पैतालाका नीलडामहरूमा बोकेर
धारिलो बतासको इतिहास
म पनि कुदेकै हुँ समयको अन्धधुन्ध मैदानमा ।
आज मञ्चमा तालीको जङ्गल उम्रँदा
म आफ्नै मनको मखमली मझेरीमा
स्मृतिको सुकोमल पातमा
एकान्त उभिएको छु
म शान्त उभिएको छु ।
अन्तिम रेखा छुने हतारोमा
मैले बाटाका रैथाने फूलहरू निमोठ्नु परेन
रङ्गशालाको कोलाहलले मेरो शून्यता खलबलाएन ।
हार्नुभित्र एउटा यस्तो पृथक् सौन्दर्य छ
जुन कुद्नेको आतुर आँखाले कहिल्यै देख्नै सक्दैन
झर्नुअघि फूलहरू कति सौम्य भएर ओइलाउँछन्
के उनीहरूको त्यो विश्राम
दोस्रो दर्जाको हुनु हो ?
सूर्यको विलोपपछि मात्रै खुल्छ जूनको शीतल साम्राज्य
के उसको नीरव उज्यालोको
आफ्नो कुनै मूल्य छैन र ?
फिँज काढेर छालहरू किनारमा सुस्ताइरहँदा
पिँधको मौनताले नै होइन र समुद्रको गहिराइ थामिरहने ?
रातभरि दुबोको छातीमा मुस्कुराउने शीतल शबनम
घामको पहिलो स्पर्शमै कति चुपचाप बिलाउँछ !
माटोको अँध्यारो गर्भमा हराएर वृक्ष ब्युँझाउने जराहरू
के टाकुरामा फक्रने गुराँसभन्दा कम गौरवशाली हुन्छन् र ?
जसरी वसन्तलाई निम्तो दिएर
चुपचाप झरिजान्छन् पहेँला पातहरू
जसरी बाँसुरीले अरूको ओठमा धुन भर्न
आफ्नो छातीमा मीठो आँधी खप्छ
जसरी एउटा वृक्ष उमार्न बीजले
जमिनमुनि अनन्त तपस्या गर्छ
जसरी आकाशले सागरलाई ओढाइदिन्छ
ढकमक्क नीलो पछ्यौरी
तिमीलाई शिखर सुम्पिएर
फेदीमै मुस्कुराइबस्ने मेरो यो मौनता
लहरहरूका लागि किनारले छोडिदिएको
एउटा फराकिलो खुसी हो ।
गलामा झुन्किएन चमकदार पदक
ठिकै छ
हृदयमा यात्राको अजम्बरी सुगन्ध सुरक्षित छ ।
जित्नेले त केवल एउटा बिन्दु मात्र भेट्छ
मसँग अनुभूतिको विशाल छहारी छ
म एक जुगनू
अन्धकार हुरीमा पनि धिपीधिपी नाचिरहेको
म एक नेपथ्य
पर्दा खसेर
मञ्चका सारा बत्तीहरू निभिसकेपछि पनि
जिन्दगीको उत्सव अझै बाँकी नै राखेर बाँचिरहेको ।

