साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : उकालोको अन्तिम प्रश्न

कविता : उकालोको अन्तिम प्रश्न

बोकेर रहरको थुन्से
लगाएर स्वाभिमानको जुत्ता
समाएर आत्मीयताको हात

ए च्याङ्वा
जाऊ, हिँड माथि थुम्कातिर !
टिपिल्याऔँला एक थुन्से गुराँसजस्ता खुसीहरू ।

थुम्कामाथिको उकालो उकालो मात्र होइन
त्यो त समयको छाती चिर्नु हो ।
कसैले सोध्नेछ भने प्रश्न
"खुसी भेट्न जाँदैछौ या आफूलाई खोज्न ?"
तिमी नबोल्नु
किनकि उत्तर त तिम्रो पैतालामा हुनेछ ।

हातका रेखाभन्दा साँचो
पीडाले दिएको पाठ हुनेछ ।

यहाँ
थकाइका कथा सुनाउँछन् उकालोहरूले

मान्छेको साहस नाप्छन् ।

यहाँ
हावा सास मात्र होइन
परीक्षा हो
जसले कमजोर चाहना उडाइदिन्छ

बाँकी राख्छ अडिग निर्णय ।
हावाले उडाएका सपनाका टुक्राहरू
ढुङ्गामुनि पर्खिरहेका हुन्छन् दृढ पाइला ।

चोटले सिकाउँछ हात कसरी बलियो बनाउने ।
जब थुम्काको छेउमा पुगेर
तल हेर्नेछौ
बाटोभरि छरिएका दुःखहरू
फूल बनेर मुस्कुराइरहेका हुनेछन् ।

भित्ताभन्दा अग्ला सपना बोकेका मान्छे
थकाइलाई पसिनामा घोलेर पाइला अगाडि सार्छन् ।
आकाश टाढा छैन
बस, आँखा माथि उठाउन
सक्नुपर्छ ।

यदि बाटोमा हरायौ भने
एक–अर्काको स्वर पछ्याउनुपर्छ ।
मन भारी भयो भने काँध साटासाट गर्नुपर्छ
किनकि यात्रा एक्लैले जितिँदैन ।

थुम्कापारि खुसी मात्र छैन
यहाँ साहसको नतिजा लेखिएको छ ।
तिमी खुसी खोज्न हिँडेको मान्छे
जितेर फर्कन्छौ या डराएर ?

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.