साहित्यपोस्ट डट कम

कथा : अधुरो पूर्णता

कथा : अधुरो पूर्णता

भारतको सबैभन्दा दक्षिणी तट एवं पवित्र धार्मिक स्थल कन्याकुमारीमा ‘पुथनभेदु गोपालन’को जन्म भयो । आमाबुबाको माया, दुई दिदीको स्नेह र एक दाजुको संरक्षणको घेराभित्र उनी हुर्किए । त्यो परिवारमा गोपालन केवल कान्छो छोरामात्र थिएनन्; उनी आशा थिए, मुस्कान थिए, परिवारको धड्कनमा थपिएको नयाँ लय थिए ।

जुन बेला कन्याकुमारीको किनारमा गोपालनका साना पाइलाहरू स-साना समुद्री लहरसँग खेल्न थालेका थिए, ठीक त्यही बेला नेपालको सिन्धुलीगढीको एउटा घरमा पनि खुशीले ढोका ढकढक्यायो । घरको एउटा कुनामा नवजीवनको पहिलो रुवाइसँगै एक कन्याको आगमन भयो- ‘कुमारी’। आमाबाबुको पहिलो सन्तान भएकाले उनले पनि भरपूर माया पाइन् ।

गोपालन र कुमारीको बाल्यकाल र शिक्षा-दीक्षा आ-आफ्नै ढङ्‍गले अघि बढ्यो । गोपालनका कानमा सानैदेखि तमिल भाषाका मधुर ‘थिरुक्कुरल’का श्लोक र समुद्री छालहरूको गर्जन गुन्जिए । उनको संसार नरिवलका बोटहरू, इडली–साम्भरको सुगन्ध र हिन्द महासागरको अनन्त क्षितिजमा सीमित थियो ।

अर्कोतर्फ, नेपालको ऐतिहासिक सिन्धुलीगढीको फेदमा कुमारी हुर्किरहेकी थिइन् । सिन्धुलीका उकाली-ओराली पार गर्दै उनले नेपाली लोकभाका र पञ्चेबाजाको धुनमा आफ्नो बाल्यकाल बिताइन् । गुराँसको लाली र कोदोको ढिँडोको स्वादले उनलाई संस्कार दियो । उनको भाषामा पहाडको शालीनता झल्किन्थ्यो ।

एकातिर हिन्द महासागरको गहिराइ अनि अर्कोतिर हिमालयको उचाइ । समयको चक्रले दुवैलाई अमेरिकाको न्यूयोर्क शहरस्थित कोलम्बिया विश्वविद्यालयमा ल्याइपुर्‍यायो । जीवविज्ञानमा पीएचडी अध्ययनरत गोपालन र जीवविज्ञानमै मास्टर्स पढिरहेकी कुमारीबीच विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी सङ्‍गठनले आयोजना गरेको एउटा ‘इन्टरनेशनल नाइट’ मा पहिलो भेट भयो ।

त्यो जमघटमा जब गोपालनका आँखा कुमारीसँग जुधे, समय एकाएक टक्क अडिएझैँ भयो । कोलाहलपूर्ण हलको भीडभाडबीच गोपालनका लागि सारा संसार कुमारीको सुन्दरतामा खुम्चिएको थियो । कुमारीको रातो सारी, निधारको टीका र लजाउने शैलीले उनलाई कन्याकुमारीका मन्दिरका मूर्तिहरूको याद दिलाए ।

कुमारीले शुरुमा त केही पत्तो पाइनन् । जब थाहा पाइन्, उनलाई गोपालनको शान्त स्वभाव र गहिरो आँखामा सिन्धुलीगढीको उचाइबाट कल्पना गरिने विशाल समुद्रको नीलो प्रतिबिम्ब झल्किएको भान भयो । त्यो छोटो संवादमा शब्द कम र भावना बढी थिए । उनीहरूबीच फोन नम्बरमात्र होइन, एउटा मीठो आशाको पनि आदानप्रदान भयो ।

भेटघाट बाक्लिन थाल्यो । मर्निङसाइड हाइट्सका क्याफे र रेष्टुरेन्टहरू उनीहरूको सामीप्यताका साक्षी बन्दै गए । भाषा फरक थियो, खानपानको स्वाद र हुर्किएको परिवेश पनि अलग थियो । तर, अनेकौँ भिन्नताका बाबजुद गोपालन र कुमारीबीच एउटा यस्तो अदृश्य सम्बन्धको सेतु बन्यो, जसको आफ्नै मौलिक भाषा थियो । त्यो न गोपालनको तमिल थियो, न त कुमारीको नेपाली ।

