साहित्यपोस्ट डट कम

कथा : आदि र अनन्त

कथा : आदि र अनन्त

सामान्य परिवारमा जन्मेको आलोक सानैदेखि प्रकृतिप्रेमी थियो । बुवासँग खेतमा जाँदा होस् या आमासँग तोरी पेल्न जाँदा, ऊ प्रकृतिमा रमिरहन्थ्यो । खेतको गरा र माटोको ढिस्को झुलेको उसलाई मन पर्थ्यो । रूख चढेर बस्न खुब रुचाउँथ्यो । आलि र गराहरू मनपर्थ्यो । बालीलाई प्रेम गर्थ्यो । प्रकृति कहिल्यै अर्थहीन लागेन उसलाई, अर्थपूर्ण र रोमान्चक लागिरहन्थ्यो । घाँससँग पनि उसको प्रेम थियो । कमिलासँग रमाएर खेल्थ्यो । झारहरूसँग पनि प्रेम थियो उसको । बाले झार उखालेर फालेको देख्दा उसले सोध्यो, “बुवा, झार किन फालेको ?” बुवा भन्नुहुन्थ्यो– “झारले हाम्रो धानको मललाई खान्छ र धान हुर्कन पाउँदैन । जसरी तिम्रो मनमा गलत विचार पलाएपछि तिमी असल बन्न सक्दैनौ, यो पनि त्यस्तै हो ।”

बगिरहेको खोलाको कञ्चन पानीलाई हेर्नु, आवाज सुन्नु सङ्गीतमय लाग्थ्यो । हङ्ग्राय खोलाको झरनालाई हेरिरहन र सुनिरहन उसलाई आनन्द लाग्थ्यो । बाँदर र अन्य जीवजन्तुलाई हेर्न पनि ज्यादै रमाउने । चराचुरुङ्गीको चिरबिर र हावाको सिरसिर उसलाई बहुत मन पर्थ्यो ।

समय बित्दै गयो । थाहै नपाई मनमा प्रेम उब्जियो । विपरीत लिङ्गीप्रतिको प्रेम फैलिरहेको थियो । पहिलोचोटि आफूलाई रोमान्चक, भावुक, संवेदनशील र आनन्दित भएको अनुभूति भएको थियो आलोकलाई । प्रेमले मुटु हल्लिन्थ्यो, सम्झेर सुत्दा पनि मन उज्यालो हुन्थ्यो । आलोक काल्पनिक प्रेमको कथा बुन्थ्यो । प्रेमिकाका लागि प्रेमपत्र लेखेर गोजीमा बोक्थ्यो तर दिन सक्दैनथ्यो, त्यही नै एउटा रमाइलो पक्ष थियो । अरूको भन्दा पनि प्रेमिकाका भावनामा अटल, दिग्निर्देश र उत्कृष्ट हुन चाहन्थ्यो– पढाइमा पनि, प्रेममा पनि । राम्रा र सुन्दरी केटीहरूतर्फ मात्र उसका आँखा जान्थे । राम्रो शारीरिक जीउडाल, मिलेका अङ्ग, अनुपात मिलेको छाती, अनुहारको उज्यालोपन, मुस्कान र निश्चल एवं प्रेमिल आँखा ऊ खोजिरहन्थ्यो ।

समयक्रममा प्राकृतिक वातावरणबाट ऊ सामाजिक वातावरणको वास्तविक रूपमा हुर्कियो । सांसारिक जीवन नबाँची सुखको मुख देखिँदैन । महिनौँदेखि मनमा राखेका भावनाहरू ऊ पोख्न चाहन्थ्यो । आलोक स्मृतिलाई अत्यन्तै मन पराउँथ्यो । स्मृति अत्यन्तै सुन्दरी थिइन्, अर्थात् आलोकको ‘ड्रिम गर्ल’ नै थिइन् । उनी वास्तवमै सुन्दर थिइन्; उसका लागि झरना, खोला, हिमाल र प्रकृति जस्तै सुन्दर थिइन् । उनको शारीरिक हाउभाउ, प्रेमिल हेराइ, हिँडाइ र भावभङ्गी देखेर ऊ भुतुक्कै भएको थियो ।

शायद सही समय चलिरहेको थियो, उनीसँग भेट भयो । धेरै कुरा बोल्ने अठोट गरेको थियो तर सकेन । मुटु काँप्यो, शरीर काँप्यो, जिब्रो लरबरायो । असीम शान्ति र मौनता छायो ।

त्यसपछि उसले भन्यो– “सन्चै छौ स्मृति ?”

