साहित्यपोस्ट डट कम

कथा: आँशुदेखि उज्यालोसम्म

कथा: आँशुदेखि उज्यालोसम्म

सफलता सजिलै प्राप्त गर्न सकिँदैन । असंख्य आँशु, संघर्ष र अडिग आत्मसम्मान सहितको संकल्प भए मात्र तय हुन्छ आँशुदेखि उज्यालोसम्मको यात्रा ।

===

-हेलो ! के म कल्पनाजीसँग बोल्दैछु ?

१० बजेसम्म नित्य कर्म सकेपछिको केही समय चियाकप र किताबसँगको मिठो सामिप्यतामा बित्ने गरेको थियो । नचिनेको नम्बरको कलबाट भएको सम्बोधनले कल्पना झस्किई ।

-हजुर हो, को बोल्नुभएको ?

– नमस्कार कल्पनाजी !

म “उद्योग तथा वाणिज्य कार्यालय” बाट बोल्दैछु, सर्वप्रथम त तपाईंलाई बधाई छ, यस वर्ष ‘सफल महिला उद्यमी’ का रूपमा तपाईं छनोट हुनुभएको छ । जेठ १५ गते आयोजना हुने कार्यक्रममा तपाईंलाई सम्मान गरिँदैछ, कृपया उपस्थित भइदिनुहोला ।

-हजुर, नमस्कार..के भन्नुभएको सर ..अलि स्पष्ट भएन ।

उताबाट त्यही कुरा दोहोरियो अनि यही जेठ १५ गते हुने कार्यक्रममा आउनका लागि निमन्त्रणा दिँदै संवाद टुंगियो ।

कल सकिएपछि पनि कल्पनालाई वास्तविकतामा आउन गाह्रो परेको थियो । उसलाई विश्वास लागिरहेको थिएन कि ऊ ‘सफल महिला उद्यमी’ शीर्षकमा सम्मानित हुँदैछे ।

ऊ सोचमग्न भई । मैले त्यस्तो के नै गरेकी थिएँ र ? २०/२५ जना महिलाहरूलाई रोजगारी दिएकी चाहिँ हुँ । त्यति ठूलो लगानी गरेकी पनि छैन । आफ्नै व्यावसाय गरेर आफ्नो जीविकोपार्जन गरिरहँदा पनि पुरस्कृत भइँदो रहेछ । होइन- राज्यव्यवस्था साँच्चिकै फेरिएको हो र ? हामीजस्ता साना उद्यमीहरूसम्म सकारात्मक नजर पुर्याउन सक्ने संयन्त्र पनि छन् र नेपालमा ? ऊ असमञ्जसमा परेकी थिई । कल्पनासँग ताजै थियो- एक्स्पोर्टका लागि प्रक्रिया गर्दा पाएको दुःख अनि चियाखर्च नदिएसम्म काम नहुने सम्मका कुराहरू । तर ऊ अडिग थिई ।

“ढिलो होस्, तर बाटो गलत नहोस् ।”

धेरै दिनको धपेडीपछि, अन्ततः उसकै जिदले काम सफल भएको थियो ।

त्यो दिन उसले महसुस गरेकी थिई,

“सही बाटो कठिन हुन्छ, तर सम्भव हुन्छ ।”

यस्ता खाले अफ्ठ्याराहरू त कति भोग्नुपर्यो, हिसाब गरेर साध्य नै छैन । एक्लो महिला अनि एक्स्पोर्ट सम्मको कारोबार भड्काउन खोज्नेहरूको कमी थिएन । आजकल केही वर्ष भयो- अलि सन्तोषको सास फेरेकी छ । व्यवसायले एक किसिमको लय समातेको छ तर जीवनले ? अहँ ! उसलाई कत्ति पनि आनन्द लागेको थिएन-आफ्नो एक्लो जीवनको दैनिकी ।

तथापि कहालीलाग्दो विगतका अगाडि अहिलेको यो जीवन सपना हो कि झैं लाग्थ्यो, बेलाबेला अविश्वास गर्थी आफैँलाई ।

बिहे भएको १४ वर्ष बितिसक्दा पनि बच्चा भएको थिएन । श्रीमानको कारणले बच्चा हुन नसकेको कुरा श्रीमान् श्रीमतीलाई थाहा भए पनि घरपरिवारमा थाहा थिएन । रमेशले वाचा गराएको थियो- घरमा कसैलाई पनि नभन्ने । कल्पना पनि आफ्नो भाग्यमा सन्तानको मुख हेर्न नलेखेको रहेछ भनेर मन बुझाउँदै आएकी थिई । सन्तान नहुनुको एउटा पीडा भए तापनि सम्बन्ध राम्रै चलिरहेको थियो ।

पछिल्लो अवस्थामा श्रीमान् रमेश बिस्तारै मदिराको लतमा हराउन थालेको थियो । कल्पनाले नखानका लागि अनुरोध गरिरहन्थी । “अफिसको प्रेसरले हो, थोरै मात्र पिएको ”

