हामी हौँ केवल कोणहरू
एउटा त्रिकोणको
एउटा कोण तिमी, एउटा म
मलाई बताऊ अर्को को ?
दुई विन्दुहरू जोडेर
एउटा सरल रेखा खिच्न
चाहन्थेँ म
अनि त्यो सरल रेखाले
ब्रह्माण्डै भेद्न
चाहन्थेँ म
बताऊ अर्को विन्दु बनी
आयो को
र बन्यो बन्द आकृति
त्रिकोणको ?
सृष्टि, स्थिति र प्रलयको
निम्ति
विधि–हरि–महेश त्रिदेवको
आवश्यकता भएजस्तै छ भने
बताऊ प्रयोजन यो
त्रिकोणको ?
वा पवित्र ट्रिनिटी जस्तै
कुन गौरवता छ यसको ?
मलाई मात्र यत्ति थाहा छ
कुल एक सय असी डिग्री छ
योगफल
यो त्रिकोणभित्रका कोणहरूको
तिमी आफूलाई छोडी नाप
दुईटा
र बताऊ बढी को कम्ती को ?

