साहित्यपोस्ट डट कम

कथा: अनिश्चित यात्रा

कथा: अनिश्चित यात्रा

ए माइती राजा, यो बाहुनी नानीलाई हावामा महल बनाएर राख् अब । म सक्दिनँ ह्याँ राख्न तैँले घिसारे जतिलाई । अब राख् आफ्नै दरबारमा । घुमा काठमाडौँ सहर आफ्नै मोटरमा राखेर, धित मरुन्जेल ।

===

धरामा तातो घाम लागेर भर्खर न्यानो न्यानो हुँदै थियो । सडकमा मोटरगाडीका ट्याँट्याँ र टूँटूँका आवाज कानमा गुन्जिरहन्थे । बिदाको दिन भएकाले घामले धर्तीलाई पछ्यौरी ओडाइदिनसाथ राजधानीका निकेतनका छतमा मानिसहरू टुप्लुकिन्थे । मंसिरको नयाँ चिसो बिहानले शरीरमा अनौठो चाल पैदा गर्थ्यो । यद्यपि बारबार घामको उष्णताले नै जितेको अनुभूति गराउँथ्यो । अन्तत: त्यस दिनको बिहानीले घमाइलो दिनको संकेत गर्यो ।

राजधानीको कुसुन्ती हाइटको एक घरको छतमा दुई मन भलाकुसारी गर्न खोजिरहन्थे । एउटा मनको आत्मा आत्तिएको, डराएको र काँपेको थियो भने अर्को मनको आत्मा रिसले परिछन्न भएको थियो । पछि थपिएको अन्तिम मनको आत्मा चैँ लाचार र निरीह । एउटा मनले अर्को मनलाई खोतालखातल गर्न खोज्थ्यो, अर्को मन ती कुराहरू नखोतालिदिए हुन्थ्यो भनिरहन्थ्यो । ऐजन ऐजन ।

तेस्रो पटकको कठोर कदम चाल्नुअघि सोच्छु- मर्नु भनेको आफू सकिनु मात्र होइन नि, दुनियाँलाई आफू कति कायर र लाछि रहेछु भन्ने कुराको प्रमाण दिनु पनि त हो । म किन तत्पर हुनु यति चाँडै मर्न यो पाशविक दुनियाँको सामु ? म डटेरै लड्छु नि । यति गर्न पनि सकिनँ भने, म कतै आफूलाई हराइदिन्छु नि । बरु कोलकता जान्छु र उतै भासिन्छु । या बम्बइ पुग्छु, पेट पाल्ने काम पनि कसो नपाइएला ।

अब को छ र मेरो आफन्ती यहाँ ? जो जो भेट्छु सबै स्वर्थपूर्तिका लागि सम्बन्धको धागो उन्नेहरू । कोही आफ्नो र विश्वासिलो लाग्दैन यहाँ । हुन त म आफू सग्ली वा कुमारी पनि त होइन । कुनै पुरुषको जीवनभरिको विश्वासिली पात्र बन्न कहाँ सकेँ र म पनि ? म त दुई पतिसँग पनि घरबार बनाउन नसकेकी एक अधबैँसे आइमाई पो हुँ त । यी त मेरा तेस्रा पति । म आफूबारे यथार्थको पोको खोल्दै विश्वास गरेर कसैलाई आफू जिम्मा लाइदिन्छु । तर, मलाई पतिबारे पछि मात्र नयाँ ज्ञात हुन आउँछ । यसप्रकार, म बारबार दुर्घटित हुन्छु । त्यसपछि त मलाई बाँच्नुभन्दा मर्न मन लाग्छ । मर्नभन्दा भाग्न मन लाग्छ । भागेर कतै टाढा पुगेर गुमनाम हुन मन लाग्छ । अल्पिन मन लाग्छ आफूलाई ।

कसले पो बुझ्न सक्यो र मलाई ? न माइतीले; न घरकाले । दाजुभाइ छैनन् । दिदी एउटी हो । कुनै दिन त्यसको घरमा टेक्यो भने “यस्तो बेइज्जती भएर चैँ नहिँड् है” भन्दै रिसाउँछे । सारै चित्त दुखाउँछे । मन दुखाउनकै खातिर म किन जानु त्यसको घर ?

