरा आँखा टेबलउपर राखिएको क्षमादान पुस्तकतिर फर्किए । मसिनो स्वरमा बरबराएँ, “मेरो पछिल्लो उपन्यासमा पुष्करन नाम भएको पात्र त थियो । तिमी त्यही हौ त ?”

“अति भयो यार । फिक्सनका करेक्टर पनि जिउँदा हुन थाले ?” सशंकित भावलाई सकभर मीठो बनाउँदै मैले सोधे, “ए अच्छा ! भन त के भन्न खोजेको ?” “सर ! तपाईंले शुरुमा मलाई साह्रै महत्त्वाकांक्षी, धूर्त र बेइमान पात्रका रूपमा उभ्याउनुभयो । मबाट थुप्रै गलत कामहरू गर्न लगाउनुभयो र मलाई जेल पनि पठाउनुभयो । बिस्तारै मलाई सुध्रिँदै गएको पनि देखाउनुभयो । उपन्यासको अन्तिम पानासम्म मलाई पछुतोको रापमा जल्दै गरेको नै देखाउनुभयो । मभित्र आध्यात्मिक चेत जागेको पनि हेराउनुभयो तर मलाई क्षमादानयोग्य ठान्नुभएन, किन सर ? इजन्ट इट अनफेयर ?” उसको स्वरमा अनौठो पीडा थियो ।

मैले आफ्नो विवशता पोखेँ, “म त फकत एक लेखक हो यार, कुनै न्यायालयको न्यायाधीश होइन । अनि, क्षमादान लिने अथवा दिने काम त तिमी पात्रहरू बीचको कुरो होइन र ? मलाई जबरजस्ती दोषी किन बनाउँदै छौ यार ?”

“सर ! प्लीज डोन्ट टेक इट अदरवाइज । सानो मुख ठूलो गरेँ मैले । कसैलाई आफ्नो गल्तीको बोध हुन्छ र प्रायश्चितको बाटो समात्न चाहन्छ भने उसलाई सेकेण्ड चान्स पनि नदिने ? यो कस्तो मानवता हो ? सरी फर टकिंग वीथ यु सो रुडली, बट यु वेयर टोटल्ली बायस्ड अगेन्स्ट मी ।” उसको तिक्त वचन सुनेर झस्किएँ ।

“मेरो रचना मलाई नै सिकाउँछ मानवता ?”, तर्किन खोजेकै थिएँ, आँखा खुले । अरे, कुर्सीमा बस्याबस्यै निदाएको रहेछु । मेरो पुस्तक क्षमादान यथास्थानमै थियो । म मनमनै गम्न बाध्य भएँ, “क्षमादान र कृतज्ञता, यी दुई कुरा त हरेक भलाद्मीका अन्तर्निहीत गुणहरू छन् । पुस्तकको अन्तिम पानासम्म बिचरो पुष्करनलाई यी दुवै अवसरबाट वञ्चित राखेँ । हो रहेछ, मैले पुष्करणका साथ अन्याय नै गरेको रहेछु । “पुष्करनलाई जुनजुन पात्रको अपराधी थियो, तिनीहरूका साथ पुष्करनको भेटघाट कम्तीमा एक पटक फेरि गराउन सकिन्थ्यो कि ? क्षमादान पाएर ऊ पछुतोको रापबाट मुक्त भएको र समाजका लागि अनुकरणीय उदाहरण बनेको देखाउन सकिन्थ्यो कि ?” मेरो अपराधी मन यिनै गन्थनमन्थनमा व्यस्त रह्यो ।

