दर्बिलो इतिहास कोर्ने दृढ अभिलाषा
उभिएर वर्तमान र भविष्यको दोसाँधमा
निमेषभर टक्क अड्याएर समयको रथ
सुशासनको दरिलो कसीमा दाँजेर विगत ।
विचारका सीमा रेखाभन्दा माथि उठेर
मतपत्रका साँघुरा घेराभित्र चिन्हहरू नियाल्दै
स्वस्तिक छापहरूले गरेर मधुर स्पर्श
चरम निराशाले भरिएको कालाहारीमा
आशाको एउटा बीज रोप्यौ ।
सँगालेर
समृद्धिका अथाह चाहनाहरू
अँगालेर सुशासनका सर्वव्यापी सिद्धान्तहरू
मुस्कुराइरहून् स्वच्छन्द विचारहरू
अङ्कुराउने लालसा आशाका बीजहरू ।
स्याहार्ने भरोसा साँचेर समृद्धिका फसलहरू
बगाएर नयनबाट अविरल अश्रुधाराहरू
अमूल्य मतका लहरहरूले सिञ्चित पारिदियौ
सहिदका सपना फुल्ने फराकिला छातीहरू
रच्यौ एउटा अनौठो इतिहास
उमारेर आशाहरू ।
अनायासै फेरि कतै ननिमोठिऊन्
विकास र समृद्धिका कोपिलाहरू
आश्वासनका फरेबी पुलिन्दा नबनून्
सुशासनका तीव्र चाहनाहरू ।
आँसुका बुँदाहरूले सिञ्चित नयाँ पालुवाहरू
फूलिरहून् सहिदका स्वर्णिम सपनाहरू
खेर नजाऊन् अमूल्य अभिमतहरू
नवैलाऊन् भुइँमान्छेले उमारेका आशाहरू ।


