ऊ आई र मलाई रित्याएर गई ।
त्यो भोटेनी केटी अरुणमा हामफाल्नै लागेकी थिई । म बेकामे, घुमन्ते, उरन्ठेउलो उसै भौतारिँदै पुगेको थिएँ त्यहाँ । एउटी जवान केटीले जीवनोत्सर्ग गर्न लागेकी देखेर म भावविहीन बनेँ र अनायसै उसलाई समाउन पुगेँ । ऊ भरिली जवान भोटेनी । म लुरे बाहुन । झण्डै झण्डै ऊसँगै अरुणमा झरेको । सोध्न पनि सकिनँ, किन ऊ अरुणकी प्यारी हुन लागेकी हो भनेर । नि:शब्द भएर मैले उसलाई तानेँ । जुन हात समातेर तानेको थिएँ त्यही हात नछोडी उकालो लागेका थियौँ हामी ।
थुक्क ! मोराले कोही नपाएर भोटेनी समातेछ । समाजलाई यत्ति देख्नु काफी थियो । मैले प्रतिक्रिया दिने ठाउँ पनि थिएन । समातेकै हो ‘समात्नु’ शब्द उसै बदनाम भयो । समातिनेको हालत झन् के भयो होला ! निश्चल मनको गहिराइमा मुस्लो धुवाँ उठ्यो र क्रमश: हाँगा फाट्दै गयो । त्यसैको एउटा हाँगा आँखाबाट निस्कियो । समाजको हेराइमा त्यो हाँगा दोषी सावित भैसकेको थियो ।
मैले समाजको नाक काटिदिएँ । मेरो कारण समाजले नकाटो हुन चाहेन । ‘असतीलाई समाजबाट निकाल्नु पर्छ ।’ उसै पनि म समाजमा कहाँ थिएँ र ! म समाजबाट धुवाँजस्तै उडेर माथि पुगिसकेको थिएँ तर समाजले मलाई निहुरेर हेरिरहेको थियो । ‘अवस्थाअनुसार गहिराइ र उचाइ समान पनि हुँदा रहेछन् केटा !’ मैले आफैँलाई सम्झाएँ ।
असारको महिना थियो, चलनअनुसारको लगन भएको महिना । मैले उसलाई आफ्नो बनाउने निधो गरेँ । मलाई लागेको थियो यो कुराको साक्षी हामी दुईमात्र हुनेछौँ । तर, उसले आमालाई खबर गरिछ । ऊ उसकी आमा, एउटा पण्डित र केही आफन्तसहित उपस्थित भइन् । ‘म आगो साक्षी राखेर नै छोरी सुम्पिन्छु ।’ मेरो तर्फबाट केही तयारी थिएन । तयारी गर्नुपर्ने पनि केही थिएन । मेरो गोजी एक चुट्की सिन्दुर र एक लुङ पोतेमा सीमित थियो ।
त्यो साँझ अरुणको किनारमा पानी असाध्यै बढेको थियो । बादलहरू आकाशमा यसरी गुडिरहेका थिए, मानौँ कसैले पुराना दुःखलाई हाँकेर भगाइरहेको होस् । पण्डितले कुश बिछ्याए । एउटा पुरानो काँसको थालमा दीप राखियो । नदीको गर्जनबीच मन्त्रका ध्वनिहरू कहिले हराउँथे, कहिले फर्केर आउँथे ।
उसले पहिलोपटक मलाई सीधा आँखामा हेरी । ती आँखामा डर थिएन । बरु एक किसिमको थकान थियो । धेरै रोएर आँशु सकिएका मान्छेमा हुने थकान । मैले त्यही क्षण बुझेँ, यो केटी मरिनँ भनेर मात्र बाँचेकी होइन, यो अब बाँचेर देखाउने अठोटमा छे ।
‘नाम के हो तिम्रो ?’ विवाहपछि मैले विस्तारै सोधेँ ।
ऊ मुसुक्क हाँसी ।
‘पेम्फुटी । घरमा पेमी भन्छन् ।’
मैले मनमनै दोहोर्याएँ– पेम्फुटी । नाम उच्चारण गर्दा नै हिउँ पग्लिएको आवाज आउँथ्यो ।
‘र तिम्रो ?’
