साहित्यपोस्ट डट कम

कलामा आधुनिकता गोविन्दलालसिंह डङ्गोलको विशेषता

कलामा आधुनिकता गोविन्दलालसिंह डङ्गोलको विशेषता

परम्पराको गहिरो जरामा उभिएर आधुनिकताको उज्यालो खोजिरहने अग्रज वरिष्ठ कलाकार गोविन्दलालसिंह डङ्गोल नेपाली चित्रकलाको इतिहासमा एउटा जीवन्त अध्याय हुनुहुन्छ । छ दशकभन्दा बढी समयदेखि निरन्तर कलाकर्ममा समर्पित उहाँ परम्परागत शैली, शिल्प र सौन्दर्यलाई आधुनिक चेतनासँग जोड्दै नयाँ भाष्य सिर्जना गर्न निरन्तर सक्रिय रहँदै आउनुभएको छ । उहाँका क्यानभासहरूमा परम्पराको सुवास र आधुनिकताको आत्मा एकसाथ बोल्छन् । त्यसले कलापारखी दर्शकलाई कलात्मक सौन्दर्यको मिठास पनि एकैसाथ चखाउँछन् ।

कलासिर्जनामा मात्र होइन, कलाप्राध्यापनमा पनि उहाँको योगदान उत्तिकै महत्त्वपूर्ण छ । आजका धेरै स्थापित कलाकारहरूका गुरुका रूपमा सम्मानित डङ्गोलले नेपालको पहिलो कला क्याम्पस ललितकला क्याम्पसमा लामो समय अध्यापन गर्नुभयो । त्यही क्याम्पसमा उहाँले क्याम्पस प्रमुखको जिम्मेवारीसमेत वहन गर्दै नेपाली कला शिक्षालाई संस्थागत रूपमा सुदृढ बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो । क्याम्पसको औपचारिक दायराभन्दा बाहिर पनि उहाँको कलायात्रा रोकिएन, घरमै कलाकक्षा सञ्चालन गर्दै नयाँ पुस्तालाई चित्रकलाको सूक्ष्म सौन्दर्यसँग परिचित गराइरहनुभयो ।

उहाँको कलाप्राध्यापनको यात्रामा विशिष्ट क्षणहरू समेत जोडिएका छन् । तत्कालीन अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहलाई चित्रकला सिकाउने सौभाग्य पनि उहाँले प्राप्त गर्नुभयो । त्यसैगरी, श्रुतिका छोरीहरू गिर्वाणी र सुरङ्गनालाई पनि आफूले चित्रकलाको शिक्षा दिएको कुरा उहाँ गर्वका साथ स्मरण गर्नुहुन्छ । यसले उहाँको कला शिक्षाप्रतिको विश्वास र स्वीकार्यतालाई झनै उजागर गर्छ ।

वि.सं. २००३ सालमा काठमाडौँको लगनबहालस्थित ब्रह्मटोलमा जन्मनुभएका गोविन्दलालसिंह डङ्गोलको बाल्यकाल त्यही सांस्कृतिक रूपमा समृद्ध टोलमा बित्यो । कलाको बीउ त्यहीँ रोपियो । त्यस समयमा उहाँका छिमेकीका रूपमा अग्रज कलाकारहरू जीवरत्न शाक्य र हरिप्रसाद शर्मा हुनुहुन्थ्यो । उहाँहरूका सिर्जनाहरू देख्दै हुर्कँदा बालक गोविन्दलालसिंहको मनमा चित्रकलाप्रतिको आकर्षण क्रमशः गहिरिँदै गयो । छिमेकी कलाकारहरूको कर्म, समर्पण र सिर्जनाले उहाँलाई चित्रकलाको बाटोमा लाग्न प्रेरणा दिएको कुरा उहाँ स्वयं स्वीकार गर्नुहुन्छ ।

यसरी परम्परागत कला चेतनाबाट प्रेरित हुँदै आधुनिक अभिव्यक्ति सम्मको लामो यात्रामा उहाँ नेपाली कलाक्षेत्रका एक स्तम्भका रूपमा स्थापित हुनुभएको छ– जहाँ कला केवल दृश्य सौन्दर्य होइन, संस्कार, साधना र जीवनदृष्टिको सशक्त अभिव्यक्ति बनेर प्रकट हुन्छ ।

यसरी नेपाली कलाजगतका एक विशिष्ट नाम हो– वरिष्ठ कलाकार गोविन्दलालसिंह डङ्गोल ! ललितकला क्याम्पसमा लामो समय प्राध्यापन गरेर क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै उहाँले कला शिक्षणमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ । कलासिर्जना र शिक्षणको यो यात्रामा उहाँले ललितकलाको पाठ्यक्रम निर्माणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँ सिर्जनशील कलाकार मात्र नभएर कलाजगतका एक कुशल गुरु पनि हुनुहुन्छ ।