“सन्चै छु, अनि तपाईं नि सन्चै हुनुहुन्छ आलोक?”

“सन्चै छु । सुन न मलाई एउटा कुरा भन्न मन थियो– तिम्रो प्रेमको कल्पनाले म बिरामी छु ।”

केही औपचारिक कुरा भए । पढाइलेखाइका कुरा भए, जुन त्यति मनपर्ने विषय त थिएनन्, तर के गर्नु ? अरू बोल्न सकिएन । उसलाई प्रेमाभास त भएको थियो नै । यत्तिमै चित्त बुझाउनुपर्ने हो कि भन्ने लाग्यो उसलाई ।

छुट्नेबेला हिम्मत निकालेर, “फेरि भेट्नुपर्छ” भन्दै आलोकले स्मृतिको हात समायो । कहिले र कहाँ भेट्ने ?”

स्मृतिले भनिन् आँखा चम्काउँदै यहाँ भनिन् । स्मृतिको स्पर्श पाएर अनि सोचेजस्तै जवाफ पाएर ऊ खुशीले गद्गद् भयो, पुलकित भयो । त्यसपछि छटपटी पोखियो; त्यो स्नेहको सागर, कोलाहल र भूकम्पका अगाडि सानो देखियो ।

प्रेम गरिन्न, हुन्छ । हो, आलोकको प्रेम भयो अर्थात् बस्यो । प्रेम घटित हुन्छ । स्मृतिको प्रेम घट्यो । यसलाई कसैले रोक्न र छेक्न सक्दैन, सच्चा प्रेम स्वाभाविक, प्राकृतिक र घटित हुन्छ । यसै पनि संसारको आधार प्रेम नै हो । जसरी सूर्य, चन्द्रमा र पृथ्वीमा आकर्षण हुँदा ब्रह्माण्ड सन्तुलनमा रहन्छ, त्यस्तै स्मृति र आलोकको प्रेममा पनि अत्यन्तै आकर्षण थियो, जुन चुम्बकीय रूपमा प्रकट हुन्थ्यो ।

प्रेममा सम्पूर्ण कुरा जायज हुन्छन् । कमजोरीलाई शक्ति ठानिन्छ । दुःखमा अझ बढी प्रेम फैलिन्छ । गरिबी, असाध्य, निरीहपन तथा एक्लोपनमा प्रेम झन् प्रगाढ बन्छ। अन्ततः उनीहरूको प्रेमले सार्थकता पायो, पूर्णता पायो । आलोक र स्मृतिको विवाह भयो । खुशीको सीमा थिएन, अनौठो आनन्दानुभूति र शान्ति थियो । सबै कुरा गज्जब थियो, तर वैवाहिक जीवन पछि बिस्तारै बेमेल र अहम् भावहरू एक–एक गरी देखिन थाले । वैचारिक पक्ष र सांस्कृतिक पक्ष हाबी हुन थाले । मनमा हलुका खिन्नता र नमज्जापन शुरु भयो । भौतिक वस्तुको जोहो, घर–घडेरी, लुगाफाटो, जागिर र जीविकोपार्जनले गर्दा हल्का तनाव सिर्जना हुन थाल्यो । आवश्यकताहरू बढ्दै गए । भौतिक वस्तुको भुमरीमा प्रेम घुम्न थाल्यो । आलोक कसैलाई आरोप लगाउने पक्षमा त थिएन, तर जीवन सोचेजस्तो पनि भइरहेको थिएन । बिस्तारै स्मृतिका रहरहरू प्रकट हुँदै गए, जसलाई आलोकले भौतिक हिसाबले पूरा गर्न सकेन र उनलाई बुझाउन पनि सकेन ।

