साहित्यपोस्ट डट कम

कविता : तिम्रो उपस्थिति, मेरो अनन्त !

कविता : तिम्रो उपस्थिति, मेरो अनन्त !

तिमी टाढा छैनौ

केवल

समयको अर्को किनारामा

केही

दिन बसेकी ।

तिमी नहुँदा हावा पनि रोकिएको

बाटो बिर्सी शून्यलाई छेकेकी ।

छुट्नु कला हो

नचाहँदै

छुट्नु

क्षणलाई अनन्त बनाउने मन्त्र ।

माया परिवर्तनसँग नबदल्ने

त्यो एक सत्य, अटल, पवित्र ।

तिमी अदृश्यभित्र लुकेको सपना

पलपलमा बग्ने कविताको रेखा ।

जुन गहिराइ कहिल्यै नापिएन

हरेक मोडमा नयाँ संसारको देखाइ ।

शब्दहरू ओठैमा डराउँछन्

मौन हुन्छन् अर्थ हुँदैनन् ।

मनभित्र आफ्नै भाषामा जलेको

त्यो छटपटी कविता

त्यहीँ पलाउँछ ।

हिजोका रिसहरू

आज

सम्झनामा मीठा फूलझैँ फुल्छन्

किनभने

अन्तरले सिकायो माया

अधिकार होइन

छुटेर पनि नछुट्ने उपस्थिति ।

सबै भिडमा हराउन खोजे पनि

तिम्रो नाम मेरो पहिचानको जरा ।

सबै आधारहरू जले पनि

मेटिने छैन यो

प्रेम

समयसँगको अनौठो जोड ।

यदि प्रेम यही हो भने

समयलाई पराजित गर्ने शक्ति पनि हो ।

संसारलाई एकछिन तिम्रो नाममा रोक्न सक्छ

र सीमाभन्दा परको नाप

त्यहीँ म तिमीलाई भेट्छु

जहाँ भाषा सकिन्छ, प्रेम सुरु हुन्छ ।

जहाँ सबै सीमा हराउँछन्

हामी अनन्तमा घुल्छौँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.