साहित्यपोस्ट डट कम

कविता : यहाँ को बाँच्यो ? यहाँ को मर्‍यो ?

कविता : यहाँ को बाँच्यो ? यहाँ को मर्‍यो ?

यहाँ

कफिनमा सुतेकाहरू

उठेर हिँडिरहेका छन्,

र कुर्सीमा बसेकाहरू चिहानको निद्रामा छन् ।

नेता बाँचेका छन्

तर देशको धड्कन सुन्न सक्दैनन् ।

शहीद मरेका छन्

तर गल्ली–गल्लीमा अझै

प्रश्न बनेर हिँडिरहेका छन् ।

शहीदको रगत

सिँढी बनाइन्छ

सिँढीबाट कुर्सी चढ्छ

कुर्सीबाट ऐना हेर्दै भन्छ

“हामी राष्ट्रसेवक हौँ !”

र शहीद दिवसमा

चढाइन्छ एक मुठी फूल

बगाइन्छ एक थोपा आँसु

वर्षभरिको पाप ढाक्न मञ्चन गरिन्छ

यही एकदिने नाटक ।

यहाँ दोषीहरू माला लगाएर सम्मानित छन्

र इमानदारहरू भोकको रोग लगाएर देशभक्त ।

तर सुन, देश !

शहीद मरेर सकिएका छैनन्

हामी मौन बसेर सकिँदैछौँ ।

आजै प्रण गरौँ

अब शहीदलाई भित्तामा झुन्ड्याएर

पूजा मात्र होइन

छातीमा बोकेर प्रश्न गर्नेछौँ ।

किनकि यहाँ मर्नु ठूलो कुरा होइन

यहाँ जिउँदै सत्य हुनु

सबैभन्दा ठूलो बलिदान हो !

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.