आफैँमाथिको उज्यालो र आकाशमुनि छोपिएर
छोपिएका ढलान र ढक्कनले थिचिएर, निस्सासिएर
दायाँ-बायाँको सिमानाले झनै ठेलिएर, चेपिएर
आफ्नै प्राकृतिक र स्वच्छ रक्तप्रवाहमा
गुहु र ढल मिसाउँदै
डुङ्डुङ्ती गनाउँदै
बेहिसाब बगिरहेको टुकुचाझैँ
एकपछि अर्को गर्दै हात लागेको
असफलता र विपन्नताले घचेडिएर, पेलिएर
अनि आफ्नै अपेक्षा र अभिभाराले थिचिएर
चौरासी जुनीपछि बल्लतल्ल मिलेको
एक सग्लो र सङ्लो जीवनमा
कुण्ठा र ग्लानिको
गुह्ये लेदो मिसाउँदै
थोरै बचेको रसपानी चुहाउँदै
उसैगरी डुङ्डुङ्ती गनाउँदै
दुई ट्याब्लेटले धानेको
एकमुठी गन्धे सास बोकेर
ढल भइसकेर पनि
नदी सपनाको भारी खेप्दै
अझै समुद्र पुग्ने झिनो जिजीविषामा
बेहोस र बेप्रवाह
आफ्नै दुर्गन्धतिर
बगिरहेछ टुकुचा जिन्दगी ।

