काठमाडौं । शारदा मासिक र भुँडीपुराण प्रकाशनको संयुक्त आयोजनामा गीतकार वीरेन्द्र पाठकका दुई गीतसङ्ग्रहलाई केन्द्रमा राख्दै लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुतलीसडकस्थित ग्रिनलिफ फुडमा आयोजित कार्यक्रममा सुप्रसिद्ध गीतकार राजेन्द्र थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे ।
कार्यक्रममा पाठकको पहिलो गीतसङ्ग्रह ‘कहीँ घाम कहीँ छाया’ को दोस्रो संस्करण लोकार्पण गरिएको हो । वि.सं. २०५८ मा प्रकाशित उक्त कृतिको नयाँ संस्करणमा पुराना ७१ गीतसँगै २१ नयाँ गीत थप गरिएको छ । कृतिबारे लेखक तथा साहित्यकार प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे ।
यसै अवसरमा पाठकको तेस्रो गीतसङ्ग्रह ‘लहरी लहरी’ माथि अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भयो । १सय ३३ गीत समेटिएको यस कृतिलाई तीन खण्डमा विभाजन गरी सुमन थापा संगम, मुरारीराज मिश्र र प्रा. सुधा शर्माले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा गीतकार पाठकद्वारा रचित एक गीत गायक जुजुकाजी रञ्जितले प्रस्तुत गर्नुभएकाे थियाे । शारदा मासिकका सम्पादक विमल भौकाजीले स्रष्टाको परिचय गराउनुभएकाे थियाे भने गीतकार पाठकले आफ्नो लेखकीय मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
समापनका क्रममा प्रमुख अतिथि थापाले गीत लेखनका विविध आयामबारे चर्चा गर्दै समीक्षक तथा अतिथिहरूलाई सम्मानस्वरूप उपहार प्रदान गर्नुभएकाे थियाे । कार्यक्रममा गीत–संगीत र साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
करिब डेढ घण्टा चलेको उक्त कार्यक्रम भुँडीपुराण प्रकाशनका केशव पराजुलीको धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो ।