‘मानबहादुर होइन, देवबहादुर होइन… म त बस् हरिप्रसाद । गाउँलेले हरिया भन्छन् ।’
‘हरिया…’ उसले बिस्तारै मेरो नाम बोल्दा मलाई पहिलोपटक आफ्नै नाम राम्रो लाग्यो ।
विवाह सकिएपछि उसका आफन्तहरू चुपचाप फर्किए । कसैले आशीर्वाद दिएनन् । कसैले विरोध पनि गरेनन् । त्यो मौनताकाे अर्थ के थियाे ? उत्तर खाेज्ने प्रयास गरिएन ।
हामीसँग घर थिएन । मेरो नाममा जमिन थिएन । समाजले दिने ठाउँ थिएन । त्यसैले हामी नदीछेउकै एउटा खाली गोठमा बस्न थाल्यौँ । छानो चुहिन्थ्यो । राति मुसा कुद्थे । बिहान चिसोले हड्डी दुख्थ्यो । तर, पेमी हरेक बिहान गोठको ढोकामा उभिएर सूर्य हेर्थी र भन्थी– ‘मरेकी भए यो देख्ने थिइनँ ।’ मसँग उत्तर हुँदैनथ्यो ।
गाउँलेहरूले हाम्रो विवाहलाई विवाह मानेनन् । उनीहरूका लागि त्यो दुर्घटना थियो । उनीहरूको आँखामा पेमी अझै पनि ‘भोटेनी’ नै थिई, नाम भएकी मान्छे होइन । अनि म ? म जात फालेको बाहुन ।
एकदिन चौतारोमा गाउँका केही बूढाहरू बसिरहेका थिए । म उता जाँदै थिएँ ।
‘ए हरिया !’ एकजनाले बोलाए । म रोकिएँ । ‘भोटेनीको जादु कस्तो हुँदो रहेछ ?’ उनीहरू हाँसे । म पनि हल्का हाँसेँ । भित्र भने केही चर्कियो । ‘जादु होइन काका,’ मैले भनेँ, ‘मर्ने मान्छेलाई बाँच्न दिनु पाप हो भने त्यो पाप गरेको हुँ ।’
त्यो दिनपछि मलाई चौतारोमा बस्न निषेध गरियो । घर फर्किँदा पेमीले मेरो अनुहार पढी ।
‘फेरि केही भने ?’
‘केही होइन ।’
‘मसँग झुट नबोल हरिया ! तिमी झुट बोल्दा आँखाको कुनो काँप्छ ।’
म अचम्ममा परेँ । मैले आफूलाई यति गहिरो गरी पढ्न जानेकाे थिइनँ ।
त्यो रात हामी धेरै बेर चुप लागेर बस्यौँ । बाहिर पानी परिरहेको थियो । पेमीले अचानक भनिन्– ‘तिमीले मलाई किन बचायौ ?’ मसँग उत्तर तयार थिएन ।
‘शायद… कसैले त बचाउनुपर्थ्यो ।’
ऊ केही बेर मौन भई ।
‘मेरो बाउले मलाई पन्ध्र वर्षमै बेचिदिएका थिए । भोजपुरबाट आएको एक व्यापारीसँग । म भागेर फर्किएँ । गाउँलेले मलाई खराब भने । आमा रुँदै बसिन् । त्यसपछि मलाई लाग्यो, म बाँचे पनि कसका लागि ? त्यसैले म अरुणतिर गएँ ।’
उसको स्वर नदीभन्दा गहिरो थियो ।
‘तर तिमी आएछौ ।’
मैले उसको हात समातेँ । त्यो हातमा अझै नदीको चिसोपन बाँकी थियो ।
दिनहरू बिस्तारै बग्न थाले । हामी दुवैले मजदुरी गर्न थाल्यौँ । म कहिले भारी बोक्थेँ, कहिले खेत जोत्थेँ । पेमी गाउँका केही घरमा ऊन कात्थी, नाङ्लो बुन्थी । उसले बनाएका ढाका राम्रा हुन्थे । तर मानिसहरूले सस्तो मूल्य दिन्थे ।
‘भोटेनीको हातको काम हो नि,’ उनीहरू भन्थे ।
एकदिन मैले रिसाएर भनेँ– ‘बेच्नु पर्दैन छाेडिदेऊ ।’
पेमी हाँसी ।
‘भोकले जात सोध्दैन हरिया ।’
उसले सामान्य वाक्य बोल्थी, तर त्यसमा जीवनको पुरै दर्शन लुकेको हुन्थ्यो ।
हाम्रो गोठबास भएकाे दुई वर्ष बितेछ । त्यो बीचमा धेरै कुरा बदलियो । गाउँलेहरूले हामीलाई पूर्ण रूपमा स्वीकार गरेनन्, तर पुरै निकाल्न पनि सकेनन् । कारण, हामी कसैको नराम्रो चाहँदैनथ्यौँ । कसैको खेतमा काम परे पुग्थ्यौँ । कसैको घरमा बिरामी परे रातभर बसिदिन्थ्यौँ ।
तर समाजको मन ढुंगाभन्दा ढिलो पग्लिँदो रहेछ ।
एकदिन गाउँकी एउटी बाहुनीले पेमीलाई धारोमा गाली गरिछ ।
‘तिमीहरूको कारणले गाउँ बिग्रियो ।’
पेमी चुप लागिछ ।
‘किन नबोलेकी ?’ मैले सोधेँ ।
ऊ मुस्कुराई ।
‘ढुङ्गालाई फूलले हिर्काएर के फाइदा ?’