मेरो अन्तर्मनमा यिनै विचारहरूको सुनामी चलिरह्यो । सोच्दासोच्दै हटात् सम्झना भयो, “मैले व्यक्तिगत जीवनमा पनि थुप्रै चिरपरिचितप्रति पूर्वाग्रही भएर बसेको छु । कुनै बेला मेरो बाल्यकालीन मित्र रमेशले मसित गर्न नहुने व्यवहार गरेको थियो । तत्पश्चात् हामी दुई बीच बोलचाल नै बन्द भयो । समयक्रमसँगै उसको आनीबानीमा परिवर्तन आएको छ भनेर कसैकसैबाट थाहा पाएँ । बेलाबखत कुनै पार्टीसार्टीमा जम्काभेट हुँदा उसका आँखामा क्षमायाचनाको भाव प्रष्ट देख्ने गर्छु । उसले मसित जतिसुकै बात मार्न खोजे पनि मैले बाल मतलब राखेको छैन । अथवा भनौँ, उसलाई अझै क्षमा गर्न सकेको छैन । यिनै पुरानै कुराहरू मनको भित्तामा रि-टेलिकाष्ट भइराख्दा मेरा आँखाअगाडि माधवको अनुहार पनि प्रकट भयो । साह्रै सोझो मान्छे । संस्थागत उठबसका क्रममा ऊसित मित्रता भएको थियो । दुई वर्षअगाडि मात्रको कुरा हो, मेरो मनमा कुन्नि कस्तो अहंकार पलाएको थियो । अन्जानमै उसको आत्मसम्मान ठेस पुर्याइराख्थेँ । उसले कुनै गुनासो गरेन, बरु बिस्तारै ऊ पनि मबाट टाढिँदै गयो । समयक्रममा मलाई आफ्नो त्रुटि बोध त भयो, तर अहंकारी मनले आजसम्म खुलेर क्षमायाचना गर्न दिएको छैन ।

“कल करे सो आज कर, आज करे सो अभी,” बरबराउँदै म फोनको बटन थिच्नमा व्यस्त भएँ, मुटुको ढुकढुकी ह्वात्तै बढेको थियो । “हेलो रमेश । चिसो ह्वात्तै बढेको छ, यार । तिमी कता छौ ?” मेरो स्वर सुनेर ऊ अचम्ममा परेजस्तो लाग्यो । लरबराउँदै फर्कायो, “घ..घरमै छु ।” “अच्छा घरमै छौ ? त्यसो भए तिमी खुरुक्क मेरो घरका लागि हिँडिहाल त । कफी सँगै तिम्रो फेबरेट आइटम गाजरको हलुवा खाने अनि घन्टौँ बसेर बात मार्ने ।” “ठीक छ, हुन्छ ।” संवाद सक्किएपछि लामो स्वास फेरेँ र फेरि पनि फोनमा व्यस्त भएँ । फोन उठ्छ कि उठ्दैन भनेर असमञ्जसमा थिएँ ।

फोन उठ्यो, “हेलो !” आफ्नो स्वरलाई सक्दो समान्य बनाउँदै मैले फर्काएँ, “हेलो माधव मोटे ! धेरै दिन भयो यार, भाउजूको हातबाट चिया नखाएको ।” उताबाट कुनै जवाफ आएन । मैले अर्को अस्त्र हानेँ, “मलाई थाहा छ, तिमी अचेल मबाट रुष्ट छौ । साथी हुँ, गल्तीसल्ती त भइराख्छ नि । माफी नदिने त ?” उताबाट बल्ल माधवले पनि हाँस्दै फर्कायो, “बस कर पगले, रुलाएगा क्या ?”

“त्यसो भए चिया होइन, बरु मेरै घराँ सँगै बसेर डिनर खाने । आज नै । तर भाउजू पनि सँगै हुनुपर्छ । तिम्री भाउजूले पनि सम्झिँदै थिइन् ।”

चाहे अनुसार कुरो ठ्याक्कठ्याक्क मिल्दै गएको थियो । फोनलाई विराम दिएँ । शरीरको पोरापोरामा प्रसन्नताका तरङ्गहरू सल्बलाउँदै थिए । मानौँ सर्वोच्चले भ्रष्टाचारको मुद्दामा सफाइ दिएको होस् । क्षमादान पुस्तकलाई सुम्सुम्याउँदै मनमनै पुष्करनप्रति कृतज्ञता प्रकट गरेँ । मनमा विचार फुर्यो, “पुष्करनलाई पनि एक मौका दिन मिल्दैन त ?” “मिल्छ ! मिल्छ !” मनलाई आश्वस्त पार्दै आगामी लेखको तैयारीमा जुटेँ । ल्यापटपमा मेरा औँला व्यस्त थिएँ, सबैभन्दा माथि लेखिएको थियो, “औपन्यासिक पात्र, पुष्करनको दुःखेसो ।”

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.