साहित्यपोस्ट डट कम

कलाकार श्यामदास अशान्तको कलाजीवन

कलाकार श्यामदास अशान्तको कलाजीवन

नेपाली कलाजगतका एक विशिष्ट साधक श्यामदास अशान्तको जीवन र कृतित्व सम्झिँदा, शब्दभन्दा पहिला उहाँको विनम्रता आँखा अगाडि आउँछ । उहाँको कला, कुनै प्रदर्शनको चाहनाबिना पनि समयसँग संवाद गरिरहन्छन् । चित्रकला उहाँका लागि जीविकाको साधन थिएन, त्यो उहाँको जीवनशैली, साधना र आत्म–अभिव्यक्तिको माध्यम थियो । उहाँका क्यानभासहरूमा नेपालको संस्कृति, परम्परा र जनजीवन सजीव भएर बाँचिरहेको देखिन्छ ।

विसं १९९५, ललितपुरको हौगल टोलमा जन्मिनुभएका श्यामदास अशान्त हाल ८७ वर्षको उमेरमा पनि कलाको उज्यालो बोकेर हिँडिरहनुभएको छ । उहाँको कलाप्रतिको झुकाव आकस्मिक थिएन, त्यो पारिवारिक विरासतकै निरन्तरता थियो । पिता लक्ष्मीदास राजकर्णिकार रोटीमा चित्र कोर्ने अनौठो र सिर्जनात्मक कलामा निपुण हुनुहुन्थ्यो । त्यही घरआँगनमै श्यामदासले रेखा, रङ र रूपको पहिलो पाठ सिक्नुभयो । पिताबाट प्राप्त परम्परागत सीप र आफ्नै जिज्ञासाले उहाँको कलामा संस्कृति, परम्परा र आधुनिक चेतनाको सुन्दर संगम निर्माण गर्‍यो ।

चित्रकार मात्र नभई श्यामदास अशान्त एक सशक्त डिजाइनरका रूपमा पनि परिचित हुनुहुन्छ । हुलाक सेवा विभागमा कार्यरत रहँदा उहाँले नेपाली नोटहरूको डिजाइन गर्नुभयो, जसले उहाँको सिर्जनशीलतालाई राष्ट्रिय स्तरमा स्थापित गर्‍यो । ती नोटहरू आर्थिक कारोबारका साधन हुन्, ती नेपालका इतिहास, संस्कृति र दृश्य पहिचानका दूत हुन् । दिनहुँ हातमा परिरहने ती नोटहरूमा उहाँको कलाले आमजनतासँग प्रत्यक्ष संवाद गरेको छ ।

यसरी, कलाकार श्यामदास अशान्तको जीवन एउटा कलाकारको मात्र कथा होइन, यो नेपाली कला, संस्कृति र परम्पराको निरन्तर यात्राको जीवित दस्तावेज पनि हो । सादगी, साधना र सिर्जनशीलताले बुनेको उहाँको जीवनले भावी पुस्ताका कलाकारहरूलाई आज पनि प्रेरणा दिइरहेको छ ।

श्यामदास अशान्तले २०२०–०२३ सालसम्म हुलाक सेवा विभागमा काम गर्नुभएको थियो । नोकरी अवधिमा उहाँले अनेकौँ हुलाक टिकटको डिजाइन गर्नुभयो । उहाँले उडकार्भिङ इन्डस्ट्रिज (प्रा.) लि. मा पनि मुख्य डिजाइनर भएर काम गर्नुभएको थियो । चित्रकला र डिजाइनको सीमाभन्दा बाहिर पनि उहाँको सिर्जनशीलता उत्तिकै सशक्त रूपमा फैलिएको देखिन्छ । ‘पोस्टर’ कलामा उहाँले देखाउनुभएको सौन्दर्यबोध र सन्देश प्रवाह गर्ने क्षमता विशेष उल्लेखनीय छ । राष्ट्रिय खेलकुद परिषद्का लागि तयार पारिएका उहाँले बनाउनुभएका ‘पोस्टर’ हरूमा खेलकुदको गति, उत्साह र राष्ट्रिय भावनालाई कलात्मक संवेदनासँग जोडिएको पाइन्छ । ती पोस्टरहरू सूचना दिने साधनका साथै खेलकुदलाई हेर्ने दृष्टिकोणलाई सौन्दर्यको तहमा उकास्ने प्रयास पनि बने ।

पुस्तकको आवरण ‘डिजाइन’ र ‘इलस्ट्रेसन’ मा पनि उहाँको योगदान छ । शब्द र दृश्यबीच सेतु बन्ने उहाँका आवरणहरूले पुस्तकभित्रको भावलाई पहिलो दृष्टिमै पाठकसम्म पुर्याउने काम गरेका छन् । रेखा, रङ र संरचनामा देखिने उहाँको संयमित प्रयोगले पुस्तकलाई पढिने वस्तु नभई हेर्नलायक कलाकृतिको रूप दिएको सहजै अनुभव गर्न सकिन्छ ।