विश्वविद्यालयको पुस्तकालय र क्याफेटेरियामा टर्म पेपरमात्र होइन, डिसर्टेसन र थेसिसका पानाहरू पनि उनीहरूले सँगै कोरे । यसरी एकसाथ अध्ययन गर्दा पढाइको भार हलुका भयो, अनि त्यो सम्भावित जोडीको सम्बन्ध पनि क्रमशः प्रगाढ बन्दै गयो ।

ग्य्राजुएसनपछिको समय उनीहरूका लागि सपना र सङ्‍घर्षको दोभानजस्तै बन्यो । डिग्री हातमा त थियो, तर भविष्यका बाटाहरू दुई अलग दिशातिर मोडिएका थिए । गोपालनले आफ्नो ‘पोस्टडक’ का लागि मिनेसोटा राज्यको निम्तो स्वीकार गर्नुपर्‍यो । कुमारी भने रिसर्च असिस्टेन्टको जागिर पाएर नर्थ क्यारोलाइनाको डुरहम शहर जाने भइन् ।

जागिरको दूरी बढे पनि उनीहरूको मनको दूरी भने मेटिइसकेको थियो । मिनेसोटा र नर्थ क्यारोलाइनातर्फ उड्नुअघि उनीहरूले जीवनको अभिन्न हिस्सा बन्ने अठोटसहित लगनगाँठो कस्ने निर्णय गरे ।

त्यो बिहान न्यूयोर्कको व्यस्तताभन्दा निकै शान्त र आध्यात्मिक थियो । ब्रूम स्ट्रिटमा अवस्थित गणेश मन्दिरको वातावरणमा एउटा भिन्नै सुगन्ध थियो । शायद त्यो विश्वास र नयाँ जीवनको सुगन्ध थियो । गोपालनले भेष्टी (धोती) लगाएका थिए भने कुमारी रातो बनारसी साडी र तिलहरीमा सजिएकी थिइन् ।

न त्यहाँ जन्ती थिए, न भत्खौरे । कन्यादान दिने पनि कोही थिएन- थिए त फगत दुलहा-दुलही ।

पुरोहितले वैदिक मन्त्रोच्चारणका साथ सबै कर्मकाण्ड सम्पन्न गरिदिए । मन्दिरको आध्यात्मिक मिलनलगत्तै उनीहरूले अमेरिकाको नियमलाई पनि सम्मान गरे । सोही दिन अदालत पुगेर आफ्नो वैधानिक विवाह दर्ता गरे ।

भोलिपल्टै बाटो छुट्टियो ।

न्यूयोर्कका ती जीवन्त भेटघाटहरू अब भिडियो कलको प्रतीक्षामा खुम्चिए । फोनको स्क्रिनमा देखिने कुमारीको मुस्कानले गोपालनको प्रयोगशालाको थकान मेटाइदिन्थ्यो, अनि गोपालनले सुनाउने तमिल गीतका हरफहरूले कुमारीको ल्याबका लामा रिपोर्टहरूमा रङ भरिदिन्थे ।

लामो छुट्टी हुनासाथ उनीहरूको भेटघाटको शृङ्खला कहिले कुन शहर त कहिले कुन कुनामा ठोक्किन पुग्थ्यो । भूगोलले दूरी बढाउन खोजे पनि दुवैले हरेक अवसर र चुनौतीलाई आफ्नो सामीप्यको घेराभित्र समेट्दै लगे ।

अमेरिकाको समय छिटो-छिटो बगिरहेको थियो । वर्षौंको प्राज्ञिक तपस्याले फल दियो । दुई वर्षपछि गोपालनले मिनेसोटा राज्यको म्यानकेटोस्थित एउटा प्रतिष्ठित विश्वविद्यालयमा प्रोफेसरको जागिर पाए । त्यो केवल एउटा जागिरमात्र थिएन, दुई अलग-अलग शहरमा बाँडिएका उनीहरूको जीवनलाई एउटै छानोमुनि ल्याउने एउटा सुनौलो अवसर थियो । किनकि विश्वविद्यालयले कुमारीलाई पनि त्यहीँकै एक रिसर्च सेन्टरमा जागिर दियो । ती जोडीले घर र गाडी किने, सँगै ‘अमेरिकन ड्रिम’को त्यो रङ्‍गीन सपनालाई पनि बिस्तारै आफ्नै जीवनमा मूर्त रूप दिन थाले ।

