साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : कर्मको चक्र

कविता : कर्मको चक्र

कर्म एक चक्र हो
तिमीले जे रोप्छौ, त्यही फल पाउँछौ ।
आज तिमी उक्लियौ अर्कालाई दोष लगाएर
सफल भयौ अर्काको घर जलाएर ।
तर जब कर्म स्वयं साक्षी बन्छ
कसरी भनूँ तिमी नै सही छौ ?
कसरी भनूँ तिमी मुक्तिदाता हौ ?
कसरी विश्वास गरूँ
तिमीले रोपेको विषबाट फूल फुल्छ भनेर ?

तिमी पनि कर्मकै चक्रभित्र छौ
जसरी आयौ, त्यसरी नै जानेछौ ।
जस्तो वातावरण तिमीले निर्माण गर्‍यौ
एक दिन त्यही तिम्रै विरुद्ध उभिनेछ ।
राम्रो काम आवाजविहीन हुनेछ
घृणा भने हावासरि फैलिनेछ ।

हिजो जसले तिमीलाई नायक भने
भोलि उहीले खलनायक ठहराउनेछ ।
आज तिम्रो तस्बिर पूजा गर्ने हातहरूले
भोलि तिम्रै पुत्ला दहन गर्नेछन् ।
सायद तिमी केही राम्रा काम पनि गर्नेछौ
तर वातावरण तिम्रै विरुद्ध बोल्नेछ ।

किनकि संसारलाई तिमीले
घृणा, आरोप र विभाजन सिकायौ ।
त्यही बीउ एक दिन वृक्ष बनेर
तिम्रै आँगनमा छायाँ होइन
अन्धकार बनेर फर्किनेछ ।

यही कर्मको चक्र हो
जस्तो जग बसायौ
अन्ततः त्यसैको भारले
तिमी स्वयं ढल्नेछौ ।
आदरभावसहित

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.