साहित्यपोस्ट डट कम

कथा: आँपको बहाना, मनको तिर्सना

कथा: आँपको बहाना, मनको तिर्सना

असारको उकुसमुकुस साँझ थियो । विराटनगरको तातो हावा (लू) ले घरका झ्यालहरू जोडले थर्काइरहेको थियो । आकाशमा धुम्म बादल देखिन्थे, तर पानी पर्ने कुनै छाँट थिएन । सडकभरि धूलो उडिरहेको थियो । बजारबाट हतार–हतार फर्किने मानिसहरूको झोलामा तरकारी भन्दा बढी पहेंला आँप देखिन्थे । चोक–चोकमा थुप्रिएका मालदहका थाकहरूबाट निस्किने त्यो चिरपरिचित गुलियो सुगन्धले सिङ्गो शहरलाई कुनै पुरानो, ओसिलो सम्झना जस्तै गरी ढाकिरहेको थियो ।

राघवले चोकमा मोटरसाइकल रोक्यो र रैथाने पसलेको ठेलाबाट पाँच किलो मालदह आँप किन्यो ।

पसलेले बडो जतनले आँप प्लास्टिकभित्र राख्दै भन्यो, “दाइ, यो सिधै सप्तरीको गाछीबाट आएको हो । असाध्यै मीठो छ । एकपटक खानुभयो भने फेरि यही खोज्दै आउनुहुन्छ ।”

राघवको हात एकाएक अडियो । उसले सोध्यो, “सप्तरीको ?”

“हो दाइ, एकदम खाँटी मालदह ।”

राघव मुस्कुरायो, तर त्यो मुस्कानभित्र एउटा गहिरो शून्यता लुकेको थियो । उसले थप केही बोलेन, झोला समात्यो र घरतिर लाग्यो ।

घरभित्र पस्नासाथ श्रीमती सोमनीले झोला खोलेर आँपहरू टेबलमा राखिन् र भनिन्, “आज त निकै राम्रा र ताजा ल्याउनु भएछ । धोएर काटिदिऊँ ?”

“अहिले होइन,” राघवले हेल्मेट सोफामा राख्दै सहज स्वरमा भन्यो ।

“किन र ? यति राम्रो आँप त चिसोचिसोमै खानुपर्छ त,” सोमनीले अचम्म मान्दै सोधिन् ।

“त्यत्तिकै... पछि खाउँला,” राघवले भन्यो ।

सोमनीले उसलाई केही क्षण नियालेर हेरिन् । विवाहको यतिका वर्षमा उनी राघवको स्वभावसँग अभ्यस्त भइसकेकी थिइन् । राघवको मनभित्र कुनै गहिरो कुराले अल्झिएको अवस्थामा उसका उत्तरहरू यस्तै संक्षिप्त हुन्थ्यो ।

त्यत्तिकैमा सोफामा राखिएको राघवको मोबाइल बज्यो । स्क्रिनमा दाइको नाम चम्कियो । राघवले फोन उठायो, “हेलो दाइ” । दाईको नाम शम् थियो । ठूलो मामाको ठूलो छोरा । राघवलाई असाध्यै माया गर्ने अनि राघवले नै उनको घरायसी कारोबारमा सहयोग गर्ने गर्थ्यो । 

उताबाट दाइको स्वर आयो । त्यो स्वर पहिलेभन्दा धेरै थाकेको र गह्रौँ सुनियो, “यसपालि त तिमी जसरी पनि गाउँ आउनैपर्छ, राघव ।” 

“के भयो र दाइ ? त्यस्तो केही हतारो छ ?”