मिनेसोटाको त्यो कठ्याङ्ग्रिने हिउँद । बाहिर हिउँको सेतो बर्को ओढेका रूखहरू हुन्थे, तर घरभित्र भने सधैँ न्यानोपन हुन्थ्यो । घरमा कहिले डोसा बन्थ्यो, कहिले सेलरोटी पाक्थ्यो । गोपालन तातो सिन्धुलीको गुन्द्रुकको झोलमा रमाउन थाले भने कुमारी कन्याकुमारीको ‘रसम’ मा मन्त्रमुग्ध भइन् ।

कन्याकुमारीको तातो बालुवामा जन्मिएको ठिटो र सिन्धुलीगढीको चिसो हावापानीमा हुर्किएकी केटीको प्रेमले प्रमाणित गरिदियो- भाषा, संस्कृति र भूगोल कहिल्यै मनभन्दा ठूला हुँदैनन् । जब मन मिल्छ, संसार आफ्नै गाउँघरझैँ लाग्छ ।

सन् २०२० मा विश्व नै एउटा अदृश्य पर्खालभित्र थुनिन पुग्यो । त्यहीबेला कुमारीको जीवनमा भने एउटा नयाँ र चुनौतीपूर्ण अध्यायको आरम्भ भयो । कोभिड महाव्याधि र बाहिरको सुनसानका बीच उनले आफ्नो पीएचडी शुरु गर्ने साहस गरिन् । घरको एउटा कुनामा उनको सानो डेस्क थियो, जहाँबाट उनी जुममार्फत् आफ्ना प्रोफेसरहरूसँग संवाद गर्दै अनगिन्ती रिसर्च पेपरहरूमा घोत्लिन थालिन् ।

समय बित्दै गयो । सन् २०२३ सम्म आइपुग्दा कुमारी आफ्नो डिसर्टेसनको अन्तिम चरणमा पुगिसकेकी थिइन् । ल्याबका अनगिन्ती घण्टाहरू, तथ्याङ्‍क विश्लेषण र लेखनको दबाब । उनको सङ्‌घर्ष मौन तर दृढ थियो ।

अर्कोतर्फ गोपालनको प्राज्ञिक उचाइले पनि नयाँ इतिहास रच्दै थियो । म्यानकेटोको विश्वविद्यालयमा उनी प्रोफेसरमात्र रहेनन्, प्रतिष्ठित वैज्ञानिक र अनुसन्धानकर्ताका रूपमा स्थापित भए । सन् २०२३ सम्म आइपुग्दा उनका उपलब्धिहरूले राज्यभरि नै चर्चा पाउन थाल्यो । उनले एकपछि अर्को प्रतिष्ठित पुरस्कार जित्दै गए ।

त्यसै वर्ष स्थानीय टेलिभिजन च्यानलले उनको सफलताको कथा समेट्दै एउटा विशेष फिचर प्रसारण गर्‍यो । उनको कार्यकक्ष, उनका रिसर्च पेपरहरू र विश्वविद्यालयको हलमा उनले दिने प्रेरणादायी लेक्चरहरू क्यामेरामा कैद गरिए । कार्यक्रमको अन्त्यतिर पत्रकारले एउटा व्यक्तिगत प्रश्न सोधे- “प्रोफेसर गोपालन, कन्याकुमारीको त्यो सानो गाउँदेखि अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्मको यो लोभलाग्दो यात्रा र यी सबै सफलताको श्रेय तपाईं कसलाई दिनुहुन्छ ?”

टेलिभिजनको पर्दामा गोपालनका आँखा अलि रसाए । उनले मुस्कुराउँदै तर गम्भीर स्वरमा भने, “मैले आज जति पनि अवार्ड जितेको छु, जति पनि उपलब्धि हासिल गरेको छु, यो सबै मेरो मिहिनेतले मात्र सम्भव भएको होइन । यो त मेरी आमाको त्यो विश्वास र आशीर्वादको प्रतिफल हो, जसले मलाई कन्याकुमारीको बालुवामा हिँड्न सिकाउँदा नै ठूलो सपना देख्न सिकाउनुभएको थियो । उहाँका ती अभाव र मप्रतिको आशा नै मेरो सफलताको इन्धन हुन् । म आज जे छु, केवल मेरो आमाका कारणले छु ।”

अन्तर्वार्ता हेरिरहेकी कुमारीका आँखा पनि ओभानो रहेनन् । सिन्धुलीगढी र कन्याकुमारीका दुई फरक भूगोललाई जोड्ने त्यो टेलिभिजनको पर्दाले एउटा कुरा प्रष्ट पार्‍यो- भाषा फरक भए पनि, संस्कृति अलग भए पनि, आमाप्रतिको श्रद्धा र जीवनको सङ्‍घर्षको अर्थ सबैका लागि एउटै हुँदो रहेछ ।