तर त्यो रात ऊ धेरै बेर रोई । मैले पहिलोपटक उसको रोदन सुनेँ । त्यो आवाज दबाइएको वर्षाजस्तो थियो । ‘म कहिलेसम्म भोटेनी नै रहन्छु हरिया ?’ मसँग उत्तर थिएन । मैले केवल उसको कपाल सहलाएँ ।
समयले हाम्रो गोठमा अर्को पाहुना पनि ल्यायो । पेमी गर्भवती भई । जब उसले मलाई खबर सुनाई, म पहिलोपटक साँच्चै डराएँ । हामी आफै आधा पेट खान्थ्यौँ । बच्चालाई कसरी हुर्काउने ?
तर पेमी खुशी थिई ।
‘हाम्रो बच्चाले जात लिएर जन्मिँदैन नि हरिया ?’
उसको प्रश्नले मलाई भित्र कताकता घोच्यो ।
छोरी जन्मिई । असोजको एक रात । बाहिर हुरी चलिरहेको थियो । गोठको छानो उड्ला जस्तो भइरहेको थियो । तर, त्यो सानो बच्चीको पहिलो रोदनले सबै आवाज दबाइदियो । मैले छोरीलाई काखमा लिँदा अजीब अनुभूति भयो । मानौँ भगवान्ले मलाई समाजभन्दा ठूलो जिम्मेवारी दिएका हुन् ।
‘नाम के राख्ने ?’ पेमीले सोधी ।
मैले बच्चीको निधार चुमेँ ।
‘अरुणिमा । किनकि उसले हामीलाई अरुणबाट फिर्ता ल्याएकी हो ।’
अरुणिमा हुर्किँदै गई । उसका आँखाहरू पेमीका जस्तै थिए । उज्याला तर भित्र कतै दुःख लुकाएका । गाउँका केही बच्चाहरू ऊसँग खेल्थेनन् । ‘त्यो जात नमिलेकी हो,’ उनीहरूका आमाबाउले भन्थे ।
एकदिन अरुणिमा रूँदै घर आई ।
‘म कुन जातकी हो बाबा ?’