उहाँले जीवनमा असंख्य चित्रहरू बनाउनुभएन । तर उहाँले जे जति सिर्जना गर्नुभयो, ती हरेक कृति समयसँग टिक्ने खालका छन् । उहाँका चित्रहरूमा देखिने गहिराइ, भावनात्मकता र सांस्कृतिक स्पर्शले दर्शकलाई सतही सौन्दर्यभन्दा पर पुर्‍याउँछ । यही गुणले उहाँलाई भीडबाट अलग पहिचान दिने कलाकार बनाएको छ । त्यो हो, कम बोल्ने तर धेरै भन्न सक्ने, थोरै सिर्जना गर्ने तर गहिरो प्रभाव छोड्ने एक सच्चा कलासाधक !

गत वर्ष २०८१ सालमा उहाँको सम्मानमा आयोजित समारोहमा प्रदर्शित कलाकृतिहरू उहाँको दीर्घ साधना, दृष्टि र कलात्मक अनुशासनका सशक्त साक्षी हुन् । पहिलो दृष्टिमै यी कृतिहरूले दर्शकलाई आकृष्ट गर्ने कुरा भनेको तिनको संयमित रचना, वास्तुकलाप्रतिको निष्ठा र मौन भावात्मकता हो । यहाँ कुनै आक्रामक रङ प्रयोग छैन, न त अतिरञ्जित कल्पना ! बरु, समयले घिसारेका संरचना, शान्त रेखा र स्मृतिजस्तै स्थिर दृश्यहरू छन् ।

प्रदर्शनीमा देखिएका अधिकांश कृतिहरूमा मन्दिर, पाटी–पौवा, परम्परागत घर, टुँडाल र झ्यालहरू प्रमुख विषय बनेका छन् । यी संरचनाहरूलाई कलाकारले भौतिक रूपमै होइन, संस्कृति र स्मृतिको वाहकका रूपमा प्रस्तुत गरेका छन् । रेखाचित्र र जलरङको सन्तुलित प्रयोगले कृतिहरूमा कोमलता र गहिराइ दुवै थपेको छ । रेखा स्पष्ट छन्, तर कठोर छैनन्; रङ सीमित छन्, तर भाव सम्पन्न छन् ।

यी कृतिहरूमा विशेष ध्यान दिनुपर्ने पक्ष भनेको वास्तुकलाको शुद्धता हो । अनुपात, संरचनात्मक सन्तुलन र विवरणप्रतिको कलाकारको सचेतता प्रष्ट देखिन्छ । यसले श्यामदास अशान्त चित्रकार मात्र नभई, परम्परागत नेपाली वास्तुकलाका सूक्ष्म अध्येता पनि हुनुहुन्छ भन्ने पुष्टि गर्छ । कतिपय कृतिहरूमा मानव आकृति अनुपस्थित भए पनि, ती संरचनाहरू स्वयं जीवन्त देखिन्छन्– मानौँ तिनले आफैं आफ्ना कथा भनिरहेका हुन् ।

समग्रमा, यी कृतिहरू आधुनिक प्रयोगको चक्काचौंधभन्दा टाढा रहेर संरक्षण, स्मृति र सांस्कृतिक उत्तरदायित्वको पक्षमा उभिएका छन् । यही प्रतिरोध र शालीन अभिव्यक्तिले श्यामदास अशान्तलाई समकालीन कलाकारहरूभन्दा अलग्ग स्थानमा उभ्याएको छ । प्रदर्शनी कलाकारप्रतिको सम्मान साथै नेपाली परम्परागत कला र वास्तुकलाप्रतिको श्रद्धाको पुञ्ज पनि हो । त्यहाँ प्रत्येक रेखा साधनाबाट आएको छ र प्रत्येक दृश्य समयसँग संवाद गरिरहेको हुन्छ ।

उहाँको कलामा काठमाडौँ उपत्यकाका झ्याल, टुँडाल, काठका मूर्तिकला र मन्दिरका संरचनात्मक तत्त्वहरू प्रमुख विषयका रूपमा देखिन्छन् । ती चित्रहरू दृश्य–सौन्दर्यका लागि मात्र नभई, वास्तुकला, आध्यात्मिकता र सांस्कृतिक अर्थ बोकेका छन् भन्ने कुरा उहाँका कलाकर्मले स्पष्ट गर्छ ।

