साहित्यपोस्ट डट कम

कविता : उमेरको बुलडोजर

कविता : उमेरको बुलडोजर

एक समय थियो, विदेश सपना थियो

यो समय छ, देश सपना बनेको छ ।

यस्तो समय थियो, पैसाकै लागि निद्रा बेचियो

आज राम्रो ओछ्यान छ अनि रातभरि छटपटी !

बुबाले खाडीबाट जोडेको खेत बेचियो

दशक बित्यो, मैले फर्काउन सकेको छैन ।

आफ्नै मेहनतको पसिना मीठो भएर होला

छोराको बजारिया चामल ठुस्स गनाएको छ बालाई ।

हुन्छन् आफ्ना सपनाका घरहरू, महलहरू

निसन्देह बनाइनुपर्छ मजबुत इँटाहरूले ।

मैले घरको छत बलियो बनाउने आशमा

निस्किएँछु एउटा ठुलो पारिवारिक खाडल खनेर

जसलाई पुर्न

मैले ट्रकका ट्रक भावनाहरू खन्याएको छु

ट्याङ्करका ट्याङ्कर आँसुले हिल्याएको छु

र लगाएको छु

उमेरको भारी बुलडोजर !

आमाको छातीको एक्स–रे गरेर हेर्दा मेरो फोटो देखिएपछि

टेक्निसियनले मेसिन बिग्रियो कि भनेर जाँच गरेछ रे !

म छक्क परेँ

मेरो देशले यस्तो अब्बल मेसिन कहाँबाट मगाएछ ?

त्यो अस्पतालको डाक्टरले के निको पार्थ्यो आमाको बिमारी

उहाँलाई चट्टै निको पार्ने औषधी त म यता छु !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.