ऊ हरेकपटक बहाना बनाउँथ्यो ।

तर त्यो “थोरै” ले प्रत्येक दिन राक्षसी रूप लिँदै जान थाल्यो । यता घरमा परिवारबाट छुट्टै खालको टर्चर थियो कल्पनालाई- बाँझी, अलच्छिनी… घर छोडेर गए पनि छोराको अर्को बिहे गरिदिन्थ्यौँ भनेर सासूले अपशब्दहरूको बर्सात् गरिरहन्थिन् । मादक पदार्थको लत लागेको लोग्ने र आँखाको कसिंगरझैं गर्ने परिवारमा बितेको १४ वर्ष कल्पनाका लागि कुहिरोभित्र रुमल्लिएको कागको झैं थियो ।

शारीरिक कुटपिट, मानसिक यातना, यी सबै कल्पनाको दैनिकी बनिसकेका थिए ।

सम्बन्ध बचाउनका लागि यो सबै सहनुको विकल्प थिएन ।

रमेशको मनमा डर थियो कि कल्पना कुनै कारणवश अन्य पुरुषसँग नजिक भई भने आफूलाई छोड्न सक्ने आधार भएको उसको मनले ठहर गरेको थियो जसका कारण कल्पनाले बोर्डिंग स्कुलको जागिर छोड्नुपरेको थियो ।

तर एक रात, रमेशको निर्घात कुटाइबाट बेहोस कल्पना अस्पतालसम्म पुग्नुपर्यो ।

त्यहीँबाट उसको जीवनले नयाँ मोड लियो ।

माइतीमा आफ्नो पीडाको छनकसम्म दिन नखोज्ने कल्पनाको त्यो घटनापछि विगतमा भोगेका सबै पीडादायी अतीतहरू छरपष्ट भएका थिए । जसका कारण कल्पनाको दाइले हस्पिटलबाटै एक मिनेट पनि त्यो घरमा नबस्ने निर्णय सुनाएका थिए र डिस्चार्जपछि सिधै माइतीमा लगेका थिए । बच्चा हुन सकेन त त्यसमा कल्पनाको के दोष ? डाक्टरले उसको सबै जाँच गरेर आमा बन्न सक्ने ठहर गरेकै थिए । निर्दोष हुँदा हुँदै पनि दिनकै यति धेरै शारीरिक, मानसिक यातना सहेर कसरी बसेकी होला कल्पना ।

ढिलै भए पनि कल्पनाको जीवनमा मसिनो उज्यालो त्यान्द्रो भित्रिएको थियो । मेहनती र लगनशील कल्पना अब जीवनमा कसरी अगाडि बढ्ने भनेर सोचिरहन्थी । माइतीमा सधैँ बसिरहेर पनि हुँदैन भन्ने उसले राम्ररी बुझेकी थिई । असाध्यै माया गर्ने दाजु भाउजू, अन्य परिवारका सदस्यहरूसँगको सल्लाहपश्चात् कल्पनासँग भएको सीप र क्षमताको उपयोग गर्दै खडा भएको थियो- कल्पना फुड प्रोसेसिंग एण्ड प्याकेजिङ इन्डष्ट्री ।

कल्पनाको मेहनत र लगनशीलताका कारण छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा समेत उद्योगले नाम कमाउन पुगिसकेको थियो । स्थानीय खाद्यवस्तुहरू संकलन गरी रिफाइनिङ र प्याकेजिङपश्चात् अचार, गुन्द्रुक, मस्यौरा, मकै, भटमास, बोडी जस्ता गुणस्तरीय उत्पादन सरकारको सबै मापदण्ड पूरा गरी गुणस्तर ट्यागसहित बजारमा पुगिरहेका थिए ।

“जीवन संघर्षहरूको गोदाम हो” तर कर्मप्रति निरन्तर लगनशील हुनेलाई सफलताले पनि पछ्याउँदै आउने रहेछ । लाग्थ्यो, उसका आँखाबाट आजसम्म खसेका अनगिन्ती आँशुहरू पनि अब कल्पनाको अनुहारको खुशी हेर्न आतुर छन् ।

हस्पिटलबाट आएको दिनदेखि त्यो घरमा पाइला टेकेकी त थिइन तर पनि १४ वर्ष बिताएको घरको झल्को बेलाबेलामा आइरहन्थ्यो । घर फर्किनका लागि धेरैपटक खबर पनि आइरहेको हुन्थ्यो । कच्चा उमेरमै आफू भित्रिएको घर छोडेर यसरी एक्लै बस्नुपर्दा मन भित्रबाट खुशी पलाएको थिएन । यो कुरा दाइसँग पनि गरिरहन्थी । दाइले “पहिले आफ्नो खुट्टामा उभिन सक्ने बन अनि सोचौंला” भन्थे ।

