साहित्यपोस्ट डट कम

कविता : त्यहाँ गएर के गर्नु ?

कविता : त्यहाँ गएर के गर्नु ?

त्यहाँ गएर के गर्नु ?

मेरा त सबै यतै छन् ।

यी दृश्यहरू

मीठा स्वादहरू

मधुरा ध्वनिहरू

मायालु स्पर्शहरू

न्याना छातीहरू

अँगालोभरिका प्रेमहरू

सबै यतै छन् ।

साँच्चै, त्यहाँ गएर के गर्नु ?

कोसँग गुनासो गर्नु ?

रिसाउनु कोसँग ?

कोसँग पोख्नु प्रेम ?

यो मोह, यो माया

यो देह, यो रूप

यो संसार, यो जञ्जाल

यी मान्छेहरू

मलाई यिनै प्यारा छन् ।

मलाई इन्द्रियहरूको भोग प्यारो छ

बोलीले मनलाई सुम्सुम्याउँछु

जिब्रोले जीवनको स्वाद चाख्छु

चर्मले आत्मासम्म छुन्छु

कानले एउटा जिन्दगी सुन्छु

आँखाले प्रेमको अनाकार देख्छु ।

त्यहाँ गएर के गर्नु ?

जाँदा म मात्र जान्छु ?

कि जान्छन् प्यारा इन्द्रियहरू मसँग ?

अनुभूतिहरू जान्छन् ?

यो सम्बन्ध, यो प्रेम

के यी मसँगै जान्छन् ?

के मेरा प्यारा मानिसहरू मसँगै जान्छन् ?

केही नहुँदा पनि

यहाँ सबथोक छ।

केही स्मृतिहरू छन् सम्झिरहन्छु

केही विस्मृतिहरू छन् भुलिरहन्छु ।

स्मृतिका धुमिल पदचापहरू

सम्झिए-सम्झिए जस्तो लाग्छ

दुःख बिसाएका चौतारीहरू

बिर्सन थाले जस्तो लाग्छ ।

त्यहाँ गएर के गर्नु ?

कल्पना र आशाहरू यहाँ छन्

सम्झनाका डङ्गुरहरू यहाँ छन् ।

हात छुट्न लागेको बेलामा

आँखाबाट झर्न लागेको आँसुको

दिन ढल्न लागेको यो साँझमा

घाम झुल्किन लागेको त्यो बिहानीको

त्यो झरीको, त्यो बाटोको

त्यो साँझको, त्यो माटोको

सम्झना र बिर्सनाको

प्रेम, आसक्ति र तिर्सनाको।

यो संसार, यो सर्कसको

त्यो कोलाहल, त्यो कर्कसको

राम्रोको के कुरा भो र यो संसारको ?

नराम्रैसँग पनि मलाई प्यार छ !

मलाई यी सम्झनाबाट छुट्नु छैन

मलाई बाँधिन मन छ

मलाई मुक्त हुन मन छैन ।

किन छुट्नुपर्छ आखिर हामी ?

म मेरै अधीनमा किन छैन आखिर ?

किन सक्दैन आखिर

एउटा जिन्दगी अर्कोसँग नछुटिन

एउटा जिन्दगी आफैँसँग नछुटिन ?

आखिर किन जानुपर्छ हामी त्यहाँ ?

खासमा, त्यहाँ गएर के गर्नु ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.