साहित्यपोस्ट डट कम

कास्की आइडलको उपाधि गायनतर्फ रोजिता र नृत्यतर्फ शिखालाई

कास्की आइडलको उपाधि गायनतर्फ रोजिता र नृत्यतर्फ शिखालाई

पोखरा । गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले जित्नुभएकाे छ । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा उहाँहरू दुवै विधामा उत्कृष्ट घोषित हुनुभएकाे हाे ।

गायनतर्फ सुशान्त भण्डारी फस्ट रनरअप र सबिना परियार सेकेन्ड रनरअप बन्नुभयाे भने सन्तोष परियार र विशाल पाण्डेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयाे । नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना पुरस्कारका लागि छनोट हुनुभयाे ।

उपाधि विजेताले जनही ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएकाे छ । फस्ट रनरअपले ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले १० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनुभएकाे छ । डेढ महिनादेखि सञ्चालन भएको प्रतियोगिताका विभिन्न चरण पार गर्दै दुवै विधामा पाँच–पाँच जना प्रतियोगी फाइनलमा पुग्नुभएकाे थियाे ।

रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ‘कास्की आइडल’ जस्ता कार्यक्रमले स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई उजागर गर्दै राष्ट्रिय स्तरका कलाकार उत्पादनको आधार तयार गर्ने बताउनुभयो।

कार्यक्रम संयोजकसमेत रहेकाे अध्यक्ष पोखरेलले सामाजिक, साहित्यिक र सांस्कृतिक विकाससँगै युवा प्रतिभालाई उचित मञ्च उपलब्ध गराउनु प्रतिष्ठानहरूको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो।

लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान संरक्षण, प्रतिभा विकास र पर्यटन प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने धारणा राख्नुभयो।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार प्रतिष्ठान गीतकारको हकहित मात्र नभई समग्र साङ्गीतिक तथा सांस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील रहेको बताउँदै आगामी दिनमा नेपाली वाङ्मयका विविध क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको विशेष प्रस्तुति रहेको थियो भने अनिल ढुङ्गाना र सनम गुरुङलगायत कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनुभएकाे थियाे। कार्यक्रमको सञ्चालन झलक गुरुङ र ज्योति खड्काले गर्नुभएको थियो।

कार्यक्रममा रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदी, एचएम एजुकेसन सर्भिसका निर्देशक दुर्गाप्रसाद गुरुङ, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष डा. ऋतु पौडेल, गीतकार रेशम रचक, समाजसेवी सन्तोष तिमिल्सिना, मधु क्षेत्री, डा. निराजन कोइराला, मदन घिमिरेलगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.