उसका श्रीमान पढेलेखेको सरकारी जागिरे भए तापनि रक्सीले बिग्रिएका थिए । हुन त रक्सी नखाएको बेला सम्झाउने पनि गर्थ्यो- पीर नगर कल्पना, हाम्रो बच्चा भएन भने पनि कतै असहाय बच्चाहरूको पालनपोषण गरौंला र आफ्नो बच्चाको चाहना पुरा गरौंला ।

साँच्ची नै आफू सक्षम हुँदै गएपछि ५ जना त्यस्तै बच्चाहरूको सम्पूर्ण जिम्मेवारी उठाइरहेकी पनि थिई कल्पनाले ।

मंगलबारको दिन, बिहानै उठेर नुहाइधुवाइ सकेपछि गणेशजीको पूजा अर्चना गरी । मंगलबार सधैँ व्रत बस्ने गरेकी थिई । दुध चिया बनाई अनि बाहिर राखिएको मिनी डाईनिंगमा बसेर मोबाइल हेर्दै चिया पिउँदै थिई । अननोन नम्बरबाट ४ मिसकल आएको रहेछ । फेरि पनि उही नम्बरबाट कल आएपछि रिसिभ गरी ।

-थ्यांक यू कल्पना, कल उठायौ

एकैपटक ‘तिमी’ भनेर संबोधन गरेकाले झनक्क रिस उठ्यो र झर्किंदै भनी

-को हो तपाईं ? किन थ्यांक यू ?

-कल्पना प्लिज फोन नकाट है, म रमेश हो ।

कल्पनालाई झस्किई । कल काटिदिन्छु सोच्दै थिई- “कल्पना, म पहिले जस्तो छैन । म सुध्रिएको छु । तिम्रो अगाडि बसेर माफी माग्न चाहन्छु । के एकपटक फेरि मलाई विश्वास गर्न सक्छ्यौ ?”

कल्पनालाई भित्रभित्रै रमेशको माया नलागेको पनि हैन । बेला बेला सम्झिन्थी । एकपटक भेटौं कि भन्ने मनमा आएको पनि थियो । छुट्टै बसेको ६ वर्ष बितिसक्दा पनि उसले अर्को बिहे गरेको थिएन । जोसँग पनि कल्पनाको हालखबर सोधेको कुरा उसले सुनेकी थिई । तर पनि कलमा सिधै ‘हुन्छ’ भन्न सकिन । “एक घन्टापछि कल गर्नू” मात्र भनेर कल राखिदिई ।

आफूलाई पीडाबाट मुक्त गराएर नयाँ जीवन दिने दाइसँग सल्लाह लिन्छु, सोचेर दाइलाई कल गरी ।

दाइले सहजै भने- समय सधैँ एकनास हुँदैन बहिनी, राम्रो कुराहरू नै सुनिन्छ आजभोली ज्वाईंको बारेमा । एकपटक मौका दिऊँ भन्छु है मैले त ।

५० मिनेटमै रमेशको कल आयो । “भोली दाइकोमा आउनू, त्यहीँ कुरा हुन्छ” यति मात्र भनेर कल राखी ।

रमेशको आँखामा पहिलोपटक साँचो पछुतो देखिएको थियो ।

“म गलत थिएँ, मैले गरेको गल्ती माफीको लायक त छैन । म अगाडिका दिनहरूमा कहिल्यै पनि गल्ती नदोहोराउने वाचा गर्छु कल्पना । प्लीज माफ गरिदेऊ न”

उसले टाउको झुकाउँदै भन्यो ।

कल्पनाले केही क्षण उसलाई हेरी ।

त्यो मौनताले १४ वर्षको इतिहास बोलेको थियो ।

अन्ततः उसले भनी, “हेर्नू रमेश, तपाईंले मलाई जे गर्नुभयो, त्यही कारण नै मैले संघर्षलाई साथी बनाएँ र आज यो ठाउँमा छु । मलाई पीडा एउटा कुरामा मात्र हुन्छ कि तपाईंमा भएको शारीरिक कमजोरीको सजाय बिनाकारण मैले भोग्नुपर्यो । समयले यति फड्को मारिसक्यो कि मेरा लागि मेरो कर्म भन्दा अरू कुरा मिहिन लाग्छन् । माफ गर्छु… तर यो भन्दा अगाडि के हुन्छ भन्ने कुरा म अहिले निर्णय गर्दिनँ ।”

आज जेठ १५

अस्तिसम्म कालो बादल मडारिएको आकाश आज कञ्चन निलो देखिएको छ । टेलिभिजन, पत्रपत्रिका, अनलाईन सबै सञ्चारको आकाशभरि जताततै सफा बादलको रूपमा छाएकी छ कल्पना । उत्कृष्ट महिला उद्यमी बनेर ।

स्टेजमा उभिएकी कल्पना मुस्कुराउँदै आफ्नो मन्तव्य राखिरहेकी थिई !

“सफलता सजिलै प्राप्त गर्न सकिँदैन । असंख्य आँशु, संघर्ष र अडिग आत्मसम्मान सहितको संकल्प भए मात्र तय हुन्छ आँशुदेखि उज्यालोसम्मको यात्रा ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.