आदर्श प्रेममा बाँच्ने आलोकको सोचाइमा भौतिकता, व्यावहारिकता, सोच र सामाजिक परम्परा बाधक बनेर अगाडि उभिए । एउटा राम्रो घर, मीठो खाना, राम्रो लगाउने र छोराछोरीलाई राम्रो विद्यालय भर्ना गर्ने, राम्रो शिक्षा दिने– यी सबै कुरा गज्जब थिए, तर आलोकको कमाइ र स्मृतिको कमाइले मात्र त्यो सम्भव थिएन । अहङ्कार, रहर तथा प्रतिष्ठित जीवन बाँच्ने स्मृतिको सोचाइ पूरा हुन सकेन । उनी आलोकसँग असन्तुष्टि, गुनासा र आक्रोश पोख्न थालिन् । ‘स्नेह र प्रेमको खोक्रो नाटक गरेको’ जस्ता आरोपहरू लगाउन थालिन्, जुन स्वाभाविकै पनि थियो । आलोक यसको सशक्त प्रतिवाद गर्थ्यो र भन्थ्यो, “प्रेमको अगाडि यी सब कुरा तुच्छ हुन् । प्रेम आफैँमा शक्तिशाली हुन्छ, यसलाई अनुभव गर ।” स्मृति भन्थिन्– “प्रेमले व्यवहार चल्छ र ? यसले छोराछोरीको फि तिर्छ ? घरको तला थप्छ ? स्कुटी किन्छ ? तरकारी किनेर ल्याउँछ कि प्रेमले ग्यास दिन्छ ? भन्नुहोस् त !” त्यसपछि आलोक मौन हुन्थ्यो, बोल्दैनथ्यो । तर उसको चेतनाले के बुझेको थियो भने— यी सब समाजले सिर्जना गरेका असन्तुष्टि र आवश्यकता परिपूर्ति गर्दा लाग्ने सोच, समय र समाजले दिने धोका मात्र हुन् । “प्रेम त्याग हो, यसमा निस्वार्थता हुन्छ; प्रेम गरिँदैन, यो त स्वतः दिइन्छ” भन्ने निष्कर्ष आलोकले निकाल्यो ।

यसको भाषा मौनता र मुस्कान हो भन्ने बुझेपछि ऊ प्रेमाकर्षण र शारीरिक भोगको आशक्तिका पछि नलागी सन्तुलित जीवनको सोचतर्फ लाग्यो, जो सादगीपूर्ण थियो । व्यावहारिक सोच र सादा जीवनको यही धारमा आलोक आइपुग्यो ।

समाज तीव्र गतिमा कुदिरहेको छ । आवश्यकताहरू सधैँ असीमित हुन्छन्, रहरहरू अनेक हुन्छन् । आजको समाजमा सबै वस्तुहरू खरिद गर्नुपर्ने हुन्छ । आम्दानी र आवश्यकता असीमित हुँदा, त्यसमाथि छोराछोरीका आवश्यकता र चाहनाहरू थपिँदा एवं आफ्ना रहरहरू पनि मिसिँदा आलोक र स्मृतिको कमाइले त्यो भार धान्न सकेन । बजारीकरण, बजारको चक्रव्यूह र महँगीका कारण नचाहँदा-नचाहँदै पनि उनीहरूको जीवन जटिल बन्दै गयो ।

हो, जीवनमा अहङ्कारको ज्ञान हुनुपर्छ, ज्ञानको अहङ्कार होइन । स्मृतिले हेर्दा आलोक अहङ्कारी देखिन्थ्यो भने आलोकले हेर्दा स्मृति अहङ्कारी देखिन थालिन् । हेर्दाहेर्दै समय अगाडि बढिसकेको थियो । प्रेम केवल औपचारिकतामा मात्र सीमित भए जस्तो भयो । शङ्का, अहङ्कार, आधुनिकता, समाज आदिले पर्दा लगाइदियो । आलोक र स्मृतिको जीवन एउटा मेसिन जस्तो भएर चल्दै थियो । उनीहरूकी एक छोरी ‘प्रकृति’ र एक छोरा ‘सम्पन्न’ थिए । उनीहरू ज्ञानी, स्वाभाविक र मायालु थिए । पढाइमा दुवै अब्बल थिए । कति कति बेला त उनीहरूलाई हेरेर अघाउँछे ऊ ।