केही महिनाअघि अस्वस्थताका कारण उहाँको स्वास्थ्यमा आएको चुनौतीले हामी सबैलाई चिन्तित बनाएको थियो । तर, स्वास्थ्य लाभपछि उहाँमा देखिएको नवीन ऊर्जाले उहाँको सिर्जनात्मक जीवनलाई पुनः गतिशील बनाएको छ । उहाँको यो पुनरागमनले नेपाली कलाजगतमा एक नयाँ उत्साह थपेको छ । उहाँले नयाँ किसिमका कलाकर्ममा निरन्तरता दिन थाल्नुभएको छ, जसले उहाँको अटूट कलासाधनाको प्रमाण दिन्छ ।

कलाकार डङ्गोलको पहिचान ‘गणेश’ का विभिन्न कलात्मक आकृतिहरूलाई सुन्दर रूपमा उतार्ने एक विशेष शैलीमा छ । गणेशका चित्रहरूमा उहाँको गहन अध्ययन र साधना स्पष्ट देख्न सकिन्छ । यति मात्र नभएर पौभाशैली, धार्मिक तथा सांस्कृतिक विम्बहरूमा आधारित प्रतीकात्मक चित्र र आधुनिक शैलीका चित्र रचनामा पनि उहाँको बेजोड शिल्प र कलात्मकता झल्किन्छ ।

उहाँका कलाकृतिहरू हेर्दा उहाँ एउटै विषय, माध्यम वा शैलीमा मात्र सीमित हुनुहुन्न । उहाँको कलामा भाव सौन्दर्य, रङहरूको सन्तुलन, रेखा र आकृतिहरूको संरचना र क्यानभास वा कागजमा टेक्चरको नौलो प्रयोग एकैसाथ पाइन्छ । उहाँले कलाप्रेमी दर्शकहरूलाई नयाँ किसिमको दृश्य–स्वाद चखाउन सक्ने अद्वितीय क्षमता राख्नुहुन्छ ।

आफूले अष्टमातृका र दश महाविद्यासम्बन्धी चित्र पनि बनाउने गरेको पनि उहाँ बताउनुहुन्छ । कलाकार डङ्गोलले पेन्सिल, चारकोल, जलरङ, तेलरङ, एक्रिलिक, वास आदि सबै माध्यममा काम गर्नुहुन्छ । चारकोल माध्यमबाट बनाइएका ‘पोट्रेट’ रचनाहरू पनि निकै उम्दा रहेका छन् । उहाँले केही पौभाचित्र पनि बनाउनुभएको छ । त्यसो त आफूले कैयौँ ‘एब्स्ट्याक्ट आर्ट’ पनि बनाएको उहाँ बताउनुहुन्छ ।

कलाकार डङ्गोलका चित्रहरूमध्ये ‘गणेश’ का चित्रहरू विशेषगरी प्रसिद्ध छन् । उहाँले गणेशका विविध रूपहरूलाई जुन गहिराइका साथ अध्ययन गरेर क्यानभासमा उतार्नुभएको छ, त्यो अरू कलाकारहरूमा विरलै पाइन्छ । उहाँको कलाले आँखाहरूलाई मात्र होइन, मनलाई पनि स्पर्श गर्छ । उहाँ नेपाली कलाका यस्ता धरोहर हुनुहुन्छ, जसको सिर्जना र शिक्षण दुवै पक्षले नेपाली कलालाई समृद्ध बनाएको छ ।

सानै उमेरदेखि नै कलाप्रति आत्मीय झुकाव रहे पनि उहाँको जीवनयात्रा आरम्भदेखि नै कलाकार बन्ने निश्चित दिशातर्फ उन्मुख थिएन । बालमनमा चित्र र रेखाप्रतिको मोह पलाउँदै गएको थियो, तर समय, परिवेश र पारिवारिक अपेक्षाले उहाँलाई अर्कै बाटोतर्फ डोर्‍याइरहेको थियो । एसएलसी उत्तीर्ण गरेपछि उहाँले अमृत साइन्स कलेजमा भर्ना भई विज्ञान विषय अध्ययन गर्नुभयो । त्यो समय उहाँको लक्ष्य स्पष्ट डाक्टर बन्ने थियो । परिवारको चाहना पनि त्यही थियो, किनकि शिक्षित र प्रतिष्ठित पेसामार्फत भविष्य सुरक्षित बनाउने सपना सबैले देखिरहेका थिए ।