म स्तब्ध भएँ ।
पेमीले उसलाई अँगालो हालेर भनी– ‘तँ मान्छे जातकी होस् ।’
तर समाजले यति सरल उत्तर मान्दैनथ्यो ।
म भित्रभित्रै जल्दै थिएँ । धेरै रात निदाउन सकिनँ । मलाई लाग्थ्यो, मैले पेमीलाई बचाएँ, तर उसलाई अर्को नरकमा ल्याएँ । त्यसपछि मैले गाउँ छोड्ने सोच बनाएँ ।
‘हामी धरान जाऔँ,’ मैले एकदिन भनेँ । ‘त्यहाँ कसैले हाम्रो जात सोध्दैन होला ।’ पेमी लामो समय चुप रही । ‘भागेर कहाँसम्म जाने हरिया ? समाज मान्छेसँगै हिँड्छ ।’
‘तर अरुणिमाका लागि…’
उसले छोरीलाई हेरी ।
‘ठीक छ ।’
हामीले गोठ छोड्यौँ । केही पुराना कपडा, केही भाँडा र पेमीको करखा बोकेर धरान झर्यौँ । शहर हामीजस्ता मानिसका लागि सजिलो थिएन । त्यहाँ कसैलाई कसैको मतलब थिएन, तर गरिबीले सबैलाई एउटै लाइनमा उभ्याउँथ्यो ।
म निर्माण मजदुर भएँ । पेमीले ढाका बेच्न थाली ।
धरानमा पहिलोपटक हामीले अलिकति स्वतन्त्र सास फेर्यौँ । यहाँ कम्तीमा मानिसहरूले खुला रूपमा “भोटेनी” भनेर कराउँदैनथे । तर भाग्य फेरि पनि सजिलो थिएन । एकदिन काम गर्दै गर्दा म तीनतलाबाट खसेँ । मेरो खुट्टा भाँचियो । महिनौँ ओछ्यान परेँ । घर चलाउने जिम्मा पेमीमाथि आयो । ऊ बिहानै बजार जान्थी । राति अबेर फर्किन्थी । म उसको अनुहारमा थकानका डोबहरू देख्थेँ ।
‘आराम गर,’ म भन्थेँ ।
‘गरिबले आराम गर्यो भने भोक उठ्छ,’ ऊ हाँस्दै भन्थी ।
तर बिस्तारै मैले उसको हाँसो हराउँदै गएको देखेँ ।
एक रात ऊ धेरै ढिलो आई ।
‘के भयो ?’ मैले सोधेँ ।
ऊ चुप रही ।
पछि थाहा पाएँ, बजारका केही व्यापारीहरूले उसलाई नराम्रो प्रस्ताव दिएका रहेछन् ।
म आगोझैँ भएँ ।
‘भोलिदेखि तिमी बजार जाँदैनौ ।’
‘अनि खाने के ?’
म मौन भएँ ।
त्यो रात मलाई आफ्नो पुरुषत्वमाथि घृणा लाग्यो । समाजले मलाई बाहुन भनेर ठूलो बनाएको थियो, तर आफ्नी स्त्रीलाई सुरक्षित राख्न सक्ने सामर्थ्य पनि थिएन । दिनहरू फेरि कठोर हुँदै गए । म लङ्गडाउँदै काममा जान थालेँ । पेमी अझै ढाका बेच्थी । तर उसले कहिल्यै गुनासो गरिन ।
एक साँझ ऊ घर आएर लामो समयसम्म अरुणिमालाई हेर्दै बसी ।
‘के सोचिरहेकी ?’ मैले सोधेँ ।
‘यदि म अरुणमा हाम फालेकी भए…’
‘पेमी !’ मैले कराएँ ।
ऊ मुस्कुराई ।
‘नडराऊ न हरिया । अब म मर्दिनँ । किनकि अब म एक्लो छैन ।’
त्यो दिन मैले बुझेँ, मानिसलाई बाँध्ने चीज प्रेमभन्दा पनि जिम्मेवारी रहेछ ।
समय फेरि बग्यो । अरुणिमा विद्यालय जान थाली । ऊ पढाइमा तेज थिई । शिक्षकहरूले प्रशंसा गर्थे । तर, केही अभिभावकहरू अझै फुसफुसाउँथे ।
एकदिन विद्यालयमा फारम भरिँदै थियो ।
‘तिम्रो जात ?’ शिक्षकले सोधे ।
अरुणिमा चुप भई ।
‘बाहुन कि भोटे ?’
काम चल्ने जात त पहिले नै लेखाइएकाे थियाे । स्कुलका शिक्षकलाई पनि जातलाई लिएर असन्तुष्टि पाेख्न पर्दाे रहेछ । अरुणिमा घर आएर धेरै बेर मौन बसी । त्यसपछि उसले कापी च्यातेर फालिदिई ।
‘म किन कुनै एउटा हुनुपर्छ ?’