दुवैको मन शान्त थिएनन् । जागिरे जीवन त चलिरहेकै थियो । दौडधूप थियो । एकअर्कोप्रति केवल दोष थियो । स्मृतिले आलोकसँग विवाह गरेर दुःख पाएको, आँखाभरि आँशु लिएर अभावसँग लडेको गुनासो तीव्र थियो । बाध्यता पनि थियो, अभाव पनि थियो । उमेर पनि ढल्किँदो थियो, रहर फिक्का हुँदै थिए । असन्तुष्टि र गुनासाहरू थुप्रै थिए, जवानीको जस्तो प्रेम थिएन । होस् पनि कसरी, परिवर्तन जो अवश्यम्भावी हुन्छ । प्रेमको गहिराइको आभास थिएन स्मृतिलाई, तर आलोक प्रेमको गहिराइमा विश्वास गर्थ्यो । शायद, स्मृतिको बुझाइ बेग्लै हुन सक्छ । पटकपटक स्मृति भन्छे– “प्रेमले खान र लाउन दिन्छ ? प्रेम गरिरहेर मात्र पुग्छ ? सम्झ त आलोक, हामीले कति धेरै काम गर्नुछ । छोरी प्रकृति, छोरा सम्पन्न अनि मेरा भोलिका चाहनाहरू, अहिलेका आवश्यकताहरू, रहरहरू खोइ पूरा गरेको ? खोइ छोरीलाई सुनका टप अनि चाँदीका कल्ली ? खोइ चलाउन पाई ल्यापटप ? ए साँची ! दूधको पैसा तिर्नु थियो, खोई कहिले हो ?”

यो सब सुनिरहेको आलोक स्तब्ध भयो । सन्नाटा छायो । उसलाई लागिरह्यो– संसारलाई चेतना र स्वतन्त्रताको तराजुमा तौलने आलोक, दूधको पैसा र छोरीको सुनका टपको यथार्थ अगाडि निरुत्तर भयो । शायद उसले बुझ्यो– चेतनाको उडान भर्न पनि धर्तीमा एउटा गुँड त चाहिन्छ नै ।

स्मृतिको अनुहारमा उज्यालो थिएन । सधैँ कल्पिरहन्थी– एउटा सुन्दर घर, एउटा कार, एक राम्रो जागिर, छोराछोरीका लागि राम्रो शिक्षा, बिहे भोज र आफन्तजनहरूकहाँ जाँदा राम्रो र महँगो साडी र डिजाइन अनुसारका लुगा, मेकअप आदिजनित सुखको चरम अपेक्षा र रहरहरू । यी सब आलोकले पढ्न सक्थ्यो ।

प्रेम, स्वतन्त्रता, मौनता, स्वीकृति तथा आध्यात्मिक जीवनको मार्गप्रति आलोकको धेरै झुकाव बढ्दै गयो । स्मृति अझ व्यावहारिक र भौतिक बन्दै गइन् । हेर्दा जीवन एउटै तर विचार र भावनात्मक हिसाबले कमजोर धरातलमा निकै वर्ष बिते । सामाजिक विचलन, मानसिक विचलन, चिन्ता, डर, त्रास, पीडा दुवैले आ-आफ्नो भागको बेहोरे । कतिसम्म थियो भने आलोकले सकारात्मक तरिकाले भन्दा पनि स्मृति नकारात्मक बुझ्थिन्, नकारात्मक रूपले बोल्दा सकारात्मक । नबोल्दा “किन नबोलेको ?” भन्थिन्, झर्को मान्थिन् । त्यो आलोकका लागि पीडादायी क्षण बन्थ्यो । शायद आदर्श विचार, व्यवहार र अनुभूतिले आलोकलाई यस्तो बनायो । स-साना वैचारिक र व्यावहारिक हिसाबको बेमेलले दुवैमा तनाव पैदा हुन्थ्यो । स्मृति पारिवारिक, सामाजिक, धार्मिक, व्यावहारिक र जागिरे जीवनमा आफूलाई व्यस्त राख्दै गइन् भने आलोक जागिर र ध्यानतर्फ आफूलाई व्यस्त राख्ने गर्थ्यो । मनमुटाव त थियो, जसले मनको लाइनमा चोट दिन्थ्यो उनीहरूलाई; तर बुढ्यौली, पद, प्रतिष्ठा, समाज, सोचाइ, अपनत्व आदिले सदा पुनःउत्थान गराउँथ्यो । आलोकको मौनता बढ्दै थियो, स्मृतिको जीवन र परिवार चलाउने सक्रियता र जिम्मेवारी बढ्दै थियो । एउटै परिवार अलग-अलग दिशामा बढे जस्तो देखिन्थ्यो, त्यो पनि मनका दिशा, प्रेमका दिशा, भावना र विचारले पृथक थियो । परिवार सामाजिक डोरीले बाँधेर अडिएको थियो, छोराछोरीको डोरीले कसिलो बाँधेको थियो । परिवार चलाउन आर्थिक हिसाबले पनि एकलाई अर्काको आवश्यकता पर्थ्यो ।

