शीर्षहरू
जसले बनाए
बनाएकाहरूसँग टावरको सम्पर्क छैन ।
अहिले दिग्भ्रमित र विक्षिप्त छन्
मस्तिष्क सक्रिय छैन ।
शीर्षहरू टावरको सम्पर्कमा नभएपछि
बनाउनेहरूलाई स्पर्श गर्न
बुझ्न र छुन नसकेपछि जोडिन सकेनन्
सम्पर्क हुन सकेन ।
भावना र विचारबाट टाढा हुँदै गए शीर्षहरू
शून्यमा झरे
रुखबाट पात झरे जस्तै
क्रमशः झर्दै छन् ।
हामीले आशा गरेका थियौँ
ऊ अहिलेको अवस्थामा पौडिन्छ
र हामीलाई पनि किनारामा ल्याउँछ ।
त्यस्तो हुन सकेन
त्यस्तो गर्न सकेन शीर्षले ।
त्यसैले, हाम्रो टावर शीर्षले पकड्न सकेन ।
अहिले शक्ति भएका
ऊर्जा भएका धेरै युवाहरू
मस्तिष्क अत्यन्त सक्रिय भएका युवाहरू
टावरको सम्पर्कमा छन् ।
हामीले आशा गरेका छौँ
डुब्नबाट देशलाई बचाउँदै
हामीलाई किनारामा ल्याउने छन् ।