“घरको कुरा सधैँका लागि टुङ्ग्याउनुपर्ने भयो ।”

“कुन घर दाइ ?” राघवको मुटु ढुकढुक भयो ।

“हाम्रो सप्तरीको पुर्ख्यौली घर के । सबै दाजुभाइले बेच्ने निर्णय गरिसके । अब कसैको त्यहाँ बस्ने टुङ्गो छैन, भत्किन लागेको त्यो पुरानो घरलाई एक्लै कसले सम्हाल्ने ? अर्को हप्ता नामसारीका लागि मान्छे आउँदैछन् ।”

राघव चुप लाग्यो । उसको आँखाअगाडि बाल्यकालको त्यो माटोको गन्ध आउने मामाघर नाच्न थाल्यो ।

दाइ फेरि बोले, “अनि... त्यो आँगनको पुरानो मालदहको बोट पनि काट्नुपर्ने भयो । जगैदेखि नयाँ संरचना बनाउने भन्छन् किन्नेहरूले, त्यसलाई राखेर नहुने रहेछ ।”

फोन काटियो । कोठामा केहीबेर अनौठो र भारी सन्नाटा छायो । झ्यालबाट पसेको तातो हावाले कोठाको पर्दा जुरुक्क उठायो ।

सोमनीले नजिकै आएर बिस्तारै सोधिन्, “के भयो ? दाइले के भन्नुभयो ?”

राघवले कुनै उत्तर दिएन । ऊ जुरुक्क उठेर झ्यालबाहिर हेर्न थाल्यो । बाहिर सडकको छेउमा एउटा सानो बालक आफ्नो बुबाको औँला समातेर, अर्को हातमा आँपको प्लास्टिक झुन्ड्याउँदै खुशीले उफ्रँदै हिँडिरहेको थियो ।

त्यो दृश्यले राघवको मानसपटललाई झन्डै चालीस वर्ष अगाडिको एउटा सानो गाउँमा पुर्याइदियो ।

असार लाग्नासाथ सानो राघव बेचैन हुन्थ्यो । ऊ आमाको सुतीको फरियाको सप्को समातेर दिनभरि एउटै प्रश्न दोहोर्याइरहन्थ्यो, “आमा, हाम्रो मामाघर कहिले जाने ?”

आमा बडो आत्मीयताका साथ हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “अहिले आँप रुखमै पाक्दैछ बाबु । अलिकति कुर्नुपर्छ ।”

“कति दिन कुर्नुपर्ने ?” ऊ गाला फुलाउँथ्यो ।

“कम्तीमा दुई हप्ता ।”

त्यो दुई हप्ता राघवका लागि दुई वर्षजस्तै लाग्थ्यो । तर अन्ततः मामाघर जाने त्यो सुनौलो दिन आउँथ्यो ।

त्यतिबेला सुनसरीबाट चढ्ने लोकल बसहरू भरिभराउ हुन्थे । मानिसहरू, चामलका बोरा, तरकारीका भारी र रोइरहेका बच्चाहरू— सबै एउटै कोचाकोच बसभित्र अटाएका हुन्थे । झ्यालबाट पस्ने धुलो मिसिएको तातो हावाले अनुहार पोल्थ्यो, पसिनाले कपडा भिज्थ्यो । तर राघवलाई त्यो गर्मीले कहिल्यै सताउँदैनथ्यो । उसको मनमा मामाघरको त्यो शीतल आँगन र मालदहको विशाल बोटको चित्र नाच्थ्यो ।  

बसबाट ओर्लिएपछि आमाले उसको सानो हात समातेर डोर्याउँदै हिँडाउनुहुन्थ्यो । जब उनीहरू मामाघरको आँगनमा टेक्न पुग्थे, त्यो विशाल आँपको रुखले एउटा विशाल र चिसो छहारी हालिदिन्थ्यो, मानौँ त्यो रुख उनीहरूकै प्रतीक्षामा वर्षौँदेखि उभिएको होस् ।

“आएछन्, राघव दाई आएछन् !” मामाका छोराछोरीहरू ताली बजाउँदै दौडेर आउँथे ।

माइजूले आउनेबित्तिकै हाँस्दै भन्नुहुन्थ्यो, “पहिले कलमा गएर हातमुख धोऊ । अनि आँप खान पाइन्छ ।”

