साहित्यपोस्ट डट कम

कविता : भ्यालेन्टाइन डे

कविता : भ्यालेन्टाइन डे

तिमीहरूको लागि

प्रेम सायद ‘रोज डे’ मा फक्रेको

गुलाफ मात्र हो ।

छुटको अफरमा किनिएका टेड्डीहरू

‘चकलेट डे’ मा महँगा चकलेटसँग साटिएका

गुलिया सामीप्यता र

फेसबुकका भित्तामा टाँसिएका

केही थान ‘आई लभ यु’ मात्र हो ।

तर प्रेम

विश्वासमा फुलेका सुगन्धित फूलहरू हुन्

जहाँ कोमल फूलको रक्षार्थ उम्रिएका

कठोर काँडाहरूले पनि

भावुकताको महसुस गर्छन् ।

प्रेम

कृष्णको त्याग, राधाको समर्पण

मदनको पर्खाइमा मुनाको छटपटाहट

रोमियोको ओठमा लतपतिएको विष

र त्यही विष चाटेर जुलियटले रोजेको मृत्यु

के प्रेम यति मात्र हो ?

‘रोज डे’ मा नबिकेका फूलहरू

‘प्रपोज डे’ मा व्यक्त गर्न नसकेका प्रस्तावहरू

र व्यक्त भएर पनि अस्वीकृत भएका मनहरू

किनिएर पनि खल्तीमै रहेका

गुलिया चकलेटका तीता अनुभवहरू

तिमीलाई नछोई हृदयले गरेका चुम्बन

अनि परबाट तिमीलाई अर्कै अङ्गालोमा हेर्दै

‘तिमी मात्र एक प्रेम’ भनी गरेका वाचाहरू

के यी प्रेम होइनन् ?

के प्रेम फेब्रुअरीमा मात्र फक्रिन्छ ?

अहँ !

मलाई पटक्कै मन पर्दैन यो फेब्रुअरी

‘गो टु हेल दिस फेब्रुअरी

जसले कयौँ गुलाफको रगत पिउँछ

अनि बेहोस लड्छ

एक विषकन्याको काखमा ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.