विस्तीर्ण सीमाहीन नीलोले
हरेक बिहान तिमीलाई शुभप्रभात जनाउँछ
बीचबीचमा एक टुक्रो फिस्स
बादलको रमाइलो यात्रा
घर फर्कने पक्षीहरूका हाँचले
बनाएका एक–दुई उल्टो ‘V’ को नक्सा ।
तिम्रो आकाशमा सिमलले
अझै रातो आगो दन्काइदिन्छ
आज पनि राजवृक्षले स्वर्णालङ्कार भिराइदिन्छन् ।
मुट्ठीका मुट्ठी रातो र पहेँलो अबिरले
रङ्गीन बनाइराख्छन् तिम्रो आकाश
सूर्यले चियाउने हरेक बिहान
अनि बिदा लिने हरेक साँझ ।
कहिलेकाहीँ बेघनीसेहासुरले
छरिएका प्रकाशका अपरूप लुकामारी खेल ।
फलामे ग्रिलको फाँटोबाट
हरेक बिहान म पनि देख्छु
छेउको निर्माणाधीन फ्ल्याटको
रडको शिरले खण्डित गरेको
महानगरका आकाशका केही टुक्राहरू।
धेरै दिन भएछन् नदेखेको
नाजुक बादलले अघिपछि ननाचेको ।
देखिरहेको छैन
बगालका बगाल पक्षीहरू घर फर्केका
देखेको छैन
रङ्गीन सूर्योदय र सूर्यास्त ।
ढिबरी लिएर आउने जुनकिरीको मेला
देखेको छैन उहिलेको त्यो आकाश
आशा र विश्वासले भरिएको
पलास र सिमलले रातो आगो बालेको।
सप्तरङ्गको समाहार देखेँ एक–दुई पटक
विलासी विमान यात्रामा
जब आकाशको नीलो र सेतो छेदन गर्छु ।
महाकाशले दियो तिमीलाई दृष्टिको विशालता
निर्धो हुन पुगेँ म मेरो दृष्टिमा केवल
आकाशको खण्डित टुक्रा
भत्किएको सपनाको टुक्रा ।
मूल असमिया: मेघाली दत्त सलिहा अनुवाद: डा. देवेन सापकोटा
*बेघनीसेहासुर = इन्द्रेणीका सातवटा रङ (बेजनी, घामिलो, नीलो, हरियो, सुन्तला, गुलाबी, रातो) को सङ्केत।

