मुटुमा कर्णाली धड्किन्छ भने
छातीमा कोसी वहन्छ भने
आहुति आफैँलाई दिन तयार छु
स्वाभिमान देशको रहन्छ भने ।
विधवा आमालाई भनिदिनु है
सपूत तिम्रो शहीद भएको
कोखको घाउको चित्कारले
युगीन इतिहासको सलामी पाएको !
आँखामा देश छल्किन्छ भने
आमाको हाँसो फर्किन्छ भने
फाँसीको तखता चढ्न तयार छु
पुर्खाको धुरीखाँबो रहन्छ भने ।
रत्तिभर डर छैन नि मलाई
आहुति पूजाको बलिदानीलाई
मृत्यु नै प्रिय लाग्दछ मलाई
अन्तिम सलामी जन्मदिनेलाई ।
सपनामा देशको ऐँठन हुँदा
बिपनामा आमाको व्यथा बल्झिँदा
बलिदान आफैँलाई दिन तयार छु
देशको स्वाभिमान रहन्छ भने ।