म र पेमी एकअर्कालाई हेरेर बस्यौँ ।
हामीसँग उत्तर थिएन ।
तर त्यही रात पेमीले मलाई भनी– ‘हामीले गल्ती गरेनौँ हरिया । गल्ती समाजको हो ।’
मैले धेरै वर्षपछि आफूलाई हल्का महसुस गरेँ ।
त्यसपछि हामीले अरुणिमालाई एउटै कुरा सिकायौँ — आफूलाई कहिल्यै सानो नठान्नू ।
ऊ अझै पढ्दै गई । समयसँगै ऊ शहरकै कलेज पुग्ने पहिलो “जात नमिलेकी” छोरी बनी । मानिसहरूले बिस्तारै हाम्रो कथा बिर्सिन थाले । नयाँ विषयहरू आए । नयाँ विवाद आए । समाजको स्मृति कमजोर हुँदो रहेछ । तर घाउ भने हामीभित्र कतै बाँकी नै थियो ।
एकदिन हामी फेरि अरुणकिनार पुगेका थियौँ । धेरै वर्षपछि । नदी उस्तै थियो । पानी उस्तै थियो । केवल हामी बूढा भएका थियौँ ।
पेमीले लामो समय नदीतिर हेरिरही ।
‘त्यो दिन म हाम फालेकी भए के हुन्थ्यो होला ?’
मैले बिस्तारै भनेँ– ‘म पनि शायद बाँच्दिनथेँ ।’
ऊ हाँसी ।
‘झुट ।’
‘साँचो । किनकि त्यो दिनदेखि मेरो जीवन तिमीसँग गाँसियो ।’
हामी चुपचाप नदीको आवाज सुनिरह्यौँ ।
त्यही बेला अरुणिमा हामीतिर आई । ऊ अब जवान भइसकेकी थिई । उसका आँखामा विद्रोह थियो, तर त्यो विद्रोह घृणाबाट जन्मेको थिएन– आत्मसम्मानबाट जन्मेको थियो ।
‘बाबा,’ उसले भनी, ‘म काठमाडौँ पढ्न जान चाहन्छु ।’
म केहीबेर चुप भएँ ।
पेमीले मलाई हेरी ।
‘जान देऊ हरिया । नदीलाई थुनेर राख्न सकिँदैन ।’
म मुस्कुराएँ ।
त्यो रात घर फर्कँदा मलाई लाग्यो, जीवन आखिर नदीजस्तै रहेछ । कहिले चट्टानमा ठोक्किन्छ, कहिले गहिराइमा हराउँछ, कहिले बाढी बनेर बग्छ । तर रोकिँदैन ।
अरुणिमा काठमाडौँ गई । हामी फेरि दुईजना मात्र भयौँ । गोठबाट शुरु भएको हाम्रो जीवन अब सानो कोठामा सीमित थियो । तर, त्यस कोठामा अब अपमानभन्दा सम्झनाहरू बढी थिए ।
एकदिन पेमीले पुरानो लुङ पोते निकालेर मलाई देखाई ।
‘याद छ ? यही लगाएर बिहे गरेको ।’
म हाँसेँ ।
‘त्यो बेला तिमी नदीबाट भर्खर फर्केकी थियौ ।’
ऊ गम्भीर भई ।
‘हरिया, मानिसलाई एकपटक मर्न सजिलो रहेछ । तर समाजसँग लड्दै बाँच्न धेरै गाह्रो रहेछ ।’
मैले उसको हात समातेँ ।
‘तर तिमीले जित्यौ पेमी ।’
उसले टाउको हल्लाई ।
‘हामीले जित्यौँ ।’
बाहिर पानी पर्न थालेको थियो । असार फेरि फर्किएको थियो । मैले झ्यालबाट बाहिर हेरेँ । कतै टाढा अरुण बगिरहेको थियो । त्यही अरुण, जसले एकदिन एउटी भोटेनी केटीलाई लिन खोजेको थियो । तर नदीले त्यो दिन उसलाई पाएन । शायद नदीले बुझ्यो– केही मानिसहरू मर्नका लागि होइन, समाजको ऐनामा दरार पार्न जन्मिएका हुन्छन् ।
अरुणिमा काठमाडौँ गएपछि पेमीमा एउटा अनौठो स्तब्धता थियाे । पहिले ऊ साँझपख म आउँदा ढोकासम्म आइपुग्थी । अहिले झ्यालबाट मात्रै हेर्थी । पहिले ऊ धेरै बोल्थी । अहिले मुस्कानले मात्र काम चलाउँथी । उसको हाँसोमा पनि कताकता थकानको धुलो जम्न थालेको थियो ।
