विसं २०६८, कात्तिक १९ गते शनिबारको साँझ ! दिन ढलेर साँझ ओर्लिंदै गर्दा पनि कलापारखी दर्शको चहलपहल बाक्लै थियो ।
नेपाल कला परिषद्, बबरमहलको कलादीर्घा चित्रहरूको प्रदर्शनीस्थल मात्र थिएन, त्यो दिन त्यो एउटा जीवित संवेदनाको उद्यान बनेको थियो । भित्ताभरि टाँगिएका कलाकृतिहरू मौन भाषामा बोलिरहेका थिए– कहीँ रङहरू मुस्कुराइरहेका थिए । तिनले दर्शकलाई सौन्दर्यको गाथा गाइरहेका थिए । कहीँ रेखाहरू पीडाको कथा सुनाइरहेका थिए । दर्शकहरूको भीड ती चित्रसँग संवाद गरिरहेका हुन्थे । कोही टोलाइरहेका, कोही मुस्कुराउँदै, कोही गम्भीर हुँदै सोचिरहेका थिए ।
त्यही भीडबाट अलिक पर, ढोकाको संघारैमा उभिएका हामी– प्राज्ञ शारदा चित्रकारको सौम्य मुस्कानमा कलाप्रतिको आत्मीयता झल्किरहेको थियो । उहाँको आँखामा अनुभवको उज्यालो थियो– जसले धेरै पुस्ताका कलाकारलाई उज्यालोतर्फ डोर्याएको छ ।
छेउमै कलाकार हरि खडका सरल अनुहार, तर भित्र कलाको अथाह गहिराइ बोकेको व्यक्तित्व । उहाँको दृष्टिमा नम्रता थियो, तर त्यो नम्रताभित्र सिर्जनाको दृढ आत्मविश्वास लुकेको देखिन्थ्यो । पछाडि उभिनुभएका प्राज्ञ कर्ण मास्के– सेतो दाह्री र शान्त अनुहारले कलाको गम्भीरता बोकेको । उहाँको आँखामा समयसँग साक्षात्कार गरेको विद्वताको चमक थियो, जसले कलालाई दृश्य नभई चिन्तन बनाएको छ ।
बीचमा संस्कृतिविद् सत्यमोहन जोशी– नेपाली संस्कृतिको जीवित इतिहास ! उहाँको अनुहारमा थकाइ होइन, यात्राको गर्व थियो । हजारौँ वर्षको सभ्यता बोक्दै हिंडेको मान्छेको शान्त मुस्कान, जसले भनेजस्तै भन्थ्यो– “संस्कृति कहिल्यै मर्दैन ।”
कलाकार शंकरनाथ रिमाल– अलि गम्भीर भावमा, तर आँखाभित्र कल्पनाको आँधी चलिरहेको । सिर्जनाका असंख्य आकृतिहरू उहाँको दृष्टिमा घुमिरहेका जस्ता लाग्थे । र, म– ज्ञानेन्द्र विवश, त्यस क्षणलाई शब्दमा कैद गर्न मनमनै प्रयास गरिरहेको एक कलापारखी ! चित्र हेरेर मन भरिएको थियो, तर त्यो भरिएको मन अझै केही खोजिरहेको थियो । स्मृतिको एउटा स्थायी चिनो खिचेर राख्ने ध्याउन्नमा थियो ।
ग्यालरीभित्र कलाकृतिहरूले आँखालाई तृप्त गरिरहेका थिए, तर बाहिर तस्वीरले मनलाई । यो सामूहिक तस्वीर थिएन । यो थियो– नेपाली कला, संस्कृति र सिर्जनाको साझा इतिहासको एक ‘फ्रेम’ थियो । हरेक अनुहार एउटा पुस्तकजस्तै थियो– कसैमा संघर्षका पाना, कसैमा साधनाका अध्याय, कसैमा संस्कृतिको दीर्घ यात्रा र कसैमा भावनाको काव्य । दर्शकहरू आउँथे, चित्र हेर्थे, रमाउँथे र फर्किन्थे । तर, हामी भने त्यो साँझ फर्किएनौँ– हामी स्मृतिको एउटा अमिट चित्र बोकेर फर्कियौँ ।