सन् २०२३ डिसेम्बर महिनाको त्यो एउटा अभिशप्त बिहान, जसले म्यानकेटोको शान्त जीवनलाई एकाएक आँधीबेहरीमा बदलिदियो । सदाझैँ कुमारी आफ्नो पीएचडीको अन्तिम प्रयोगशाला परीक्षणका लागि झिसमिसेमै निस्किएकी थिइन् । गोपालनको पनि त्यो दिन एउटा महत्त्वपूर्ण लेक्चर थियो । तर, ओछ्यानबाट उठ्दा उनलाई आफ्नो शरीर अलि भारी महसुस भयो- एउटा यस्तो असहजता, जसलाई उनले सामान्य थकान ठानेर बेवास्ता गर्न खोजे ।

झन्-झन् गाह्रो हुँदै गर्दा उनले सोचे, “आज विश्वविद्यालय जान सक्दिनँ होला, अनलाइन नै क्लास लिन्छु ।”

ल्यापटप खोलेर उनले कक्षाको तयारी गरे । तर क्लास शुरु भएको पाँच मिनेट नबित्दै उनको छातीमा एउटा तीव्र दबाब महसुस भयो । सास फेर्न गाह्रो हुँदै गयो, आँखा धमिलिँदै गए, बोली लर्बरिन थाल्यो । अत्तालिएका गोपालनले काँप्दै गरेको हातले ९११ डायल गरे । आफ्नो ठेगाना मुस्किलले बताउन नपाउँदै उनको हातबाट फोन खस्यो र उनी भुइँमा ढले ।

कक्षाका विद्यार्थीहरूले पनि आत्तिएर ९११ मा कल गरे अनि डिपार्टमेन्ट हेडलाई पनि खबर गरिदिए ।

एम्बुलेन्स घर पुग्दा गोपालन अचेत भइसकेका थिए । अस्पताल पुर्‍याउँदा उनको मस्तिष्कमा गम्भीर चोट पुगिसकेको थियो । केही घण्टा अघिमात्रै अवार्ड, सम्मान र सफलताको चर्चा चलिरहेको थियो । उज्यालो मञ्चमा उभिएको आत्मविश्वासी प्रोफेसर थिए उनी । तर अब, त्यही मानिस एउटा सेतो ओछ्यानमा सीमित थिए । न शब्द, न प्रतिक्रिया, केवल सास र मेसिनबीचको मौन संवाद ।

अस्पताल पुग्दै गर्दा कुमारीका पाइला भारी थिए । ढोका खोलेर भित्र छिर्दा उनले देखिन्- अचेत अवस्थामा बेडमा लडिरहेका गोपालन । उनले छेउमा गएर हात समातिन्; हात तातै थिए, तर प्रतिक्रियाविहीन । उनले केही बोलिनन् । शब्दहरू शायद पर्याप्त थिएनन् । आँखाले भने सबै कुरा भनिरहेका थिए- यो डर, अविश्वास र मौनता स्थायी हुने छैन ।

गोपालन कोमामा थिए । उनका लागि दिन र रातको कुनै अर्थ थिएन । तर कुमारीका लागि भने त्यो समय एउटा भयानक अग्निपरीक्षा बन्यो । एकातिर अस्पतालको त्यो सुइँसुइँ गर्ने मेसिनको आवाज, अर्कोतिर पीएचडी डिसर्टेसनको दबाब ।

कन्याकुमारीमा रहेकी उनकी वृद्ध आमा, परिवार र सिन्धुलीगढीमा रहेका कुमारीका माइतीका लागि यो खबर एउटा बज्रपात थियो । उनीहरूको आशा र भरोसा टुटेको थियो । आफन्तहरू कोही पनि अमेरिका आएर साथ दिन सक्ने हैसियतमा थिएनन् । न गोपालनको परिवारसँग त्यो सामर्थ्य थियो, न त कुमारीका माइतीसँग नै । उनीहरू केवल भिडियो कलको स्क्रिनमा आँशु खसाल्न र टाढैबाट प्रार्थना गर्न विवश थिए ।

कुमारी दिनभरि ल्याबमा काम गर्थिन् र रातभरि गोपालनको हात समातेर अस्पतालको कुर्सीमै सुत्थिन् । धेरैले भने- “कुमारी, अब केही समयका लागि पढाइ छोडिदेऊ ।” तर, उनलाई थाहा थियो, गोपालनले उनलाई ‘डाक्टर’ बनेको देख्न चाहेका थिए ।

