तिब्बतमा रहेको पवित्र धार्मिक स्थल कैलाश पर्वतबारे अनेक धार्मिक, पौराणिक र लोककथात्मक किवंदन्तीहरू प्रचलित छन् । हिन्दू, बौद्ध, बोन र जैन धर्मका चारै परम्परामा यो क्षेत्र अत्यन्त पवित्र मानिन्छ । पछिल्लो समय कैलाश मानसरोवर जाने पर्यटकको संख्या पनि निकै बढेको छ । नेपाली साहित्यका विभिन्न साहित्यकारहरूले पनि यस क्षेत्रको भ्रमण गरेर आफ्ना अनुभूतिहरू प्रकाशनमा ल्याइसकेका छन् । काजी रोशनको ‘मानसरोवरमा डुबुल्की मार्दा’ र देविचन्द्र श्रेष्ठको ‘हुम्ला बोल्छ मानसरोवरमा’ यात्रा साहित्य कृतिका रूपमा साझा प्रकाशनबाट प्रकाशित भएका छन् । विजय ध्वज थापाको ‘कर्णालीको कुनोदेखि मानसरोवरसम्म’ विष्णुप्रसाद शर्मा पराजुलीको ‘तिब्बत यात्रा’मा पनि कैलाश मानसरोवरबारे जान्न पाइन्छ । फरक शैलीका साथ पर्यावरणलाई जोडेर लेखिएको रमेश भुसालको ‘छालबाटो’ मा पनि कैलाश मानसरोवरका यात्रा अनुभूति छन् भने पछिल्लो समय राजेन्द्रमान डङ्गोलको नविनतम कृति ‘कैलाश कोरा’ प्रकाशित छ ।
राजेन्द्रमान डङ्गोल नियात्रा लेखनमा स्थापित नाम हो उनको ‘यात्राका पाइला’ ‘पैतालामा हिउँ, आँखामा हिमाल’ ‘बादलडाँडा’ नामका कृति यसअघि नै प्रकाशित भइसकेका छन् । कैलाश कोरा उनको पछिल्लो कृति हो जुन पब्लिकेसन, नेपालय प्रकाशनबाट प्रकाशित छ । उनले दुई साता लगाएर कैलाश मानसरोवरको यात्रा गरेका थिए । उनको लेखनमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक चेतना र स्थानीय जीवनशैलीको प्रतिविम्ब प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । पछिल्लो कृतिमा यी विषय पनि सघन रूपमा प्रकट भएका छन् । कैलाश मानसरोवर क्षेत्र त्यससँगै जोडिएका ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक, कूटनीतिक आदि विषयहरूसँगै पर्यावरणीय चिन्तन अझ सशक्त रूपमा यो कृतिमा आएको छ ।
कैलाश कोरामा एघार परिच्छेदमा लेखकले आफ्ना यात्राअनुभूति लिपिबद्ध गरेका छन् । हृदयको गहिराइबाट आस्थाको शिखर यात्रा भनिएका एघार शीर्षकका यात्रावर्णनमा मुखर रूपमा आध्यात्मिक अनुभूतिको प्राधान्यता भेटिन्छ । कैलाश मानसरोवर यात्रा विश्वभरका हिन्दू, बौद्ध, जैन र बोन धर्मालम्बीहरूको लागि अत्यन्तै पवित्र यात्रा मान्ने गरिन्छ । तिब्बतको हिमाली क्षेत्रका सुन्दर दृश्यहरू, धार्मिक महत्त्व तथा आध्यात्मिक शान्तिका कारण यस यात्रा विशेष मानिएको अनुमान गर्न सकिन्छ । कैलाश कोरामा लेखकले आफ्नो यात्रालाई बाह्य यात्रा मात्र नभई आन्तरिक रूपान्तरणको यात्राका रूपमा प्रस्तुत गरेका छन् । कृतिको मूल शक्ति यात्राको अनुभूतिजन्य गहिराइ र हिमाली प्रकृतिको जीवन्त चित्रणमा निहित छ । विषयवस्तुको दृष्टिले कृतिले पवित्र तीर्थयात्राको मार्ग, कठिनाइ, वातावरण र यात्रु–मनोविज्ञानलाई समेटेको छ । लेखकले कैलाश पर्वत र मानसरोवर क्षेत्रलाई केवल भौगोलिक स्थलका रूपमा नभई आध्यात्मिक प्रतीकका रूपमा व्याख्या गरेका छन् । यसले नियात्रालाई सूचनामूलकभन्दा बढी अनुभूतिमूलक बनाएको छ ।