आज ती भित्ताका चित्रहरू सायद फेरिएका होलान् । त्यो भीड पनि इतिहास भइसकेको होला । तर यो तस्वीर– नेपाली कलाको एक सुनौलो साँझको साक्षी बनेर समयको एल्बममा सदैव मुस्कुराइरहनेछ । किनकि कलाकृति भित्तामा टाँगिन्छ, तर कलाकार र संस्कृतिविदहरू समयको हृदयमा ।
पहिलो भागमा कलाकृतिहरूको सौन्दर्यले मन तृप्त भएको थियो भने, दोस्रो भागमा त्यो साँझले हामीलाई जीवनकै एउटा सूक्ष्म तर गहिरो दर्शन सिकाउँदै थियो । ग्यालरीको ढोकामा उभिएर स्मृतिको चिनो खिच्ने तयारी हुँदै गर्दा, त्यो क्षण तस्वीरको फ्रेममा सीमित रहेन– त्यो जीवनलाई हेर्ने फरक–फरक दृष्टिकोणहरूको सजीव संवाद बन्यो ।
मैले फोटो खिच्ने व्यक्तिलाई अलि व्यावहारिक भावले भनेँ– “अलि पछाडि गएर खिच्नुहोला । दुई–तीनवटा पोज है । कसैको आँखा चिम्लेला, कसैको अनुहार नराम्रो आउला । धेरै खिचियो भने छान्न मिल्छ । छाप्नलाई उपयुक्त हुनेछ । आज खिचेको यो तस्वीर भोलिका लागि स्मृति–अभिलेख पनि हो ।”
यो मेरो कुरा तस्वीरप्रतिको चासो मात्र थिएन, त्यो मानिसले आफ्नो जीवन पनि छनोट गरेर देखाउन चाहने स्वभावको प्रतिनिधि थियो । हामी सधैँ राम्रो क्षण छान्न चाहन्छौँ, सुन्दर पक्ष मात्रै संसारलाई देखाउन चाहन्छौँ ।
त्यसैमा प्राज्ञ कर्ण मास्केले मुस्कुराउँदै थप्नुभयो– “हो विवशले सही कुरा गर्नुभयो । छाप्नलाई त फोटो राम्रो हुनुपर्यो । अनुहार पनि हाँसेकै जस्तो हुनुपर्यो नि, किन रुने रूप देखाउनुपर्यो र !”
उहाँको भनाइमा जीवनको एउटा प्रचलित सत्य झल्किएको थियो– मानिस खुसीको अनुहारलाई सम्झन चाहन्छ, दुःखलाई लुकाउन चाहन्छ । इतिहास पनि प्रायः मुस्कानकै तस्वीर जस्तै छापिन्छ, आँसुहरू भने ‘फुटनोट’ जस्ता मात्र हुन्छन् ।
मैले फेरि जोड दिएँ– “त्यही भएर धेरै फोटो खिच्नुहोला । सबैको अनुहार राम्रो आओस्, सक्कली रूप त्यसमा देखियोस् ।”
तर त्यो व्यावहारिक सोचमाथि संस्कृतिविद् सत्यमोहन जोशीको दर्शन झर्यो– नरम हाँसोसहित, तर गहिरो अर्थ बोकेर । उहाँले भन्नुभयो– “त्यसरी मिलाएको तस्वीर बनावटी हुन्छ । जस्तो छ त्यस्तै अनुहार नै स्वाभाविक हो । कोही भर्खर चित्र देखेर खुसी होला, कोही चित्रको देखद पाटोले दुखी होला, कसैको अनुहार हाँसिरहेको पनि होला– त्यही नै प्राकृतिक हो नि । किन त्यसमा तयार गरिएको नक्कली रूप देखाउनुपर्यो र ?”