प्रेम, शान्ति, आनन्द र खुशी टाढा भए पनि आलोक हरदम आफू भित्र ल्याउन चाहन्थ्यो । अरूलाई परिवर्तन गर्न चाहन्थ्यो, नसकेपछि आफू परिवर्तित भएको थियो । हुनु र नहुनु उसले बुझेको थियो । उपस्थिति र अनुपस्थिति उसलाई थाहा थियो । जीवन शून्यबाट आएको हो, शून्य नै स्रोत हो भन्ने थाहा थियो । स्पेस नै मौनता र प्रक्रिया हो भन्ने थाहा थियो । कुन कुरा बढी महत्त्वपूर्ण छ जीवनमा— प्रेम कि चुलो, प्रेम कि रहर, भन्ने थाहा थियो उसलाई । आलोक कति पनि दुःखी थिएन प्रेम नपाएर, सम्मान नपाएर, सुख नपाएर, उसलाई नबुझेर । हिजो हुन्थ्यो दुःखी तर आज छैन । स्मृति भने अझै दुःखी नै थिइन् शायद व्यवहारले गर्दा, या सोचले गर्दा, या रहरहरू अधुरै रहेकाले । साँच्चै प्रेम र चेतना; दुःख-सुख, गुनासो, त्रुटि, अहङ्कार र घमण्ड भन्दा धेरै माथि हुन्छ ।

स्मृतिलाई लाग्दो हो– आलोक चुप हुँदा समस्याले भयो, दुःखले भयो । जीवनबाट भाग्नलाई हो, अब जोगी हुनलाई हो । तर होइन, ऊ ऊर्जामा छ, मौन बस्दा सकारात्मक ऊर्जाले भरिएको छ, साक्षी भावले हेरेको छ । लाग्दो हो स्मृतिलाई आलोक टोलाइरहेको छ, मौन बस्नु राम्रो होइन । हुन पनि चेतना, मन, हेर्ने दृष्टिकोण र आ-आफ्नो मनोसामाजिक ब्रह्माण्ड अनुसार नै त हुन्छ । ज्ञान, साधना, तप, ध्यान र शान्तिमा प्रतिबिम्बित हुँदैछ आलोक ।

समय अगाडि बढिरहन्छ । स्मृति बिरामी हुँदा आलोक भन्छ– “यो हटेर जान्छ ।” स्मृति भन्छिन्– “म दुःखी छु ।” आलोक भन्छ– “यो पनि हटेर जान्छ ।” स्मृति भन्छिन्– “म खुशी छु ।” आलोक भन्छ– “यो पनि हटेर जान्छ, जुन यो समय छ त्यो पनि बितेर जानेछ ।” स्मृति– “पहिलाका हाम्रा दिनहरू, जवानीहरू, त्यो प्रेमका सब कुरा सब बितेर गए ।” राम सत्य हो, कृष्ण सत्य हो, शिव नै सुन्दर र सत्य हो ।