वर्ष दिन भइसक्दा पनि गोपालन कोमाबाट फिरेनन् । त्यो एक वर्षमा कुमारीले आँशुलाई मसी बनाइन् र सङ्‍घर्षलाई शब्द । ती दिनहरू कुमारीका लागि केवल समयको गणना थिएन, बरू एउटा अनन्त प्रतीक्षा र आत्मग्लानिको भूमरी थियो । उनी सोच्थिन्, “हामीले कसैको नराम्रो गरेका थिएनौँ, किन हामीलाई नै यस्तो भयो ?”

कुमारीले नियतिलाई धिक्कार्नेभन्दा परिस्थितिसँग सम्झौता गर्ने निर्णय गरिन् । तैपनि, बेला-बेलामा उनको मनमा एउटा विचित्रको द्वन्द्व चल्थ्यो । विज्ञानको विद्यार्थी हुनुको नाताले उनलाई मस्तिष्कको त्यो गम्भीर चोटको वास्तविकता थाहा थियो, अर्कोतिर एउटी प्रेमिका र पत्नीको हृदयले कुनै चमत्कारको अपेक्षा गरिरहन्थ्यो । ल्याबमा तथ्याङ्‌कहरूसँग खेल्दै गर्दा होस् वा हतार-हतार डिसर्टेसनका पानाहरू सुधार्दा, उनको आधा मन सधैँ अस्पतालको त्यो बेड नम्बर ५०१ मा अडिएको हुन्थ्यो । कहिलेकाहीँ उनलाई लाग्थ्यो, यो पीएचडीको उपाधि र सफलताको के अर्थ ?

कहिलेकाहीँ उनलाई यो परदेश, अस्पतालको गन्ध, यी निस्पन्द दिनहरू सबै छोडेर, सबैबाट टाढा भागेर नेपाल फर्किउँजस्तो लाग्थ्यो । आफ्नै माटो, आफ्नै आकाशमुनि केही क्षणका लागि भए पनि गहिरो सास फेर्ने र आफैँलाई फेरि एकपटक भेट्ने इच्छा हुन्थ्यो । तर गोपालनलाई यस्तो अवस्थामा एक्लै छोडेर जाने कुरा उनको मनले स्वीकार्नै सक्दैनथ्यो । ढिलोचाँडो उनले बुझिन्- प्रेम भनेको उज्यालोमा हात समातेर हिँड्नु मात्र होइन; कसैको जीवनमा औँसीको रात पर्दा आफैँ मैनबत्ती बनेर पग्लिनु पनि हो ।

बिरामी कुर्दाकुर्दै उनको पढाइ सकियो । आफ्नो नामको अगाडि डाक्टर थपिएको दिन कुमारी सिधै अस्पताल पुगिन् । उनले आफ्नो डिग्रीको प्रमाणपत्र गोपालनको अचेत हातमा चुपचाप राखिदिइन् र सुक्कसुक्काउँदै भनिन्- “हेर्नुस् मैले पीएचडी पूरा गरेँ । अब तपाईं फर्कनुपर्छ । हाम्रो यात्रा अझै बाँकी छ ।”

भगवानले उनको पुकार सुनेझैँ भयो । सन् २०२४ को त्यो एउटा मधुरो बिहानीमा म्यानकेटोको अस्पतालको कोठामा झ्यालबाट छिरेको घामको कोमल किरण गोपालनको अनुहारमा बिस्तारै फैलिँदै थियो । कुमारी सधैँझैँ उनको हात आफ्नो हातभित्र अड्याएर मौन प्रतीक्षामा छेउमै बसेकी थिइन् । अचानक उनले आफ्नो हत्केलामा एउटा सानो हलचल महसुस गरिन्- एउटा यस्तो कम्पन, जसको प्रतीक्षामा उनले अनगिन्ती दिन र रातहरू बिताएकी थिइन् । क्षणभरमै गोपालनका परेलाहरू बिस्तारै काँपे अनि उनले आँखा खोले ।

उनको हेराइमा शुरुमा त शून्यता थियो- खालीपन अनि अपरिचित । तर जब त्यो नजर कुमारीको आशाले भरिएको अनुहारमा अडियो, त्यहाँ बिस्तारै एउटा चिनजानको मधुरो चमक झल्कियो । मानौँ टाढाबाट फर्केर उनलाई फेरि चिनिरहेका छन् । कुमारीका लागि त्यो पल संसारका सबै स्वर्ण पदक र विद्यावारिधिका उपाधिभन्दा कैयौँ गुणा हर्षले भरिएको थियो ।