त्यो वाक्यले हठात् मलाई झस्काइदियो । साँच्चै– हामी किन सधैँ जीवनलाई ‘एडिट’ गर्न खोज्छौँ ? किन पीडा काटेर खुसी मात्रै देखाउन चाहन्छौँ ? किन थकाइ लुकाएर मुस्कान टाँस्न बाध्य हुन्छौँ ?
जोशीको विचारले तस्वीर मात्र होइन, समग्र जीवनलाई हेर्ने दृष्टि उजागर गरिरहेको थियो । स्वाभाविकता नै सत्य हो, बनावट सौन्दर्य होइन– यो उहाँको मौन दर्शन थियो ।
त्यसैबीच कलाकार हरि खड्काले सहजतासाथ प्रतिवाद गर्नुभयो– “हैन सर, छाप्नलाई त अनुहार अलि निन्याउरो भन्दा हाँसेकै, खुसी भएकै राम्रो हुन्छ नि !”
कलाकारको मनले सुन्दरता खोज्छ । जहाँ संस्कृतिविद् सत्य खोजिरहेका थिए, त्यहाँ कलाकार सौन्दर्य खोजिरहेका थिए । दुवै सही– तर फरक कोणबाट । र, ती सबै संवादबीच इन्जिनियर शंकरनाथ रिमाल र प्राज्ञ शारदा चित्रकार चुपचाप उभिएर मुस्कुराइरहनुभयो ।
उहाँहरूको मौन हाँसो आफैँमा एउटा उत्तर जस्तै थियो– शायद जीवनमा कहिलेकाहीँ बहस होइन, अनुभूति नै पर्याप्त हुन्छ । वास्तवमा तस्वीर खिच्नु भनेको अनुहार कैद गर्नु मात्रै होइन रहेछ, त्यो त भोलिका निम्ति दर्शन कैद गर्नु रहेछ ।
कसैका लागि तस्वीर सुन्दर हुनुपर्छ, कसैका लागि स्वाभाविक । कसैका लागि छाप्न योग्य, कसैका लागि सत्य योग्य । जीवन पनि त यस्तै हो– हामी सबै आ–आफ्नो कोणबाट त्यसलाई ‘राम्रो’ बनाउन खोज्छौँ । शायद सबैभन्दा सुन्दर रूप त्यही हो– जुन बिना सजावट, बिना छनोट, जस्तो छ त्यस्तै रहन्छ ।
त्यो तस्वीर अन्ततः कस्तो आयो, त्यो महत्त्वपूर्ण भएन । महत्त्वपूर्ण त त्यो क्षणमा जन्मिएको सोच थियो– सौन्दर्य बनावटमा हो कि स्वाभाविकतामा ? खुसी देखिनुमा हो कि सत्य स्वीकार्नुमा ?
आज त्यो तस्वीर हेर्दा म अनुहारहरू देख्दिनँ । म त्यहाँ दर्शन देख्छु– मुस्कानभित्र लुकेको थकाइ, चित्र हेरेर पाएको सन्तुष्टिको आभास, मौनताभित्रको सहमति र स्वाभाविकताभित्र लुकेको गहिरो सौन्दर्य !
