साहित्यपोस्ट डट कम

कला–निबन्ध : कलामा प्रकृतिको रङ, जीवनको प्रेम

कला–निबन्ध : कलामा प्रकृतिको रङ, जीवनको प्रेम

कलामा प्रकृतिको रङ र जीवनप्रतिको प्रेम दृश्य–सौन्दर्यको प्रस्तुति मात्र होइन, यो एउटा विराट अनुभूतिको अभिलेखन हो । जहाँ कलाकारको अन्तर्मनका चाहना र भावनाहरू रङको माध्यमबाट अवतरित हुन्छन् । क्यानभासमा सीमाबद्ध देखिने रेखा र रङहरू वास्तवमा जीवनका असीम अनुभूतिहरूका प्रतिविम्ब हुन् । यस अर्थमा कला हेर्ने वस्तु मात्र नभई महसूस गर्ने यात्रा पनि बन्छ ।

यही कलात्मक चेतनाको सुन्दर उदाहरण प्रा.डा. सविना श्रेष्ठका चित्रकृतिहरूमा देख्न सकिन्छ । सिर्जनाका तमाम विधाहरूमा आफूलाई सफल बनाउन उद्दत उहाँको रचनाकर्म जीवन र प्रकृतिबीचको सन्तुलनको खोज हो । पेशाले वरिष्ठ आँखा रोग विशेषज्ञ भए तापनि कर्म र चेतनाले उहाँ एक बहुआयामिक सिर्जनाकर्मी हुनुहुन्छ । कवयित्री, कथाकार, गायिका, गीतकारका साथै चित्रकार व्यक्तित्वका रूपमा उहाँको पहिचान स्थापित भइसकेको छ । विज्ञान, साहित्य र कलाको यस्तो दुर्लभ समन्वय नेपाली सांस्कृतिक परिदृश्यमा प्रेरणादायी छ ।

वरिष्ठ आँखा रोग विशेषज्ञ जस्तो अत्यन्त व्यस्त पेशागत जीवनका बीच पनि प्रा.डा. श्रेष्ठले सिर्जनालाई निरन्तरता दिनु आफैँमा उल्लेखनीय पक्ष हो । उहाँको दोस्रो एकल चित्रकला प्रदर्शनीको समापनका अवसरमा उहाँलाई भेटेर बधाई तथा शुभकामना दिँदा र प्रदर्शनीमा राखिएका कलाकृतिहरू अवलोकन गर्दा एउटा जिज्ञासा मनमा उठिरह्यो– एक व्यस्त चिकित्सकले कसरी यति गहिरा र संवेदनशील सिर्जनाहरूलाई सार्वजनिक रूप दिन सक्नुभयो ?

अपितु, दन्तमोहनी मुस्कान उहाँको पहिचान हो । सधैँ हँसिलो स्वभाव र खुशीको मूड उहाँको चिनारी हो । यही सन्तोषी स्वभावमा सिर्जनात्मक ध्यान र ध्याउन्नले उहाँलाई चुपचाप बसाउँदैन । केही लेखिरहन, केही गुन्गुनाइरहन र केही केरिरहन प्रेरित गरिरहन्छ । केही महिनाअघि मानभवनस्थित उहाँको कला स्टुडियोमा कोठाभरि अटी नअटी चित्र–क्यानभास देख्दा लाग्थ्यो– डाक्टरको व्यस्त जीवनले शायद एकझप्को निद्रा पनि राम्रो पाएको छैन कि ?

मेरो जिज्ञासामा सहमति जनाउँदै वरिष्ठ कलाकार गोविन्दलालसिंह डंगोल, जो उहाँका गुरु पनि हुनुहुन्छ ले पनि भन्नुभएको थियो– हो, कसरी मात्रै समय निकालेको होला ? त्यसमाथि कार्यक्रम, भ्रमण आदिमा समय दिनुपर्‍यो ।

यस्ता धेरै जिज्ञासाको उत्तर उहाँका चित्रहरूले आफैँ बोल्छन् । उहाँका कविता, गीत र कथाहरूले नै बताउँछन् ।