संरचनागत रूपमा कृति क्रमबद्ध यात्रावृत्तका रूपमा अघि बढ्छ । यात्रा तयारीदेखि कोरा सम्पन्न हुँदासम्मका चरणहरू व्यवस्थित रूपमा आएका छन्, जसले पाठकलाई यात्रासँगै अघि बढेको अनुभूति गराउँछ । रसुवागढी नाका पुगेर भिसामा स्ट्याम्प हानेपछि तिब्बती गाइडसँग केरुङतर्फ पुग्दा अध्यागमनका अनेक झन्झटहरू व्यहोरेको प्रसङ्गसँगै लेखन अघि बढ्छ । केरुङ र ल्हासामा भृकुटीले दुईवटा बुद्धको मूर्ति लगेको प्रसङ्ग अभिव्यक्त छ । केरुङमा गुम्बा नै गुम्बा र लुङ्दरका आकर्षक दृश्यले लेखकको मनमा आध्यात्मिक आनन्द छाएको अनुमान गर्न सकिन्छ । वरिपरिका घाँसे मैदानको पठारहरूको चर्चा पनि रोचक लाग्छ । होली हिमालयका ज्योति अधिकारीमार्फत् सुविधासम्पन्न कुक टोलीसँग गएकाले उनी मीठामीठा खानेकुरा खाइरहन पाउँछन् जुन कुरा सामान्य यात्रीका लागि सरल कुरा होइन । यात्रामा हिँड्दा भोक र तिर्खालाई बिर्सन सक्नुपर्छ । असजिलोलाई पचाउन सक्नुपर्छ नत्र सुविधाभोगी हुन खोज्नेले यात्रा गर्न असम्भवजस्तै हुन्छ । यो मामिलामा लेखक बडो भाग्यमानी छन् । मीठो खानपानसँगै गाइडले पनि राम्रोसँग जानकारी दिइरहेकाले लेखकको मन नयाँ कुराप्रति अझ बढी उत्साही भएर अवलोकन गरिरहेको प्रतीत पाठकलाई हुन्छ ।
सागादेखि मानसरोवरको ४८० किलोमिटर यात्रामा देखिने विशाल फाँट, चौरी, च्याङ्ग्रा र भेडाको बथानले तिब्बती भूगोलको स्थानीय जीवनशैलीलाई झल्काउँछ । हेर्न हुँदैन भनेको राक्षसतालकै बाटोबाट अगाडि बढ्नुपर्ने भएकाले लेखकले त्यता आँखा लगाउँछन् । किन राक्षस ताल भनियो भन्नेदेखि अनेक गुफा र पहाडका बारेमा सुनिँदै आएका किंवदन्तीलाई उधिन्ने र सूचना लिन उनी कत्ति बिर्सिन्नन् । लेखनको लोभलाग्दो पाटो हो उनको यो । अझ सचेत भएर स्थानीयबाट धेरै जानकारी लिइरहन्छन् उनी । मानसरोवरमा धार्मिक अनुष्ठानका बेला शिव र पार्वतीको धुनधान पूजा हुने कुरा गाइडबाट थाहा पाउँछन् । यो पावन भूमिमा लेखक पितृलाई तर्पण दिन्छन् । अमूर्त रूपमा आफ्नै मनबाट प्रकृतिपूजा गरिरहेका उनी जब बार्का भन्ने गाउँमा पुग्छन् नेपालको मनाङ जिल्लाको बार्का गाउँ सम्झन पुग्छन् । एउटा कविता नै फुर्न पुग्छ उनको कवि हृदयमा । आकाशीय दाहसंस्कार परम्परा ‘झातोर’ को स्थल थारबोचे जहाँ मृत शरीर चील र गिद्धलाई चढाइने अनौठो चलनका बारेमा पनि उनी उल्लेख गर्छन् । यो चलन सदियौँदेखि तिब्बतमा चलिरहेको छ । हाम्रै हिमाली परम्परामा समेत यो कायम रहेको कुरा ‘साम्बाला’ नेपाली चलचित्रमा हेर्न सकिन्छ ।
कैलाशका बारेमा धेरै गहन जानकारी यो पुस्तकमा रहेका छन्, जुन यसअघि विभिन्न लेखकले लेखेका कैलाश यात्राका पुस्तकमा समावेश भएका छैनन् । चार ठूला नदी ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्णालीको उद्गम थलोको शब्दचित्र यहाँ भेटिन्छ । सगरमाथा हिमाललाई उचाइका रूपमा चिनिएजस्तै कैलाशलाई ऊर्जाका रूपमा चिनिन्छ । कैलाश मानसरोवर जुन शिव भगवानको वासस्थान हो । शिव भनेको सत्य हो ‘ॐ नम शिवाय’ मन्त्रलाई भगवान् शिवको शक्तिशाली मन्त्र मानिन्छ । ॐ ध्वनि सृष्टिको प्रतीक हो । यो परमात्मा अनन्त ऊर्जा र शिवतत्वको सङ्केत पनि हो । शिवत्व भनेको बाहिरी चीज होइन । जब हामी आफ्नै अहङ्कार, लोभ र क्रोधलाई जित्छौँ तब प्रकट हुन्छ परम सत्य, प्रेम र मुक्तिको मार्ग । यही भावले कैलाश मानसरोवर आध्यात्मिक आभाषको पुञ्ज बन्न पुगेको छ । सयौँ तीर्थयात्री आफूभित्रको अहङ्कार पराजित होस् र असल मानव बन्न सकूँ भनेर पनि यो कठिन यात्रा गर्दा हुन् । जैन, बोन र तिब्बती बुद्ध धर्ममा पनि हिमाललाई कसरी प्रमुख शक्तिका रूपमा लिइन्छ र कैलाश कसरी उनीहरूका आस्थाका पूजक भए भनेर किवंदन्तीसहित लेखकले स्पष्ट पारेका छन् ।
