साहित्यपोस्ट डट कम

कविता : उसको लीला

कविता : उसको लीला

चरा भुर्र उडेर

पिपलको रुखमा बस्छ ।

पिपलका दाना टप्प टिप्छ

पाकेका फल

चराले ठुङ्छ ।

पिपल खुसी हुन्छ

“कसैमाथि मैले उपकार गरेँ” भनेर ।

चरा फेरि भुर्र उड्छ

आफ्ना बच्चाहरूलाई

आहारा खुवाउँछ

पुनः भुर्र उड्छ ।

कति स्वतन्त्र छ ऊ

सिङ्गो नभमा विहार गर्छ

उन्मुक्त उडानमा ।

नभमण्डलबाट

एक थोपा बिष्ठा खस्छ।

घामपानी सहेर

हन्डर–ठक्कर खाएर

लमतन्न सुतेको

महाकाय चट्टान

झसङ्ग हुन्छ

पुनः सुत्छ ।

घामपानी खाएर

आरामसँग सुतेको

त्यो महाकाय चट्टान

वसन्तको आगमनसँगै

नाभिबाट मुना पलाउँछ ।

महाकाय चट्टानलाई

थाहै छैन

उसको गर्भ बसेको कुरा ।

चिरनिद्रामा

अनायास खसेको

त्यो एक थोपा

उसकै शरीरभित्र

जरा गाड्दै छ ।

पिपललाई

आफ्नो भविष्य थाहा छैन

चट्टानलाई

आफ्नो गर्भ थाहा छैन

स्वतन्त्र पन्छीलाई पनि

आफ्नो कर्मको परिणाम थाहा छैन ।

केवल प्रकृतिलाई थाहा छ

उसको लीला ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.