‘अन्तर्मनको प्रस्फुटन’ शीर्षकमा पछिल्लो चार वर्षमा सिर्जना गरिएका १२५ वटा चित्रहरू समेटिएको सो एकल प्रदर्शनी कलाको प्रदर्शनी मात्र थिएन, त्यो कलाकारको आत्मसंवादको सार्वजनिक दस्तावेजसमेत थियो । ती चित्रहरूमा प्रकृति, मानवीय संवेदना, प्रेम, पीडा, शान्ति र आशाका अनेक तहहरू रङ, रेखा, आकृतिका अनेकौँ स्वरूपहरूमा अभिव्यक्त हुँदै ती कलाका माध्यमबाट अभिव्यक्त भएका छन् । कतै सौम्यता छ, कतै तीव्र भावनाको विस्फोट; कतै मौनता छ, कतै जीवन्त संवाद ।

प्रा.डा श्रेष्ठका चित्रकृतिहरूमा देखिने अर्को महत्त्वपूर्ण पक्ष भनेको दृष्टिको सूक्ष्मता हो । आँखाको चिकित्सक भएकाले हुनसक्छ, उहाँका चित्रहरूमा दृश्य सन्तुलन, प्रकाश–छायाको प्रयोग र रङहरूको संयोजन अत्यन्त सजग देखिन्छ । तर यो केवल प्राविधिक दक्षतामा सीमित छैन; यसमा भावनात्मक गहिराइ मिसिएको छ, जसले दर्शकलाई आफ्नै अन्तर्मनतर्फ फर्किन बाध्य बनाउँछ ।

समग्रमा भन्नुपर्दा, श्रेष्ठको चित्रकला यात्रा अन्तर्मन, जीवन र प्रकृतिको त्रिवेणी हो । उहाँका कलाकृतिहरूले कला जीवनबाट अलग होइन, जीवनकै अर्को सुन्दर भाषा हो भन्ने सन्देश दिन्छन् । विज्ञान र कलाबीच पुल निर्माण गर्दै अघि बढिरहेको उहाँको सिर्जनात्मक यात्रा नेपाली कला जगतका लागि महत्वपूर्ण योगदानका रूपमा स्मरणीय रहनेछ ।

डा. सविनाका चित्रहरूमा प्रकृति, जीवन–जगत र माया–प्रेमका विविध आयामहरू सूक्ष्म तर प्रभावकारी ढङ्गले समेटिएका छन् । कतै रङहरूले प्रकृतिको स्वतन्त्रता बोल्छन्, कतै मानवीय सम्बन्धका न्यानोपन र द्वन्द्वहरू जीवन्त देखिन्छन् । यी चित्रहरू सौन्दर्यको प्रस्तुति नभई जीवनका भोगाइ र अनुभूतिहरूको दृश्यात्मक कथा हुन् ।

नेपाल कला परिषद, बबरमहलमा पाँच दिनसम्म सञ्चालन भएको उहाँको दोस्रो एकल चित्रकला प्रदर्शनी नेपाली कला जगतका लागि उल्लेखनीय सांस्कृतिक घटना बन्न पुग्यो । प्रदर्शनी उद्घाटन समारोहमा नेपाली कलाका वरिष्ठ हस्ताक्षरहरू सर्वश्री हरिप्रसाद शर्मा, के.के. कर्माचार्य र गोविन्दलालसिंह डंगोलको उपस्थिति स्वयंमा यस प्रदर्शनीको गरिमाको सूचक थियो । अनुभवी कलाकारहरूको उपस्थितिले डा. श्रेष्ठको सिर्जनात्मक यात्रालाई थप वैचारिक बल प्रदान गरेको अनुभूति हुन्थ्यो ।