आँगनको एक कुनामा पुरानो ट्युबवेल (कल) थियो । मामाले जोड–जोडले ह्याण्डल चलाउँदा कलबाट कलकल गर्दै नीलो र चिसो पानी छचल्किन्थ्यो । एउटा ठूलो टिनको बाल्टिन पानीले भरिन्थ्यो र त्यसमा बोटबाट भर्खरै टिपिएका मालदहका आँपहरू डुबाइन्थे ।

राघवले हतारिँदै सोध्थ्यो, “माइजू, अहिल्यै खाऔँ न ?”

मामाले राधुको टाउको सुमसुम्याउँदै हाँसेर भन्नुहुन्थ्यो, “अलिकति पर्ख बाबु, यसको भित्री गर्मी मर्न देऊ ।”

त्यो वाक्यको असली अर्थ राघवको बालमस्तिष्कले त्यतिबेला बुझेको थिएन । तर अहिले लाग्छ, त्यो प्रतीक्षा पनि स्वाद र सम्बन्धको एउटा सुन्दर हिस्सा हुँदो रहेछ ।

दिउँसो घाम चर्किएपछि सबैजना त्यही बाल्टिनको वरिपरि गोलो घेरा बनाएर भुइँमै बस्थे । कसैले चक्कु वा प्लेट खोज्दैनथ्यो । सबैले बाल्टिनको चिसो पानीबाट एउटा–एउटा सिङ्गै आँप झिक्थे । फेदको चोसोलाई दाँतले टोकेर फाल्थे र दुवै हातले बिस्तारै मुछेर त्यसको रस चुस्न थाल्थे ।

त्यो पहेंलो, ओसिलो र गुलियो रस गालाबाट बग्दै कुहिनोसम्म पुग्थ्यो । लुगाहरू पहेंलै हुन्थे । माइजू हाँस्दै भन्नुहुन्थ्यो, “हो, तराईमा आँप खाने असली तरिका यही हो ।”

सबैजना हाँस्दै आँप चुसिरहँदा, आमा भने अलि पर उभिएर बडो भावुक नजरले त्यसै रुखतिर हेरिरहनुहुन्थ्यो, जसका हाँगाहरू हावामा हल्लिरहेका थिए ।

आमाले बोलाउनुहुन्थ्यो, “राघव ।”

“हजुर आमा ?” ऊ चोप लागेको हात चाट्दै जान्थ्यो ।

“यो बोट देखिस् ? यो गाछी म जन्मेको वर्ष मेरा बुबाले अर्थात् तेरा हजुरबाले मेरो नाममा रोपिदिनुभएको हो ।”

राघवले त्यस दिन पहिलोपटक त्यो रुखलाई नौलो नजरले हेरेको थियो । आमाको आँखामा एउटा छुट्टै चमक र मातृत्वको गन्ध थियो । हो, त्यो दिन राघवले पहिलोपटक महसूस गरेको थियो, मानिस र रुखबीच पनि रगतको जस्तै कुनै अदृश्य नाता हुँदो रहेछ । माइतीको त्यो रुख आमाका लागि केवल एउटा बोट थिएन, उहाँको बाल्यकालको जीवित साक्षी थियो ।

स्मृतिको त्यो लामो गल्लीबाट राघव अचानक वर्तमानको कोठामा फर्कियो । उसको आँखाको कुनामा एउटा तातो आँशुको थोपा तैरिरहेको थियो ।

उसलाई आफ्ना बुबाको पनि याद आयो । जब उनीहरू सुनसरी सरेका थिए, बुबा हरेक असारमा साइकल कुदाउँदै इनरुवा पुग्नुहुन्थ्यो । त्यहाँबाट पुरानो लोकल बस चढेर सप्तरीको पुर्ख्यौली घर पुग्नुहुन्थ्यो । बुबा फर्कँदा १–२ बोरा आँप लिएर आउनुहुन्थ्यो ।