हाम्रो कोठामा एउटा पुरुषको आउजाउ बढ्न थाल्यो । म कामबाट फर्किँदा ऊ प्रायः पेमीसँगै हुन्थ्यो । कहिले चिया पिइरहेको, कहिले चुपचाप गफ गरिरहेको ।
‘को हो ?’ मैले एकदिन सोधेँ ।
‘दाजु हो,’ पेमीले सहज स्वरमा भनी ।
मलाई उसका माइतीबारे खासै थाहा थिएन । मैले धेरै कोट्याउने प्रयास पनि गरिनँ ।
म आफैँ समाजबाट उछिट्टिएको मान्छे । पेमाकाे विगत खाेतलेर म फेरि किन एक्लिऊँ ? मैले पेमाकाे विगत कहिल्यै खाेज्ने प्रयास गरिनँ ।
उसले मलाई ‘ज्वाइँ’ भनेर नमस्कार गर्थ्यो । म ‘दाइ’ भनेर टाउको निहुराउँथेँ । तर, मान्छेको मन कहिलेकाहीँ आफ्नै विश्वाससँग हार्दो रहेछ । बिस्तारै मभित्र एउटा अज्ञात डर उम्रिन थाल्यो ।
त्यो डर प्रेमको थियो कि समाजले वर्षौँदेखि रोपेको शङ्काको बीउ थियो– मैले छुट्याउन सकिनँ ।
एकदिन म कामबाट अलि चाँडै फर्किएँ । कोठाको ढोका आधा खुला थियो । भित्र कोही थिएन । पेमीका कपडा पनि थिएनन् । पुरानो बाकस खाली थियो । म धेरै दौडिएँ कतै भेटिनँ ।
‘भागी होला त्यही मान्छेसँग !’ छिमेकीहरूले यति सजिलै फैसला सुनाए, मानौँ उनीहरू त्यही दिनको प्रतीक्षामा थिए । म चुप रहेँ ।
‘दाजु रे !’ चौतारोमा हाँसो उठ्यो । ‘अँ अँ ! मामा रहेछ र पो भान्जीको अनुहार मिल्ने !’ मानिसहरू फेरि रमाए । समाजले नयाँ मसला पाएको थियो । तर, मभित्र भने हाँसो होइन, एउटा पुरानो नदी फेरि उर्लियो ।
मलाई सम्झना आयो– त्यो दिन पनि समाजले हामीलाई हेरेर यस्तै फैसला सुनाएको थियो । त्यो दिन पेमी मर्न लागेकी थिई । आज ऊ फेरि मेरो जीवनबाट हराएकी थिई । फरक यत्ति थियो–
त्यो दिन मैले उसको हात समातेको थिएँ । आज उसले त्याे हात छाेडेकी थिई ।
धेरै दिनसम्म मैले उसलाई खोजेँ । गल्लीहरूमा, मेलापातमा, मानिसहरूको अनुहारमा…
तर पेमी कतै भेटिनँ ।
एकदिन अरुणिमाको चिठी आयो । “बाबा, आमालाई दोष नदिनू । कतिपय मानिसहरू धेरै लड्दा-लड्दै थाक्छन् । शायद आमा पनि थाक्नुभयो ।” त्यो चिठी पढेर म धेरै बेर नबोली बसिरहेँ ।
अहिले म फेरि अरुणको बगरमा बसेको छु । पानी उस्तै बगिरहेको छ । ढुङ्गाहरू उस्तै छन् ।
बदलिएको त केवल म हुँ ।
म सोचिरहेछु– त्यो दिन यदि मैले पेमीलाई नदीबाट नतानेको भए के हुन्थ्यो होला ? शायद ऊ त्यही दिन मर्थी । शायद म यो पीडामा हुन्न थिएँ । फेरि लाग्छ– उसले मलाई जति दुःख दिई, त्योभन्दा धेरै जीवन दिई । उसले मलाई समाजभन्दा ठूलो कुरा सिकाई– मान्छेलाई प्रेम गर्न सकिन्छ, तर बाँधेर राख्न सकिँदैन ।
साँझ पर्न थालेको छ । अरुणको पानी कालो हुँदै गइरहेको छ । म आफ्नै छायालाई नदीमा हेर्छु ।
पेमा ! तिमी आयौ… मलाई बाँच्न सिकायौ… र अन्त्यमा रित्याएर गयौ ।