उनले गोपालनको त्यो कमजोर हातलाई आफ्नो गालामा टाँसिन् । त्यो स्पर्शमा जीवनको सबै अर्थ समेटिएको थियो । सुकसुकाउँदै उनले भनिन्- “तपाईं फर्किनुभयो ? यतिका दिन मलाई किन एक्लै छोड्नुभयो ? मलाई थाहा थियो तपाईंले मलाई यो बिरानो मुलुकमा एक्लै छोड्नुहुने छैन ।”

कोमाबाट त उनी फर्किए, तर फर्किएका गोपालन पहिलेका ती तीक्ष्ण बुद्धिका प्रोफेसर रहेनन् । चिकित्सकहरूले एउटा कठोर सत्य कुमारीको अगाडि राखिदिए- गोपालनको मस्तिष्कको बायाँ हिस्साले सधैँका लागि काम गर्न छोडेको छ । उनी त प्रष्टसँग बोल्न सक्थे, न त आफ्ना तर्कपूर्ण विचारहरूलाई शब्दमा ढाल्न सक्थे । हजारौँ विद्यार्थीका अगाडि घण्टौँसम्म जटिल सिद्धान्तहरू सहजतापूर्वक व्याख्या गर्ने गोपालन अब एउटा सानो शब्द उच्चारण गर्न पनि सङ्‍घर्ष गरिरहेका थिए । उनका दुवै खुट्टा लगभग नचल्ने भएका थिए । उनको शरीर र अभिव्यक्ति दुवै आधा बाटोमै अड्किएजस्तो भएका थिए ।

केही समयसम्म अस्पतालको पुनर्स्थापना केन्द्र नै उनीहरूको नयाँ ‘बासस्थान’ बन्यो । त्यहीँ स-साना परिवर्तनहरू देखिन थाले- औँलाको हल्का कम्पन, आँखाको क्षणिक झप्को, सासको लयमा आएको सूक्ष्म सुधार । ती सामान्यजस्ता देखिने क्षणहरू नै कुमारीका लागि असाधारण थिए ।

प्रत्येक सानो प्रगति उनका लागि एउटा सङ्‍केत थियो- जीवन अझै त्यहीँ लुकेको छ, हराएको छैन । यही विश्वासले उनलाई बिस्तारै बल दिन थाल्यो । गोपालनको पुनर्जीवन अब केवल चिकित्सकको प्रयासमा सीमित थिएन; त्यो त कुमारीको धैर्य, माया र अडिग विश्वाससँग गाँसिएको एउटा साझा यात्रा बनेको थियो ।

पुनर्स्थापना केन्द्रको उपचार सकिएपछि अर्को निर्णयको द्विविधा उभियो- नर्सिङ होममा लैजाने कि घरमै राख्ने ? धेरै सोचविचार गरेर कुमारीले निर्णय गरिन्- घरमै लगेर आफ्नै हातले हेरविचार गर्ने ।

घर पुगेपछि वास्तविकता उनले सोचेभन्दा अझ कठोर रूपमा अगाडि उभियो । गोपालन शरीरले घर फर्किए पनि रोगले उनलाई छोडेको थिएन । बिस्तारै त्यो सुन्दर घर पनि ‘बिरामी’ जस्तै देखिन थाल्यो । जताततै औषधिको गन्ध, ह्विलचेयरको घरघराहट र अस्पतालका उपकरणहरूको चिसो उपस्थिति ।

कुमारीका लागि अब जीवन एउटा कसिलो डोरीमा हिँड्नु जस्तै बन्यो । एकातिर जागिर खोज्नुपर्ने दबाब, अर्कोतिर चौबीसै घण्टा गोपालनको स्याहार–सुसार र घरधन्दाको भारी ।

कुनैकुनै यस्ता निष्पट्ट रातहरू आउँथे, कुमारी झ्यालबाट बाहिरको अँध्यारो हेर्दै आफूलाई नै सोध्थिन्- “यही हो त अमेरिकन ड्रिम ? बरु बाँच्नुभन्दा त जीवन सिध्याउनु नै सजिलो हुन्छ होला !”

अर्कोतिर मनको गहिरो कुनामा एउटा डरलाग्दो, बिझाउने विचार उठ्थ्यो- “यदि गोपालनले यो संसार छोडिदिए भने शायद म यो अनन्त बोझबाट मुक्त हुने थिएँ कि ?” तर तुरुन्तै झस्किन्थिन् । आफ्नै विचारसँग डराउँथिन्, आफैँलाई धिक्कार्थिन् अनि भन्थिन्- “मैले यस्तो कसरी सोच्न सकेँ होला ?”

