नगेन आर्ट एकेडेमीले दिक्तेलमा आयोजना गरेको मझुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर दश कलाकार तथा एक सञ्चारकर्मीलाई विभिन्न सम्मान प्रदान गरेको छ ।
एकेडेमीले कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै गुल्मीका कलाकार भुवन थापामगरलाई ‘ललितकला डायमन्ड वर्ष व्यक्तित्व’ सम्मान प्रदान गरेको छ ।
त्यसैगरी, नवलपरासीका नरबहादुर विके ‘ललितकला डायमन्ड वर्ष पुरुष’ तथा चितवनकी इन्दिरा श्रेष्ठ (कमला) ‘ललितकला डायमन्ड वर्ष नारी’ सम्मानबाट पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
राष्ट्रिय समाचार समिति (रासस) बागमती प्रदेश प्रमुख वासुदेव पौडेललाई ‘ललितकला डायमन्ड वर्ष समीक्षक’ सम्मान प्रदान गरिएको छ । ‘कला क्रान्ति वर्ष मूर्तिकार’ सम्मानबाट झापाका केडी देवान, काभ्रेकी सुष्मा श्रेष्ठ, सुनसरीका कृष्ण चौलागाईं, सिन्धुलीका चित्रबहादुर थापामगर ‘सुमन’, उदयपुरका धिराज राई र सर्लाहीका गोपी श्रेष्ठ सम्मानित हुनुभएको छ ।
यसैगरी, भारतको कोलकाताका सर्फुदिन अहमदलाई ‘एम. एफ. हुसैन अन्तर्राष्ट्रिय अवार्ड’ प्रदान गरिएको छ ।
दिक्तेल बजारस्थित शुभम् फाउन्डेसनमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, ‘नेपाललाई विश्व उत्कृष्ट गन्तव्य बनाउने महाअभियान’का निर्देशक नकुल सिंह तथा विश्वकलायात्री प्राज्ञ नगेन सिंह ठकुरीलगायतले सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख भट्टराईले कला क्षेत्रको समुन्नतिका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले कला सङ्ग्रहालय स्थापना तथा बाँस उद्यान निर्माणलगायतका संरचना निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो ।
विश्वकलायात्री तथा प्राज्ञ ठकुरीले कला क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०६४ सालदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । सम्मानित व्यक्तित्वका तर्फबाट रासस बागमती प्रदेश प्रमुख पौडेलले कलाकारलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो ।
नगेन न्युज पब्लिकेशनले ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ प्रत्येक वर्ष अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दै आएको जनाएको छ । पब्लिकेशनका अध्यक्ष ज्योति हमालले कलाकृति बिक्रीबाट प्राप्त आम्दानीको ७० प्रतिशत कलाकारलाई, १० प्रतिशत पुरस्कारका लागि, १० प्रतिशत कल्याणकारी कार्यक्रमका लागि र १० प्रतिशत स्मारिका प्रकाशनका लागि छुट्याइने जानकारी दिनुभयो ।
प्राज्ञ ठकुरीले कोरोना महामारीका बेला कलाकारलाई सहयोग गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी शुरू गरिएको बताउनुभयो ।
प्रतियोगिताको निर्णायक मण्डलमा पाकिस्तानका प्राध्यापक डा. सुमेरा जवाद, भारतका दादुल चालिहा, टर्कीका प्राध्यापक डा. ओरहान सेब्राइलोग्लु, अष्ट्रेलियाका रे मर्स्डेन, काठमाडौंका एनबी गुरुङ तथा पोखराका प्राज्ञ नगेन सिंह ठकुरी रहनुभएको थियो ।