माइती ? कुन माइती ? जब डाक्टरको लापरबाहिले गर्दा दश वर्षअघि आमाको ज्यान गयो, त्यसपछि नै हो, मैले बाटो बिराएको । जसले सोधे पनि म यही भन्छु । दुनियाँले देखेको कुरा म किन नभन्नु ? भन्छु नि ।

साला ! आमा हुँदा के थिएन मसँग । “आमै पानी लेइदेऊ न तिम्री कान्छी छोरीलाई” भन्दा “उठ् नसे” भन्दै “कुन पानी ?” भनेर सोध्नुहुन्थ्यो । पोल्टाभित्र च्यापेका खानेकुरा ओल्टाइपल्टाइ थुतेर भएपनि खान्थेँ । मागेको पैसा दिन्थिन् । जहाँबाट भएपनि सबै कुरा पनि जुगाड गर्थिन् आमैले, केवल मेरा लागि । चिन्ता, चासो, माया र ममता ! जीवनमा के चाहिन्थ्यो अरु ? एउटा ठूलो छहारी थियो । बुबाको ऊर्जा थियो । दिदीको साथ थियो । थियो आफन्तको माया । अरु के चाहियो ?

कति सजिलै ती सारा खुसीहरू छिनभरमै लुटिदियो नियतीले । अब मसँग अनगिन्ती सम्झनाका पोकाहरू मात्र छन् । फुर्सदमा एक एक गरि पोकाहरू फुकालौँ भन्छु तर फुर्सदै कहाँ पाएँ र मैले ? चिनारुहरूको नजारमा ‘पति फेरुवी’ बनेकी छु म । मलाई यस्तै हुन लेखेको रै’छ । समाजले नै मलाई अर्कै दर्जा दिइसकेपछि म स्वीकार्दै हिँड्ने बानी परिसक्यो, जहाँसम्म पुग्छु ।

“कति एकोहोरी भा’की नव दुलही ? यसो बोल न केही त । आज मेरो पनि छुट्टिको दिन । भोलिदेखि एक हप्ता सँगै बसेर घाम ताप्न पाइँदैन ब्यारे ! साँच्चै भदासँग भेट हुनुभन्दा अघि चैँ तिमी कहाँ बस्थ्यौ रे ?”

उहाँ नयाँ फूपू ! सोध्न थालिन् अनेक अनेक प्रश्न । मलाई मेरो विगत सोधेको पटक्कै मन पर्दैन ।

“त्यै त हो फुपू, जब आमाले छोडेर जानुभयो, मैले पनि छोडेँ घर । बुबाको माया पहिलेजस्तो पाउनै छाडेँ । कान्छी आमासँग कुरै मिलेन । दिनैपिच्छे तिनको अपवित्र गाली खानुभन्दा त…..बरु…!”

“सुन्नु न, तपाईंको भदा कता जानुभयो के अचानक ? अहिलेसम्म आइपुग्नुहुन्न त ?”

“नानी हेर्दा त सानै देखिन्छौ । तिमीले भरतको बारेमा सबै बुझेर आएकी त हौ नि ?”

कुन कुरा बुझ्न बाँकी छ र तिम्रा भदाको ? दुईटी स्वास्नीको पोइ त हो । काठमाडौँमा घर, गाडीघोडा छ भनेर मलाई फकाइहाल्यो । मलाई झुक्याएर भड्खालोमा हाल्यो तिम्रो भदाले । एउटा सरल परिवारको बाहुनसँग म रमाइरहेकै थिएँ । बिचरो ! गाउँमा पुरेत्याइँ गरेर भएपनि मेरो इच्छा र चाहनाहरू पूर्ति गरेकै थियो । अति सोझो थियो मोरो । नचाइनचाइ बसेको थिएँ । यो जुनीमा यो ज्यानलाई सुख लेखेको रैनछ बरै । थुक्क जिन्दगी !

“अँ, म त एकोहोरो पो भएछु बै । भन्नु न, भरतको पहिलेकीसँग पारापाचुके भैसक्यो कि छैन ? केटाकेटी त भाका छैनन् भन्नुहुन्थ्यो । के थाहा फुपू, फकाउन चार चौरासी कुरा गर्छन् अचेलका पुरुषहरू । मलाई त एक रत्ती विश्वास लाग्दैन भन्या !”

मेरो कुराले फूपू काकताली चकित देखिइन् । मलाई तलदेखि माथिसम्म नियाल्दै र एकोहोरो भएर हेर्दै एकछिनपछि मुख खोलिन्, “ए तिम्रो पनि दोस्रो बिहे पो हो ? मैले त कन्ने केटी सोचिराथेँ ।”

नापियो तिम्रो भदाले कन्ने केटी पाउन त ! कन्ने कुमारी पाउन त तिम्रो भदा पनि कन्ने कुमार हुनुपर्यो नि । फेरि बानी व्यहोरा र लतसङ्गत थाहै होला नि । ह्या ! किन सबै बताउनु र यिनलाई अहिले ?