बाहिरबाट कुनै सहयोग थिएन । न आफन्त, न त कुनै न्यानो हात । त्यो पराइ मुलुकमा उनीहरू दुई प्राणीमात्र थिए । उनीहरूको बीचमा फैलिएको थियो एउटा अन्तहीन सङ्‍घर्ष ।

उता गोपालनको आफ्नै युद्ध जारी थियो । बोल्न खोज्दा शब्दहरू टुट्थे, हिँड्न खोज्दा शरीर ढल्थ्यो । बेला बेलामा उनी आफ्नो प्रोफेसर हुँदाका दिनहरू सम्झन्थे । कस्तो लोभलाग्दो जिन्दगी थियो त्यो । उनलाई पनि लाग्थ्यो, “अरूको सहारामा बाँच्नुभन्दा त मर्नु नै बेस ।” तर ‘एकदिन ठीक हुन्छु’ भन्ने भित्री इच्छाशक्तिले उनलाई घचघचाइरह्यो ।

उनले एउटा सानो तर उज्यालो सपना देखेका थिए- “एकदिन म फेरि सामान्य हुनेछु । कुमारीको जन्मदिनमा आफैँ गाडी चलाएर उनलाई मनपर्ने रेष्टुरेन्टमा डिनरका लागि लैजान्छु ।”

कुमारी पनि कहिलेकाहीँ चरम निराशा र झर्कोलाग्दो अवस्थासम्म पुग्थिन् । तर गोपालनको हिम्मतिलो अनुहार र निको हुने अदम्य जिजीविषा देख्दा उनको सबै रिस एकाएक पानीको फोकाझैँ बिलाउँथ्यो ।

गोपालनमा एउटा अनौठो बानी बस्यो- पसिना पुछिरहने । वास्तवमा उनलाई पसिना आएकै हुँदैनथ्यो तर मिनेसोटाको त्यो चिसो मौसममा पनि उनलाई आफ्नो निधार र टाउको सधैँ भिजेको जस्तो भ्रम हुन्थ्यो । उनी एउटा सानो तौलिया हातमा लिन्थे र लगातार आफ्नो अनुहार र टाउकोमा दलिरहन्थे । यो एउटा बानीमात्र रहेन, बिस्तारै एउटा पीडादायी बाध्यतामा रूपान्तर भयो । उनी यति जोडले, यति धेरै पटक पुछ्थे कि उनको छाला रातो हुन्थ्यो, रगत नै आउला जस्तो देखिन्थ्यो । पुछ्दा–पुछ्दै उनले आफ्नै कपालसमेत उखेल्न थाले ।

त्यो चम्किलो प्रोफेसर, जसको व्यक्तित्वले सारा हललाई मन्त्रमुग्ध पार्थ्यो, आज आफ्नै हातले आफ्नै स्वरूप बिगार्न विवश थिए । कुमारीका लागि यो दृश्य कुनै भयानक दुःस्वप्नभन्दा कम थिएन । उनी गोपालनको हात रोक्न खोज्थिन्, नपुछ्नुस् न, घाउ भइसक्यो भन्दै फकाउँथिन् । तर गोपालनको हात उनको नियन्त्रणमै थिएन । उनी नसुनेझैँ गर्थे वा झर्किन्थे ।

कुमारीले बिस्तारै बुझिन्- यो तौलिया दल्नु केवल पसिना पुछ्नु होइन, यो त उनीभित्र गुम्सिएको छटपटी, असफलताको आक्रोश र फेरि सामान्य हुन नसकेको पीडाको शब्दविहीन अभिव्यक्ति थियो ।

कुमारी कहिलेकाहीँ भन्थिन्- “गोपालन, तिम्रो बायाँ मस्तिष्कले तर्क बिर्सियो होला, तर दायाँ मस्तिष्कमा अझै हाम्रो प्रेमको रङ बाँकी छ । तिम्रा खुट्टा चल्दैनन् होला, तर मेरो काँध तिम्रो सहारा बन्नेछ ।” कुमारीको न्यानोपनले गोपालनको बाँकी रहेको प्राणलाई डोर्‍याइरहेको थियो ।

