साहित्यपोस्ट डट कम

कविता : उज्यालो पर्खिरहेका क्षितिजहरू

कविता : उज्यालो पर्खिरहेका क्षितिजहरू

हो.. म त्यो उज्यालोको कुरा गर्दै छु

जुन उज्यालो चाहे

बिहानीको कलिलो किरणबाट फैलिएको होस्

चाहे भित्र हृदयको किनारबाट फैलिएको होस् ।

निस्पट्ट कालो अँध्यारोलाई

पराजित गर्ने भनेको उज्यालो नै हो

त्यसैले समयका क्षितिजहरू

निरन्तर उज्यालोको प्रतीक्षामा हुन्छन् ।

र भुईँसम्म झरिसकेको

उज्यालोप्रति सजग पनि हुन्छन्

किनभने उज्यालो पराजित हुनु भनेको

फेरि अँध्यारो नै हुनु हो ।

म चाहन्छु त्यो उज्यालो थेग्न

तिम्रो कोमल छाती पहराजस्तो होस्

शिखरझैँ आफू पग्लिएर बग्न सक्ने

कलकल छहराजस्तो होस् ।

एउटा युग नहाँसेको

पिताको ओठमा मुस्कान दिन सक्ने होस्

काखको अतीत बिर्सिएकी

आमाको हृदयमा खुसी दिन सक्ने होस् ।

हो.. म त्यो उज्यालोको कुरा गर्दै छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.