त्यतिबेला राघवलाई बुबाको त्यो पसिना र धुलोको मुल्यको पत्तो थिएन । त्यो गाडीभाडा आँपको होइन, जराको लगानी थियो । आज दाइको फोन आएपछि र आमाको त्यो मामाघरको रुखप्रतिको आशक्ति सम्झिएपछि राघवले बुबाको त्यो कष्टकर यात्राको असली रहस्य बुझ्यो । बुबा सप्तरी आँप लिन मात्र जानुहुन्नथ्यो; उहाँ त आफ्ना पुर्खाको स्मृति, आफ्नो बाल्यकालको माटो र आफ्नो ‘जरा’ को तिर्सना मेट्न जानुहुन्थ्यो । त्यो गाडीभाडा आँपको मूल्य होइन, सम्बन्धको लगानी थियो ।

राघवले लामो सास तान्यो । उसले टेबलमा राखिएको बजारको त्यो आँपको झोला हेर्यो । दाइले भनेको वाक्य उसको कानमा गुन्जिरह्यो,  “आँगनको मालदहको रुख पनि काट्नुपर्छ...”

उसलाई लाग्यो, पुर्ख्यौली घर जगैदेखि उखेलिँदैछ, आमाको बाल्यकालको त्यो साक्षी रुख काटिँदैछ र उनीहरूको अतीतको एउटा अध्याय सधैँका लागि बन्द हुँदैछ ।

राघव बिस्तारै भान्सामा गयो । उसले एउटा प्लास्टिकको सफा बाल्टिन लियो, त्यसमा फ्रिजको चिसो पानी भर्यो र बजारबाट ल्याएका ती सप्तरीका मालदह आँपहरू त्यसमा एक–एक गरी डुबाइदियो ।

छोराछोरी र सोमनी टेबलमा चक्कु र प्लेट खोज्दै आइपुगे ।

राघवले मुस्कुराउँदै भन्यो, “आज चक्कुले काटेर होइन । सबैजना यहाँ भुइँमा बसौँ । आज हामी बाल्टिनबाट झिकेर, दाँतले टोकेर सिङ्गै आँप चुसेर खाने ।”

छोराछोरीहरू अचम्म मान्दै भुइँमा गोलो घेरा बनाएर बसे । बाल्टिनबाट चिसो आँप झिकेर राघवले दाँतले टोकेर चुस्न थाल्यो । उसलाई लाग्यो मामाको पुर्ख्यौली घर त बिक्ला, आमाले टेकेको त्यो आँगनको रुख पनि काटिएला ..... । तर आफ्ना सन्तानलाई यो बाल्टिनमा आँप डुबाएर खाने रैथाने शैली सिकाउँदा आफ्नो जरा, आफ्नो संस्कृति र पुस्ताको कथा उनीहरूको रगतमा हस्तान्तरण हुन्छ होला । 

सप्तरीको त्यो रुखको चोप र माटोको सुगन्ध बजारको आँपमा नभए पनि, राघवको मनभित्रको तिर्सना भने शान्त भएको थियो ।

साँच्चै, तराईको जीवनमा आँप केवल एउटा मौसमी फल मात्र कहाँ हो र ? यो त पुस्ताहरूलाई जोड्ने, सम्बन्धहरूलाई पुनर्ताजगी गराउने र इतिहासलाई जीवित राख्ने एउटा रसिलो कडी हो । यो त तराईको धड्कन हो, जीवन हो ।

साझा गर्नुहोस्:
डा. बालकृष्ण साह

लेखकको बारेमा

डा. बालकृष्ण साह

थप रचनाहरू पढ्नुहोस् →

वरिष्ठ चिकित्सक डा. बालकृष्ण साह स्त्री-रोग विशेषज्ञ हुन् । विगत १० वर्षदेखि स्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका साहका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.