सबै छन्
तिमी छैनौ सुनसान लाग्दैछ
तिमी नभएको सहर ।
उस्तै छन् यी साँझ
उस्तै छन् यी गल्लीहरू
एक्लाएक्लै उभिरहेछन्
सबै–सबै, उस्ता–उस्तै ।
हिजो तिमी थियौ
म थिएँ
हामी सँगसँगै, सबै थिए सँगै
तिमी, म अनि सहर !
हिजो हिँडेका बाटाहरू
हिजो खाएका बाचाहरू
तिमीसँगका नाताहरू
तिमीसँगैका साथहरू ।
समय परिवर्तन भएछ
न तिमी छौ, न म छु
न हामीसँग सम्बन्ध नै !
कुन सम्झिनु, कुन बिर्सिनु ?
अस्वाभाविक भएछ परिवर्तन पनि ।
अब मनले खुब याद गर्दैछ
ती नछुट्टिने हातहरू
मनले चुनेको साथहरू
अथाह माया, तिम्रो छायाहरू ।
सायद
पटक पटक सँगै भएको मान्छे
मानसपटलबाट कहिल्यै हराउँदैन होला ।
त्यसैले त यादहरू
यादको शृङ्खलामा डुबेका छन्
हर साँझझैँ यादहरू
याद पर्खिरहेछन् ।

