चरा भुर्र उडेर
पिपलको रुखमा बस्छ ।
पिपलका दाना टप्प टिप्छ
पाकेका फल
चराले ठुङ्छ ।
पिपल खुसी हुन्छ
“कसैमाथि मैले उपकार गरेँ” भनेर ।
चरा फेरि भुर्र उड्छ
आफ्ना बच्चाहरूलाई
आहारा खुवाउँछ
पुनः भुर्र उड्छ ।
कति स्वतन्त्र छ ऊ
सिङ्गो नभमा विहार गर्छ
उन्मुक्त उडानमा ।
नभमण्डलबाट
एक थोपा बिष्ठा खस्छ।
घामपानी सहेर
हन्डर–ठक्कर खाएर
लमतन्न सुतेको
महाकाय चट्टान
झसङ्ग हुन्छ
पुनः सुत्छ ।
घामपानी खाएर
आरामसँग सुतेको
त्यो महाकाय चट्टान
वसन्तको आगमनसँगै
नाभिबाट मुना पलाउँछ ।
महाकाय चट्टानलाई
थाहै छैन
उसको गर्भ बसेको कुरा ।
चिरनिद्रामा
अनायास खसेको
त्यो एक थोपा
उसकै शरीरभित्र
जरा गाड्दै छ ।
पिपललाई
आफ्नो भविष्य थाहा छैन
चट्टानलाई
आफ्नो गर्भ थाहा छैन
स्वतन्त्र पन्छीलाई पनि
आफ्नो कर्मको परिणाम थाहा छैन ।
केवल प्रकृतिलाई थाहा छ
उसको लीला ।

