(लघुकविता)
ऊ फेरि
तिम्रो घरमा भोट माग्न आउँदैछ !
तराई-मधेसका बस्तीहरूले नभुलोस्
नगदमा बगेको पसिनासँगै
उधारो उखु र दूधको हिसाब माग्न
बाछोदेखि बालकसम्मले भोगेको
भोक, तिर्खा र सपनाको निसाफ माग्न ।
पहाडी भेगका गाउँबेँसीले नभुलोस्
पानी सुकेको पँधेरो देखाउन
खुसी लुकेको घरको अँध्यारो देखाउन
नभुलोस् बच्चा हुर्केको कोक्रो देखाउन
र नभुलोस् बुढो बाको धोक्रो देखाउन ।
सहर र सडकहरूले नभुलोस्
विद्यार्थी ढलेको बाटो देखाउन
गोली, चित्कार र रगतको टाटो देखाउन
दरबारदेखि घरबारसम्म जलेको
खरानी, खण्डहर र देशको खाटो देखाउन ।