रङ्गीन लुङ्दर र बौद्ध ध्वजाले वातावरण नै मोहक बनाएको प्रसङ्ग अत्यन्त सुन्दर छ । यति धेरै ज्ञानको खजाना खोजी गरी कैलाशका बारेमा अधिक जानकारी दिने लेखकको मिहिनेत यो पुस्तकमा प्रशस्त मात्रामा देखिन्छ । यात्राप्रति उनी किन मोहित छन् भन्ने बारेको उनको एउटा सुन्दर तल उद्धृत गरिन्छः
“यात्रा भनेको गन्तव्यमा पुग्ने कुरा मात्र होइन, बाटोमा सिकिने अनेकौँ पाठहरूको सँगालो पनि हो । यात्रा भनेको मनलाई सन्तुलनमा राख्ने मौका पनि हो ।” (पृ.४७)
भाषा र शैली कृतिको सबल पक्ष हो । लेखकको भाषिक सौन्दर्य मीठो छ । यात्रीको तत्परता, गतिशीलतासँगै चित्रात्मक परिदृश्यले पाठकलाई पनि सँगसँगै डोर्याइरहेको अनुभूति हुन्छ । हिमाली दृश्य, उचाइको प्रभाव, यात्राको शारीरिक कष्ट र आध्यात्मिक भाव, यी सबैलाई उनले बिम्बात्मक तर सहज ढङ्गले प्रस्तुत गरेका छन् । यसले पाठकलाई दृश्यात्मक अनुभूति दिलाउँछ र पुस्तक नसकिइन्जेल पाठकीय धैर्यलाई कायम राख्छ । लेखकको कैलाशप्रतिको श्रद्धा, विस्मय र सङ्घर्ष पाठकसम्म सञ्चारित हुन्छ । विशेषतः कोराका कठिन क्षणहरूमा देखिने आत्मसंवादले लेखनलाई आत्मअनुभूतिको उचाइसँगै साहित्यिक उचाइ दिएको छ ।
कैलाश मानसरोवरका यात्रामा पछिल्लो समय महिला यात्रीहरूको सहभागिता पनि प्रशस्तै देखिन्छ । महिलामैत्री शौचालयको अभावले महिला यात्रीले धेरै कष्ट भोग्नु परेका कुरा लेखकले उठाएका छन् । पछिल्ला समय यो समस्या पनि बिस्तारै समाधान हुँदै जाला । यस्तै अनेक विपद् झेल्नुपर्ने भएकाले जो कोहीले यात्रा गर्ने आँट गर्न सक्दैनन् । जसले आँट गर्छ, तिनले जीवनको मीठो अमृतपान गर्ने कुरामा दुई मत छैन । जे जति महिलाहरू कैलाश पुग्नुभएको छ उहाँहरूले पनि आफ्ना अनुभूति लिपिबद्ध गरिदिने हो भने पाठकलाई धेरै ज्ञान हुने थियो ।
समग्रमा, कैलाशकोरा कृति अध्यात्मसँग प्रकृति जोडेर लेखिएको सुन्दर कृति हो । किंवदन्ती र अन्य लोककथाहरू खोतल्ने लेखकको शैली प्रशंसायोग्य छ । स्थानीय परिवेश र तथ्यपरकताले कृतिको आभा अझै चम्किलो बनाएको छ । उचाइको यात्रा र प्रकृतिसँग लेखकको बढी लगाव भएका कारण संवादात्मक अंश अलि कम छन् । जे जति आएका छन्, ती सुन्दर छन् । तिब्बती जीवनशैलीको सांस्कृतिक विविधताले पाठकलाई नयाँ ज्ञान दिन्छ । नेपाली नियात्रा साहित्यमा प्रकृति र आध्यात्मिक अनुभूतिको सशक्त अभिव्यक्तिस्वरूप आएको कैलाश कोरा कृति महत्त्वपूर्ण कृतिका रूपमा रहने छ । यसले तीर्थयात्रालाई केवल धार्मिक कर्मकाण्ड नभई मानवीय सहनशीलता, विश्वास र आत्मान्वेषणको प्रक्रियाका रूपमा प्रस्तुत गरेको छ । कैलाश यात्रा गर्ने विभिन्न मार्गको नक्सासमेत पुस्तकमा राखिएको छ । कुन रुट जाने र कसरी फर्कने भन्ने सुलभ जानकारीसमेत यस पुस्तकमा भेट्न सकिन्छ । हिमाली तीर्थयात्रामा रूचि राख्ने पाठकका लागि यो कृति पठनीय र प्रभावकारी नियात्रा-सङ्ग्रह हो । तपाईंले पनि पढेर लाभ लिनुस् है !
लेखक: राजेन्द्रमान डङ्गोल
पुस्तकको नाम: कैलाश कोरा
प्रकाशक : पब्लिकेसन, नेपालय
विधा: नियात्रा
पृष्ठ: १५८
मूल्यः ३५०