आलोक थप्छ– “टोल्सटोयको ‘डेथ अफ इभान इलिच’मा इलिचलाई जीवनको अन्तिम घडीमा जीवनको अर्थ र बोध भयो तर मलाई त्योभन्दा अगाडि नै अर्थबोध भयो जीवनको स्मृति । म आफूलाई यस मानेमा भाग्यमानी ठान्दछु । सत्य हो दिन सकिनँ सुख तिमीलाई । दिन सकिनँ मैले तिमीले चाहेको खुशी र आनन्द । मलाई माफ गर प्रिय ! मैले तिमीलाई माफी दिइसके । सुनेको छु, माफ गर्नेहरू महान हुन्छन् । आऊ महान बनौँ । किनभने यहाँ आफूभन्दा महान् र उत्कृष्ट कोही छैन । आफूमै लगानी गरौँ र बेस्ट भर्जन बनौँ ।”

स्मृति केही बोल्दिन, मानौँ यी कुराहरू आलोक मनमै, मौनतामै भनिरहेको छ ।

फेरि भन्छ– “प्रिय स्मृति, प्रतिपल धड्किरहने मेरो मुटु तिमी नै हौ, यो पहिलेको जस्तै छ र यही भैरहनेछ । जसरी जीवनको शुरुवातमा नि:स्वार्थ प्रेमले स्वीकार गर्‍यौ, त्यसरी नै स्वीकार गर । आऊ, मैले देखेको उज्यालो तिमीलाई पनि देखाउँछु । आफूलाई हेर्ने कोशिश गर । आलोकको आभास गर । आऊ समीप आऊ, दुवैजना ध्यानमा हराऔँ । असीम आनन्दानुभूति गरौँ । नयाँ, बिल्कुलै नयाँ जीवनको अभ्यास गरौँ । समय छँदै जीवनको बोधको दोस्रो अध्यायको सुन्दर शुरुवात गरौँ । अर्थपूर्ण र गहिरो प्रेमानुभूतिसहितको स्वतन्त्र जीवन बाँचौँ ताकि हाँसीहाँसी जान सकियोस् । सम्भव छ, चेतनाको उपल्लो तहको आभास भयो भने, जहाँ शान्ति, खुशी र आनन्द सिवाय केही छैन । विश्वास गर पक्का ! नत्र एकचोटि कृपया आत्मानुभूति गरेर त हेर ।”

यो सब सुनिरहेकी स्मृतिलाई नजिकै देखेर आलोकले स्मृति नजिकै हृदयको वरिपरि रहेको महसूस गर्छ । स्मृति आँशुबाट जवाफ दिन्छे मानौँ, उसलाई केही चाहिँदैन वा आफैँ रहर बनेकी छे र आफ्नो स्वीकारोक्ति, थाकेको शिर, अज्ञानता सबै आलोकको काँधमा राखिदिन्छे र मौनता, शान्ति र करुणाको श्वास फेर्छे सागर मिश्रित घुक्क घुक्क !

आलोक भन्छ– “यो सत्य हो कि तिम्रो त्याग, सङ्घर्ष र समर्पणको कतै न कतै यो आलोकमा योगदान छ, जो मेरो आत्मामा देखिएको छ । स्मृति, जीवन तिमीले खोजेजस्तै भौतिक वस्तु र साधनको जोहो र आलीशान महल मात्र थिएन, मैले खोजेजस्तै प्रेम नै प्रेम, मौन नै मौन, ध्यान नै ध्यानमा मात्र पनि थिएन । यो त दुवैको सन्तुलन थियो; जसरी सूर्य, चन्द्रमा र पृथ्वी आकर्षण र सन्तुलनले चलेका छन् ।” आलोकको स्वीकारोक्ति पछि आँखा खोलेर हेर्दा उसले स्मृतिका टिलपिल टिलपिल गर्दै गरेका ती प्रिय आलोकित आँखाहरू देख्यो र वर्षौँपछि फरक ऊर्जाका साथ हृदयले पुनः चुम्यो । स्मृतिले पनि प्रेमले चुमी । यो सब शान्ति र मौनतामै भयो, प्रेमिल ऊर्जाहरू पुनः एकाकार भए ।

दुवैले महसूस गरे– बाल्यकालकै जस्तो हावाको सिरसिर, चराको चिरबिर, खोलाको कलकल, झरनाको सङ्गीत, आकाशको खुलापन र असीम शान्ति ।

शायद, त्यसपछि जीवनको दोस्रो अध्याय शुरु भयो……।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.