“होइन नि फुपू ! दोस्रो हो नि । उसलाई सबै थाहा छ । हेर्नु न, म त हजुरको भदाको मायामा निर्लिप्त भएँ, नभेटी र नदेखिकनै । एक्कासी सदरमुकाम आएर “हिँड काठमाडौँ जाऔँ” भन्नु भो । कुराकानी पनि धेरै भएको छैन, त्यै तीन/चार महिना अघिदेखि त हो । घर छ, गाडी छ, चैनसँग पाल्छु भन्नुभो । मलाई पनि सपना जस्तै लाग्यो । हाम फालिहालेँ फुपू ।”

“हरे शिव !” फुपूले लामो सुस्केरा हालिन् र माथि आकाशतिर हेरेर एकोहोरिइन् । कुन्नि के भनिन् उनले त्यसपछि, सुनिएन उनका कुरा । दुई ओठ मात्र नि:स्वरमा हल्लिरहे, क्षितिजतिर विचरण गर्दै ।

“उ: आइपुग्यो काठमाडौँमा घमासान छाँटले बसेको तिम्रो बुडो भरते ।” फुपूले आँखा पूर्वतिर बटारिन् । कपाल थोरै थोरै खैरो रंगले टल्काएको, कानमा मुन्द्रा लगाएको, जिन्सको पाइन्ट र सर्ट परिधान गरेको र हरिया चप्पलमा एक्कासी देखियो भरत पाडेँ उर्फ भरते ।

उनी आइनपुग्दै फुपू रिसले पड्किइन्, “ए माइती राजा, यो बाहुनी नानीलाई हावामा महल बनाएर राख् अब । म सक्दिनँ ह्याँ राख्न तैँले घिसारे जतिलाई । अब राख् आफ्नै दरबारमा । घुमा काठमाडौँ सहर आफ्नै मोटरमा राखेर, धित मरुन्जेल । खुवा राजसी खान्की र लगाइदे बनारसी साडी ।”

एकै क्षणमा उठेर पुन: थप्छिन्, “आइमाइका जात ! थुक्क ! हुन त भगवानले जस्तालाई त्यस्तै जुराइदिन्छन् भन्थे । तीनटी बुढी छोडेको पतिले दुई बुढा छोडेको श्रीमती पाएछ ।” उनी कण्ठ बजाएर घ्वाँ गर्दै एउटा कुनामा थुकेर तल्तिर झरौँला जस्तो गरिन् ।

“तिन्टीलाई त राम्ररी बिदा गरिस् । अब यिनलाई पनि के गर्छस् ? ठूलै भाग खोजेर आकी रैछिन् बरा !” यति भनेर फुपूका आँखा नव दुलहीतिर बटारिए । नव दुलहीका आँखा भुइँतिर । भरतका आँखा बाहुनीतिर ।

एकदम निरीहताको वातावरणले वरपर घेरेजस्तो भयो भरतलाई । उसको मुटुलाई लाचारताको आभासले झनझन धड्कायो र त्यस अवस्थालाई थुचिदिन उसले पनि आफ्ना दृष्टि अविछिन्न भुइँतिर पारिदियो । र, फूपू गएपछि आफ्नी दुलहीलाई भन्यो, “ल छिटो हिँड जाऔँ मंगलबजार, त्याँ एउटा कामको बारेमा इन्तजाम गरेर आएको छु अहिले ।”

फुपू खुई गर्दै तल झरिन् । उनी ओझेल पर्ने बितिक्कै नव दुलही कड्किइन्, “एक, दुई, तीन, म चैँ ह्याँ बस्न सक्दिनँ । तिम्रो फुपू यस्ती होलिन् भनेर मैले सोचेकी पनि थिइन । फेरि कति कुरा चैँ ढाट्न सकेको रैछौ त तिमीले बाफ्रे ! भन्थ्यौ- एउटीले छोडी । फुपूका अनुसार तीन तीनजनासँग कसेको रैछौ गाँठो । हो रैछौ मान्छे त तिमी ।”

भरत रातोपिरो भयो र छिटोछिटो भन्यो, “लु लु नबोली हिँड् न तल । झोला पनि बोक् । बिदा पनि माग् ।”

उनीहरू एउटा प्लास्टिकको ठूलो जेब्रा झोला बोकेर लागे मंगल बजारतिर । फुपूले भदालाई हिँड्ने बेलामा आकाशतिर पुकार्दै भनिन्, “भगवान ! अब चैँ बुद्धि फिरोस् गु खाने भदाको ।”

नव दुलहीले पतिको पछिपछि सन्देहपूर्ण र अनिश्चित यात्रामा आफ्ना पैताला छिटोछिटो लम्काइन् । बाटामा उनको मनमा खेलिरहे फुपूले बोलेका प्रत्येक वाक्यहरू ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.