त्यो साँझ कलादीर्घाबाट हामी कलाको अनुभूति बोकेर मात्रै फर्किएका थिएनौँ । हामीले जीवनलाई हेर्ने नयाँ आँखासमेत लिएर फर्किएका थियौँ । कुनै पनि कलाकृति हेर्नु भनेको त्यसबाट केही नयाँपनको महसुस गर्न सक्नु र आफूलाई सकारात्मक ऊर्जाले भरिपूर्ण पार्नु पनि हो ।
त्यो साँझका संवादहरू टुंगिएपछि म भित्रभित्रै सोच्न थालेँ– तस्वीर खिच्नु आखिर के हो ? कसैका लागि त्यो एउटा सोख हो– जहाँ क्यामेराको क्लिकसँगै खुसी साटिन्छ । कसैका लागि त्यो एउटा खोज हो– समयलाई रोक्ने प्रयास, तत्क्षणलाई अमर बनाउने साधना । कसैका लागि भोलिको स्मृति हो–आजको हाँसो भोलि सम्झनाको आँसु बन्ने पुल । कसैका लागि भने फेसबुकमा पोस्ट गर्ने एउटा क्षणिक मनोरञ्जन मात्रै ।
यद्यपि सबै मानिस तस्वीर खिच्न रुचाउँदैनन् । कतिपयलाई क्यामेराको आँखाले असहज बनाउँछ । कतिपयलाई आफ्नो स्वाभाविक रूप नै प्रिय लाग्छ– न कैद, न प्रदर्शन । तर जो रुचाउँछन्, उनीहरू खिच्छन्, खिचिरहन्छन् । किनकि एउटा तस्वीर दृश्यसँगै त्यो समयको यौटा सग्लो दस्तावेज हो ।
एउटा तस्वीरले धेरै अर्थ बोक्छ । त्यसले हाँसोको कथा सुनाउँछ, त्यसले पीडाको मौन भाषा बोल्छ, त्यसले बितेका क्षणलाई वर्तमानमा ल्याइदिन्छ । इतिहास पनि त अन्ततः तस्वीरकै विस्तार हो–कहिले कागजमा, कहिले अभिलेखमा, कहिले स्मृतिमा । त्यसैले तस्वीर खिच्नुपर्छ– न सोखका लागि मात्र होइन, साक्षीका लागि ।
आज फर्केर हेर्दा, त्यो दिन हामी कति मुस्कुरायौँ, कति गम्भीर भयौँ– समयले सबै बताइदिएको छ । यो तस्वीर हेर्दा म फेरि त्यही साँझमा पुग्छु । ग्यालरीका भित्ताहरू, कलाकृतिहरू, संवादहरू ! यी सबै आँखा अगाडि जीवित हुन्छन् ।
त्यससँगै मेरा अग्रजहरूले बोलेका ती दर्शनपूर्ण वाक्यहरू झलझली सम्झन्छु । तर समय निर्दयी पनि हुँदोरहेछ । त्यस तस्वीरमा सँगै उभिएका प्राज्ञ कर्ण मास्के र संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आज यो संसारमा हुनुहुन्न । तर तस्वीरमा उहाँहरू अझै मुस्कुराइरहनुभएको छ । यौटा तस्वीरको यो चिनो–चिर्कटो वस्तुतः सम्झनाको एक झिल्को मात्र होइन । समयभन्दा धेरै पर, मृत्युभन्दा अझै पर यसको औचित्य रहिरहन्छ । यदि त्यो दिन, त्यो साँझ यो तस्वीर दैलैमा उभिएर यसरी नखिचिएको भए यति लेखन पनि लेखिंदैनथ्यो । यति सम्झना पनि गरिँदैनथ्यो ।
वस्तुतः यो नै तस्वीरको शक्ति हो । शरीर गुम्छ, क्षण बित्छ, तर स्मृति बाँच्छ । सम्झना तस्वीरमा ताजा भएर उपस्थित हुन्छ ।
आज उहाँहरूलाई सम्झिँदा मन श्रद्धाले भरिन्छ । शब्दहरू मौन हुन्छन् । हृदय नतमस्तक हुन्छ ।
उहाँहरूप्रति सतत् नमन गर्दै म यो आलेख टुंग्याउँछु । यो एउटा तस्वीरको कथा मात्रै होइन, यो समय, स्मृति र मानवीय अनुभूतिको कथा हो । किनकि तस्वीर खिच्नु भनेको अनुहार कैद गर्नु होइन– यो त जीवनको एउटा पललाई अनन्ततामा रूपान्तरण गर्नु पनि हो ।

