साहित्यपोस्ट डट कम

कविता : तिम्रो शल्यक्रियाको दिन, म अर्धमृत थिएँ !

कविता : तिम्रो शल्यक्रियाको दिन, म अर्धमृत थिएँ !

तिम्रो फोक्सोको

जटिल शल्यक्रिया हुँदै गर्दा

अस्पतालको रिसेप्शन कक्षमा

म मेरो आफ्नै सास खोजिरहेको थिएँ ।

उसबेला

तिमी जिउनुको अभ्यासमा थियौ

म मर्नु सिकिरहेको थिएँ ।

अपरेसन थिएटरमा तिमी छिर्नुअघि

एकैछिनको हाम्रो त्यो भेटमा

मैले के बोलेँ, थाहा भएन

तिमीले के भन्यौ, मैले सुनिनँ ।

किनकि

म भने त्यो बेला

एनेस्थेसियाले शल्यकक्षमा

तिम्रा आँखाहरू बन्द गरिदिएपछि

फेरि ती आँखाहरू खोल्छौ कि खोल्दैनौ

तिम्रै परेलीहरूलाई मौन सोधिरहेको थिएँ ।

थाहा थिएन

माया पनि यति दुख्दो रहेछ !

चुलेसीको धारमा रेटिएजस्तो

अचानोमाथि टुक्रिएजस्तो ।

मुटु ढुकढुकाइरहेको हो कि

छाती नै भुटिएको हो ?

थाहा थिएन

माया पनि यति धारिलो हुँदो रहेछ ।

तिम्रो फोक्सोको शल्यक्रिया हुँदै गर्दा

म आधा मात्र बाँचेको थिएँ

आधा पहिले नै मरिसकेको थिएँ ।

जे होस्

तिमी फर्क्यौ ।

तिमी फर्केको खबर सुनाउने

मेरो छोरोको त्यो आवाज पनि

दुरुस्तै भगवान्‌कै स्वरजस्तो थियो !

सत्ते होला

जिन्दगीको कठोर लडाइँ जितेर

जब तिमी घर फर्क्यौ

त्यो बेला म आफैँलाई

लोर्के नवदुल्हाजस्तै लाग्यो !

‘लभ यू’ काली !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.