कि कुर्सी फेरबदल गर
कि कुर्सी चोख्याएर मात्र त्यसमाथि बस
पुरानै कुर्सीमा बस्दै नबस्नु ‘महोदय’
‘बा’हरूको रोग तिमीलाई सर्छ !
त्यो कुर्सीमा न्यायले आत्महत्या गरेको छ
त्यो कुर्सीमा सहिदको हंस चिच्याएको छ
त्यो कुर्सीमा जनताको विश्वास बलात्कृत भएको छ
त्यो कुर्सीमा जनताका सपनाहरू
बाह्रै मास सडिएर दङदङ गनाएका छन् ।
अनि
त्यही कुर्सीले गाउँघर रित्तो बनाएको छ
खेतबारीको बाँझो फोर्ने बलिया हातहरू
त्यही कुर्सीले मुग्लान खेदेको छ ।
‘भो, त्यै कुर्सीमा नबस ‘महोदय’,
‘बा’हरूको रोग तिमीलाई सर्छ !
शक्ति, सम्पत्ति र उन्मादले मैमत्त
सम्राटहरूको कुर्सी हो त्यो
त्यो कुर्सीमा बस्न खोज्नेले
जनताको आँसु र रगत बेचेको छ ।
कर्फ्यु लगाएर दमनको भरमा
सत्ता टिकाउनेहरूको कुर्सी हो त्यो
निर्दोष छातीमा बारुद सल्काएर
गोलीको हिसाब नगर्ने कुर्सी हो त्यो
‘मृत घोडा’का सवारहरू बस्ने
घिनलाग्दो फोहोरी कुर्सी हो त्यो ।
कि कुर्सी फेरबदल गर
कि कुर्सी चोख्याएर मात्र त्यसमाथि बस
पुरानै कुर्सीमा बस्दै नबस्नु ‘महोदय’
‘बा’हरूको रोग तिमीलाई सर्छ !