उद्घाटन समारोहका क्रममा कलाकार सविना श्रेष्ठले व्यक्त गर्नुभएका भनाइहरू निकै मर्मस्पर्शी थिए । उहाँका शब्दहरूमा कलाकारको आन्तरिक संसारको गहिराइ प्रस्ट देखिन्थ्यो । “यो यस्तो क्षेत्र हो जहाँ मान्छेले आफ्ना सबै सीमाहरू बिर्सिन्छ र कलाकारको आफ्नै ब्रह्माण्ड त्यहाँ स्थापना हुन्छ । वरपरको कोलाहालले त्यसमा कुनै असर राख्दैन । कलासिर्जना गर्नु भनेको मेरा लागि ध्यानमा बस्नु जस्तै हो ।” भन्ने उहाँको अभिव्यक्तिले कलालाई साधनाका रूपमा बुझ्ने दृष्टिकोण उजागर गर्छ । यही ध्यानावस्था नै उहाँका चित्रहरूमा देखिने शान्ति र सन्तुलनको मूल स्रोत हो जस्तो लाग्छ ।

चित्रकलासँगै साहित्यिक सिर्जनामा पनि सक्रिय डा. श्रेष्ठले केही महिनाअघि मात्र ‘अकथ्यको प्रतिध्वनि’ नामक कथासंग्रह सार्वजनिक गर्नुभएको थियो, जसमा कारागारका निर्दोष बन्दीहरूका कथा–व्यथा समेटिएका छन् । यसले उहाँको सिर्जनात्मक चेतना व्यक्तिगत भावनामा मात्र सीमित नभई समाजका दबिएका आवाजहरूप्रति समेत संवेदनशील रहेको पुष्टि गर्छ । कला, साहित्य र सामाजिक उत्तरदायित्वको यो त्रिवेणी उहाँको व्यक्तित्वको विशिष्ट पहिचान हो ।

प्रदर्शनीको अर्को उल्लेखनीय पक्ष भनेको यसले पाएको दर्शक र संग्रहकर्ताको उत्साह हो । प्रदर्शनीमा राखिएका १२५ थान चित्रहरूमध्ये आधाभन्दा बढी चित्रहरू बिक्री भइसकेका थिए । अझ महत्त्वपूर्ण कुरा, बिक्रीबाट प्राप्त रकम ‘प्रोफेसनल सपोर्ट सर्भिस नेपाल’ नामक सामाजिक संस्थामार्फत सामाजिक कार्यमा उपयोग गरिने घोषणा गरिएको थियो । यसले कलालाई केवल व्यक्तिगत उपलब्धि नभई सामाजिक परिवर्तनको माध्यम बनाउने सोचलाई उजागर गर्छ ।

प्रदर्शनी उद्घाटन समारोहमा उपस्थित हुन नपाएको कारण समापनको दिन हस्याङफस्याङ गर्दै ग्यालरी पुगेको क्षण अझ स्मरणीय बन्यो । ग्यालरीमा कलापारखी दर्शकहरूको बाक्लो भीड थियो । पाहुनाहरूलाई जानकारी दिँदै, प्रश्नहरूको उत्तर दिँदै कलाकार स्वयं व्यस्त देखिनुहुन्थ्यो । त्यो दृश्य हेर्दा मनमा अनायासै आनन्दको अनुभूति भयो । लाग्यो–कलाप्रति आकर्षण अब केवल विदेशी आँखामा सीमित छैन, नेपाली दर्शकको आँखाले पनि कलाको मूल्य बुझ्न र त्यसमा रमाउन थालेको छ । यो परिवर्तन साँच्चै सुखद र आशावादी संकेत हो ।

यस अर्थमा, डा. सविना श्रेष्ठको चित्रकला प्रदर्शनी केवल व्यक्तिगत सिर्जनाको उत्सव मात्र नभई नेपाली कला चेतनाको विस्तारको प्रतीक बनेर उभिएको देखिन्छ ।

प्रदर्शनी अवलोकनको त्यो व्यस्त र उल्लासमय माहोलकै बीचमा डा. सविना श्रेष्ठका परिवारसँग भएको भेट अर्को मिलनको उत्सव जस्तै बन्यो । यो भेटले एउटा कुरा झनै स्पष्ट गरिदियो–उहाँको सिर्जनात्मक यात्रा व्यक्तिगत प्रयासमा मात्र सीमित छैन, यो त पारिवारिक चेतना र उत्तराधिकारको निरन्तरता हो । एकप्रकारले भन्नुपर्दा, उहाँको परिवार नै सिर्जना–संसारमा संलग्न देखिनु सुखद र प्रेरणादायी अनुभूति थियो ।