शुरु-शुरुमा धेरै जना भेट्न आए । आफ्ना विद्यार्थीहरू भेट्न आउँदा गोपालन औधी खुशी हुन्थे । तर बिस्तारै मानिसहरूको आवतजावत कम हुँदै गयो । अन्ततः केही नजिकका मित्रहरू मात्र बाँकी रहे । उनीहरू पनि कहिलेकाहीँ, छुट्टीका दिनमा मात्र आउन सक्थे ।

सामाजिक घेरा बिस्तारै खुम्चिँदै अन्ततः एउटा सानो कोठाभित्र सीमित भयो । पार्टी र सेमिनार अब दन्त्यकथाजस्तै बने । धेरैको जीवनमा यो अवस्था बूढेसकालमा मात्र आइपुग्छ, तर उनीहरूको जीवनमा आधा यात्रा पनि नपुग्दै आइपुग्यो ।

आर्थिक रूपमा पनि ठूलो धक्का बेहोर्नुपर्‍यो । मेडिकल बिल र थेरापीमा झन् बढी खर्च हुन थाल्यो । इन्स्योरेन्स र बचतले कतिन्जेल धान्ला र ? यो प्रश्न सधैँ कुमारीको मनमा झुण्डिरहन्थ्यो । यहीबीच कुमारीले गोपालनले काम गर्ने विश्वविद्यालयमै सहायक प्राध्यापकको जागिर पाइन् । भर्खरै शुरु भएको उनको करियरले अब घरको आर्थिक भार र गोपालनको उपचार दुवै थाम्नुपर्ने भयो ।

गोपालनलाई शुरु–शुरुमा दिनभर घरमा एक्लै बस्नुपर्दा दिक्दार लाग्थ्यो । तर बाँच्ने इच्छाशक्ति र ‘जे हुन्छ, ठीकै हुन्छ’ भन्ने एक किसिमको समर्पणले उनले बिस्तारै आफूलाई सम्हाल्न थाले । ‘शायद भगवानले यही चाहेका थिए होलान्’ भनेर चित्त बुझाउन थाले । तैपनि कहिलेकाहीँ कुमारी अबेरसम्म घर नआउँदा उनको मनमा अनेक प्रश्नहरू उब्जिन्थे- “कहाँ गइन् होला ? कोसँग गइन् होला ? किन आइनन् ? मलाई छोडेर त गइनन् ?” यस्ता चिन्ताले उनलाई भित्रभित्रै घोच्थ्यो । कुमारी हस्याङफस्याङ गर्दै हातमा ग्रोसरीका झोलाहरू बोकेर घरभित्र पसेपछि बल्ल गोपालनको अनुहारमा सानो मुस्कान फक्रिन्थ्यो ।

बिस्तारै घरको पूजाकोठामा दियो बल्न थाल्यो । भित्तामा तन्जावुरको चित्र र पशुपतिनाथको तस्बिर सँगै टाँसिए । दुई संस्कृति र दुई आस्था एउटै घरभित्र एकाकार हुँदै गए । सन् २०२६ को शुरुवाततिर ‘नयाँ सामान्य’ (न्यु नर्मल) शुरु भयो- जहाँ सफलताका पुराना मापदण्डहरू भत्किए र खुशीका नयाँ परिभाषाहरू कोरिँदै गए ।

त्यो महत्त्वाकांक्षी ‘बर्थडे डिनर’ को सपना भने अधुरै रह्यो । न गोपालनले फेरि कहिल्यै गाडीको स्टेरिङ समात्न सके, न त उनीहरूले झिलिमिली रेष्टुरेन्टको टेबुलमा बसेर सफलताको उत्सव मनाउन पाए । तर कुमारीले हार मानिनन् । उनले घरकै सानो भान्सामा एउटा साधारण केक बनाइन् । न कुनै सजावट, न कुनै भीड; केवल एकान्त र मौन साक्षी । गोपालनको ह्विलचेयरछेउ एउटा सानो मैनबत्ती बालेर उनले आफ्नो जन्मदिन त्यही कोठाभित्रै मनाइन् ।

मैनबत्तीको मधुरो उज्यालोमा गोपालनले आफ्नो काँपिरहेको हात उठाएर कुमारीको हात समात्ने चेष्टा गरे । पूरा समात्न नसके पनि त्यो स्पर्श अपूर्ण थिएन । कुमारीका आँखा खुशीले रसाए । मैनबत्तीको त्यो उज्यालोमा उनीहरूले बुझे- बाँकी रहेको अधुरो जीवन पनि पूर्ण हुन सक्छ ।

(लेखक अमेरिकी वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार तथा ड्युक विश्वविद्यालयका एड्जङ्क्ट प्रोफेसर हुन् ।)

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.