ऊ हरेक दिन
रित्तो गाग्री बोकेर
घमाइलो ठाउँमा जान्छ
र भर्छ
कहिले प्रभाती नीला किरण
कहिले मध्याह्नका सेता किरण
कहिले साँझका सिन्दुरे किरण ।
नपोखियोस् छचल्किएर प्रकाश भनी
मखमलले ढाकेर गाग्रीको मुख
ऊ पस्छ उज्यालोको लेस नभएको आफ्नै घरमा
र खन्याउँछ गाग्री
घाम छरेर उज्यालो पार्न कोठाहरू
तर सधैँझैँ अँध्यारो गाग्रीबाट
छरिन्छन्, बरू थपिन्छन् त्यसभित्रका अँधेरीहरू !
कहिले थाहा पाउने होला उसले
ओसारेर ओसार्न सकिँदैन
बोलाएर आउँदैनन् प्रकाशका उज्यालाहरू !
कहिले बुझ्ने होला उसले
खोलिदिए पुग्छ बन्द भएका झ्याल र ढोकाहरू
फोरिदिए पुग्छ भित्ताहरू र पर्खालहरू
हटाइदिए पुग्छ ढक्कन र तगाराहरू !
निमेषभर अलमल नगरी पस्नेछन् आफैँ
उज्यालो बोकेर घामका किरणहरू
घरका कोठा-कोठामा
मझेरी र चोटामा ।