दुई डाक्टर दिदी–बहिनी र उहाँहरूकी आमा तीनै जनाका सिर्जनात्मक अभिव्यक्तिहरू एकै मञ्चबाट सार्वजनिक हुनु आफैँमा दुर्लभ क्षण थियो । पूर्व प्रशासक आमा मोतीशोभा श्रेष्ठ, डा. सिर्जना श्रेष्ठ र डा. सविना श्रेष्ठका छुट्टाछुट्टै कृतिहरू एकैपटक विमोचन हुनु पारिवारिक उपलब्धि मात्र नभई नेपाली साहित्य–संस्कृतिको साझा उत्सव जस्तै बन्यो ।

यस अवसरमा मोतीशोभा श्रेष्ठको ‘चियाको चुस्की’ लघुकथासंग्रह, डा. सिर्जना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ कवितासंग्रह तथा डा. सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ उहाँका बुबा विश्वमान श्रेष्ठको जीवनी कृति लोकार्पण गरिएको थियो । यी कृतिहरूले फरक–फरक विधा र दृष्टिकोणमार्फत जीवन, स्मृति र अनुभूतिलाई अभिलेख गरेका छन् । यसले सिर्जनालाई पेशा वा रुचिभन्दा धेरै माथि उठाएर अनुकरणीय पारिवारिक संस्कारका रूपमा स्थापित गरेको अनुभूति दिलायो ।

त्यससँगै डा. सविना श्रेष्ठको स्वर रहेको ‘मलाई सुनको हार हैन, प्यार भए पुग्छ’ शीर्षकको म्यूजिक भिडियो सार्वजनिक हुनु उहाँको बहुआयामिक प्रतिभाको अर्को सशक्त प्रमाण बनेको थियो । चिकित्सक, चित्रकार, लेखक र गायिकाको रूपमा उहाँको सक्रियता एउटै बिन्दुमा आएर मानव भावनाको मूल मर्म प्रेमलाई केन्द्रमा राखेर अभिव्यक्त भएको स्वतः नै महसूस भएको थियो ।

यी सबै घटनाक्रमहरूले वर्तमान सिर्जनात्मक उपलब्धिहरू मात्र होइन, विगतका सम्झनाहरूलाई पनि पुनर्जीवित गराए । बुबाको जीवनी कृतिमार्फत् जीवनका संघर्ष र योगदान सम्झिइयो, आमाका कथाहरूमा समय र समाजका स्वादहरू अनुभूत गरियो र दिदी–बहिनीका सिर्जनामा भविष्यप्रतिको आशा र संवेदनशीलता देखियो । यसरी विगत, वर्तमान र भविष्य एउटै सिर्जनात्मक धारामा जोडिएको महसुस भयो ।

समग्रमा, प्रा.डा. सविना श्रेष्ठको चित्रकला प्रदर्शनीबाट सुरु भएको यो यात्रा अन्ततः सिर्जनाको पारिवारिक परम्परा, सामाजिक उत्तरदायित्व र स्मृतिको सम्मानसम्म आइपुगेर सम्पन्न हुन्छ । कला यहाँ केवल क्यानभासमा सीमित छैन, न साहित्य पुस्तकमा मात्र थुनिएको छ– यो जीवनसँग जोडिएको अनुभूति हो, पुस्तादरपुस्तामा बगिरहने उज्यालो धार हो । यही धारले नेपाली कला र साहित्यलाई अझ समृद्ध बनाउँदै लैजाने विश्वासका साथ यो समीक्षात्मक यात्रा यहीँ पूर्णविराम लिन्छ ।

सिर्जनात्मक संसारमा यस किसिमका सिर्जनशील मनहरू एउटै परिवारमा एकत्रित हुनु र निरन्तर रूपमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक भइरहनु साँच्चै नै अत्यन्त खुसी र गौरवको विषय हो । यसले सिर्जनालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी पारिवारिक संस्कार र सामूहिक चेतनाका रूपमा स्थापित गरेको छ, जसले समग्र कला र साहित्यिक परिवेशलाई थप ऊर्जाशील र समृद्ध बनाइरहेको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.