उहाँका पिता चन्द्रलालसिंह डङ्गोल जमिनदार हुनुहुन्थ्यो । पश्चिम कैलाली क्षेत्रमा उहाँहरूको प्रशस्त जग्गाजमिन थियो, जुन आज पनि रहेको उहाँ बताउनुहुन्छ । आर्थिक रूपले सबल पारिवारिक पृष्ठभूमि हुँदाहुँदै पनि गोविन्दलालसिंहको जीवन केवल सुविधा र सुनिश्चितताको कथा मात्र बनेन; त्यो आत्मसंघर्ष, खोज र परिवर्तनको यात्रा बन्यो । यहीबीच, वि.सं. २०१८ सालमा उहाँको परम्परागत विवाह कमलालक्ष्मी सिंहसँग सम्पन्न भयो, जसले उहाँको निजी जीवनलाई नयाँ जिम्मेवारी र स्थिरताको आयाम थप्यो ।

आफ्नो जीवनयात्राका विगत पानाहरू पल्टाउँदै उहाँ भावुक स्वरमा भन्नुहुन्छ– ‘किशोरवयमा प्रवेश हुँदासम्म पनि मभित्र कलाकार बन्ने कुनै सङ्केत र सम्भावना थिएन । मेरो लक्ष्य डाक्टर बन्ने थियो ।’

यो कथनले उहाँको जीवनको एउटा निर्णायक मोडतर्फ संकेत गर्छ । विज्ञान विषय अध्ययन गर्दै गर्दा भविष्यको योजना स्पष्ट देखिन थालेको थियो । तर कहिलेकाहीँ एउटा सानो घटनाले मानिसको सम्पूर्ण दिशा परिवर्तन गरिदिन्छ । उहाँको जीवनमा पनि त्यस्तै भयो ।

एक दिन, एकजना साथीको औँला काटिएर आलो रगत बगेको दृश्य देख्दा उहाँ सहन नसकी मुर्छा पर्नुभयो । त्यो क्षण केवल शारीरिक असहजता मात्र थिएन, त्यो उहाँको आत्माले आफ्नो वास्तविक बाटो चिनेको क्षण थियो । रगत देख्न नसक्ने स्वभाव र डाक्टर बन्ने सपना एकअर्कासँग मेल खाँदैनन् भन्ने कठोर यथार्थ त्यही क्षण उहाँसामु उभियो । विज्ञानको प्रयोगशालामा भएको त्यो घटनाले उहाँलाई गहिरो आत्ममन्थनतर्फ धकेल्यो र जीवनले मागिरहेको नयाँ बाटोको संकेत दियो ।

त्यसपछि, उहाँभित्र कतै दबिएर बसेको कलात्मक चेतनाले फेरि टाउको उठायो । रेखा, रंग र क्यानभासले उहाँलाई बोलाउन थाले । त्यहाँ रगत होइन, भावनाहरू बग्थे, जहाँ चिरफार होइन, सौन्दर्यको सिर्जना हुन्थ्यो । यही मोडबाट उहाँको जीवनले विज्ञानको बाटो छोडेर कलाको दीर्घ, कठिन तर आत्मसन्तोषले भरिएको यात्रातर्फ कदम बढायो ।

अन्तिम निष्कर्षका रूपमा हेर्दा, २०२८ सालमा मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कला प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरी नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल कलाकार गोविन्दलालसिंह डङ्गोलको योगदान जति महत्त्वपूर्ण छ, त्यति अनुरूपको सम्मान र स्मरण भने नेपाली कलाक्षेत्रले गर्न सकेको देखिँदैन । त्यसयता उहाँको दीर्घकालीन साधना, सिर्जनशीलता र नेपाली चित्रकलामा पु¥याएको प्रभावलाई औपचारिक रूपमा कदर गर्ने सन्दर्भ अत्यन्तै सीमित रहेका छन् । २०५१ सालमा ‘वीरेन्द्र–ऐश्वर्य सेवापदक’ र २०५४ सालमा ‘सुप्रबल गोरखा दक्षिण बाहु’ तथा धेरै पछि २०७९ सालमा गंकी–धुस्वाँ बसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिएको ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ यसका उदाहरण हुन् । यस्ता थोरै सम्मानहरू पाएर पनि कलाकार डङ्गोलको योगदान समग्र रूपमा हेर्दा पर्याप्त रूपमा संस्थागत मान्यता र राष्ट्रिय सम्मानबाट वञ्चित नै रह्यो भन्न सकिन्छ । यही यथार्थसँगै, नेपाली कला इतिहासमा अमिट छाप छोडेका एक अथक साधक कलाकारको जीवनयात्रा अद्यापि कलासिर्जनाको कर्ममा तल्लीनै छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.