ललितपुर । कर्णबहादुर राई (गौरुङ कान्छा)को आत्मकथात्मक कृति ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ सार्वजनिक गरिएको छ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास)को आयोजनामा २०८२ फागुन १६ गते ललितपुरको महालक्ष्मी–१ इमाडोलमा आयोजित समारोहमा राष्ट्रियगानका रचनाकार व्याकुल माइला, वाम्रासका अध्यक्ष गजुरधन राई, नेपाल सरकारका उपसचिव तथा कवि अमरदीप सुनुवार, लेखक स्वयं गौरुङ कान्छा तथा संस्थाकी संस्थापक कोषाध्यक्ष दिलकुमारी राईलगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएकाे थियाे ।
ओखलढुङ्गाको दुधकोसी किनारस्थित सोक्मटार गाउँमा २०१७ साल चैतमा जन्मनुभएका कर्णबहादुर राई वाम्बुले राई मातृभाषी सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । पाँच कक्षासम्म औपचारिक शिक्षा हासिल गरेपछि २०३६ सालमा ब्रिटिश गोर्खा सैनिकमा भर्ती हुनुभएकाे उहाँ करिब १५ वर्ष सेवा पश्चात अवकाश लिएर जीआरयू ब्रुनाई हुँदै हाल बेलायतमा बसोबास गर्दै आउनुभएकाे छ ।
वाम्बुले राई समाजका संस्थापक सदस्यमध्ये एक रहेका राईले आफ्नो बाल्यकालदेखि हालसम्मका जीवनअनुभवलाई ९४ शीर्षकमा संस्मरणात्मक रूपमा प्रस्तुत गर्नुभएकाे छ । कृतिको पहिलो खण्डमा जन्मथलो, पारिवारिक स्मृति र ग्रामीण जीवनका अनुभव समेटिएका छन् भने दोस्रो खण्डमा ‘सैनिक जीवन’, तेस्रोमा ‘अवकाशपछिको जीवन’, चौथोमा ‘बेलायतमा संघर्षका कथा’, पाँचौँमा वंशावली र छैटौँ खण्डमा तस्बिरहरू समावेश छन्।
इक लिब्जु–भुम्जु त्रैमासिकद्वारा प्रकाशित कृतिको सार्वजनिक समारोहमा शुभकर्ण राईले ‘मानवशास्त्रीय दृष्टिकोणमा सोक्मटार गाउँ’ तथा शुभराज राई (काजी)ले ‘समाजशास्त्रीय दृष्टिकोणमा गौरुङ कान्छाको कृति’ विषयमा धारणा राख्नुभएकाे थियाे ।
यसैगरी वाम्रासका संस्थापक महासचिव तिखवीर राई, व्याकुल माइला, गजुरधन राई तथा भाषा सम्पादक गणेश राईले लेखकको सामाजिक योगदानबारे चर्चा गर्नुभएकाे थियाे । कार्यक्रममा वाम्बुले युवा क्लबका अध्यक्ष ओबिका राई, वाम्बुले राई सांस्कृतिक कलाकार समाजका अध्यक्ष बुद्ध राई, ज्ञानबहादुर राई, मनकुमार राई तथा सांस्कृतिक अभियन्ता भद्रगोल किराती लगायतले पनि कृतिमाथि विचार व्यक्त गर्नुभएकाे थियाे ।

