साहित्यपोस्ट डट कम

कविता : त्यै कुर्सीमा नबस्नु ‘महोदय’, ‘बा’हरूको रोग सर्छ !

कविता : त्यै कुर्सीमा नबस्नु ‘महोदय’, ‘बा’हरूको रोग सर्छ !

कि कुर्सी फेरबदल गर

कि कुर्सी चोख्याएर मात्र त्यसमाथि बस

पुरानै कुर्सीमा बस्दै नबस्नु ‘महोदय’

‘बा’हरूको रोग तिमीलाई सर्छ !

त्यो कुर्सीमा न्यायले आत्महत्या गरेको छ

त्यो कुर्सीमा सहिदको हंस चिच्याएको छ

त्यो कुर्सीमा जनताको विश्वास बलात्कृत भएको छ

त्यो कुर्सीमा जनताका सपनाहरू

बाह्रै मास सडिएर दङदङ गनाएका छन् ।

अनि

त्यही कुर्सीले गाउँघर रित्तो बनाएको छ

खेतबारीको बाँझो फोर्ने बलिया हातहरू

त्यही कुर्सीले मुग्लान खेदेको छ ।

‘भो, त्यै कुर्सीमा नबस ‘महोदय’,

‘बा’हरूको रोग तिमीलाई सर्छ !

शक्ति, सम्पत्ति र उन्मादले मैमत्त

सम्राटहरूको कुर्सी हो त्यो

त्यो कुर्सीमा बस्न खोज्नेले

जनताको आँसु र रगत बेचेको छ ।

कर्फ्यु लगाएर दमनको भरमा

सत्ता टिकाउनेहरूको कुर्सी हो त्यो

निर्दोष छातीमा बारुद सल्काएर

गोलीको हिसाब नगर्ने कुर्सी हो त्यो

‘मृत घोडा’का सवारहरू बस्ने

घिनलाग्दो फोहोरी कुर्सी हो त्यो ।

कि कुर्सी फेरबदल गर

कि कुर्सी चोख्याएर मात्र त्यसमाथि बस

पुरानै कुर्सीमा बस्दै नबस्नु ‘महोदय’

‘बा’हरूको रोग तिमीलाई सर्छ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.