साहित्यपोस्ट डट कम

कविता : यो जुनी यस्तै भयो

कविता : यो जुनी यस्तै भयो

उसले पानीमा प्राण देख्यो

वायुमा आयु देख्यो

र वनमा जीवन भेट्यो

मैले पानीमा जवानी देखेँ

वायुमा वासना देखेँ

र जङ्गलमा मङ्गल भेटेँ ।

यही कारण

ऊ नारायण बन्दै गयो

म नारद बन्दै गएँ

यो जुनी यस्तै भयो ।

ऊ नम्बरको पछाडि लागेन

अमरको पछाडि लाग्यो

म पनि नम्बरको पछाडि लागिनँ

तर कम्मरको पछाडि लागेँ ।

ऊ अमर खोज्दै आयो, पायो र गयो

मैले अमरलाई अमर ठानिनँ

यो जुनी यस्तै भयो ।

उसले प्रयोगमा योग देख्यो

अध्ययनमा ध्यान भेट्यो

त्यसैगरी तनमा तन्त्र देख्यो

मनमा मन्त्र भेट्यो

र साधना गर्न थाल्यो ।

मैले तनमा शोक देखेँ

मनमा अतृप्त भोक भेटेँ

र बिलौना गर्न थालेँ ।

यही कारण

ऊ बुद्ध बन्दै गयो, म बुद्धू बन्दै गएँ

यो जुनी यस्तै भयो।

ऊ गुरु खोज्दै आयो

चिन्दै गयो, जान्दै गयो

पुज्दै गयो, बिस्तारै बुझ्दै गयो ।

म पनि गुरु खोज्दै हिँडेँ, छान्दै हिँडेँ

पुज्दै हिँडेँ, मान्दै हिँडेँ

मान्दामान्दै, पुज्दापुज्दै

मैले त गुरु बुझ्नै बिर्सेछु !

यही कारण म पत्थर बन्दै गएँ

ऊ शालिग्राम बन्दै गयो

यो जुनी यस्तै भयो ।

उसले मगन्तेलाई पनि मगन्ते देखेन

बरु सन्त देख्यो

मैले सन्तलाई पनि मगन्ते देखेँ ।

उसले बाँदरलाई पनि बाँदर देखेन

बरु हनुमान देख्यो

मैले हनुमानलाई पनि बाँदर देखेँ ।

ऊ राम खोज्दै आयो, पायो र गयो

म रामको देशमा जन्मेँ, तर रावण भएर बाँचेँ

यो जुनी यस्तै भयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.