उहाँ कुनै औपचारिक ‘कलात्मक वंश’ मा जन्मनुभएन, तर वरिपरि रहेको मठमन्दिर, कलाकौशल, जनजीवन, पूजा–संस्कार, सजावटहरू, चाडपर्वका तयारी र परम्परागत वातावरणबाटै कला सिक्नुभयो भन्ने कुरा उल्लेख छ । बाल्यकालमा चिनिमाटो र खाद्य सामग्री प्रयोग गरेर देवी–देवताका आकृतिहरू बनाउनु उहाँको प्रारम्भिक अभ्यास थियो ।

कलाकार श्यामदासले ‘एसियाली उत्पादकत्व सङ्गठन’ नामको अन्तर्राष्ट्रिय सङ्गठन (एपिओ) ले ‘झन्डा डिजाइन प्रतियोगिता’ आह्वान गरेको थियो । सो प्रतियोगितामा विभिन्न राष्ट्रबाट २७ जना डिजाइनरले आ–आफ्ना डिजाइन पठाएका थिए । तीमध्ये नेपालका कलाकार श्यामदास ‘अशान्त’ को डिजाइन छनोट भएको थियो । उहाँले प्रथम पुरस्कारसहित तीन हजार अमेरिकी डलर पनि पाउनुभएको थियो ।

उहाँले २०२८ सालमा श्री ५ को सरकार, टक्सार विभागद्वारा आयोजित दसपैसे ‘सिक्का डिजाइन प्रतियोगिता’ मा पनि भाग लिनुभई प्रथम पुरस्कार पाउनुभएको थियो । उहाँले २०२० सालमा तत्कालीन प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ललितकला प्रदर्शनीमा आफ्नो ‘बज्रबाराही’ शीर्षक चित्रका लागि प्रथम पुरस्कार पाउनुभएको थियो । त्यसपछि उहाँले २०२७ र २०३८ सालमा दुई पटक नेपाल ललितकला संस्थाद्वारा आयोजित ललितकला प्रदर्शनीमा भाग लिएर दुवै पटक पुरस्कार प्राप्त गर्नुभएको थियो ।

उहाँको एकल चित्रकला प्रदर्शनी २०५१ सालमा गाःबहाल, पाटनमा भएको थियो । जसको उद्घाटन वरिष्ठ साहित्यकार तथा समालोचक कृष्णचन्द्रसिंह प्रधानले गर्नुभएको थियो । सो प्रदर्शनीमा उहाँले सिर्जना गर्नुभएका विविध चित्रकला, टिकटका डिजाइनहरू र कलात्मक रेखाचित्रहरू समावेश थिए । ती कृतिहरूले उहाँको बहुआयामिक प्रतिभा र लामो साधनाको कथा एउटै ठाउँमा बोलेका थिए ।

रेखाचित्र र जलरङको संयमित प्रयोगले कृतिहरूलाई कोमल तर दृढ बनाएको छ । रङहरू सीमित छन्, तर भावनात्मक तह गहिरो छ । रेखाहरू स्पष्ट छन्, तर कठोर छैनन् । यही सन्तुलनले श्यामदास अशान्तको कलात्मक परिपक्वता र अनुशासन प्रकट गर्छ । विशेषतः अनुपात, संरचनात्मक सन्तुलन र सूक्ष्म विवरणप्रतिको ध्यानले उहाँलाई चित्रकार मात्र होइन, परम्परागत नेपाली वास्तुकलाका सूक्ष्म अध्येता पनि प्रमाणित गर्छ ।

यी कृतिहरूमा आधुनिकताको चकाचौंधभन्दा पर बसेर संरक्षण र सांस्कृतिक उत्तरदायित्वको चेत स्पष्ट देखिन्छ । समयसँगै हराउँदै गइरहेका संरचनाहरूलाई कलाकारले क्यानभासमा स्थायी बनाउने प्रयास गरेका छन् । यस अर्थमा, यो प्रदर्शनी सौन्दर्यको अनुभव मात्र नभई सांस्कृतिक चेतनाको स्मरण पनि हो ।

समग्रमा, श्यामदास अशान्तका यी कृतिहरूले नेपाली परम्परागत कलाको शक्ति उजागर गर्छन् । कम सिर्जना तर गहिरो प्रभाव छोड्ने उहाँको कला–दृष्टिले समकालीन कला प्रवाहमा एक अलग्ग र सम्मानित स्थान ओगटेको छ । उहाँ एक व्यक्तिको सम्मान मात्र होइन, नेपाली कला र वास्तुकलाप्रतिको सामूहिक श्रद्धाको पुञ्ज पनि हो– जहाँ प्रत्येक रेखा साधनाबाट जन्मिएको छ र प्रत्येक दृश्य समयसँग संवाद गरिरहेको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.