साहित्यपोस्ट डट कम

कविता : तिम्रो आकाश, मेरो आकाश

कविता : तिम्रो आकाश, मेरो आकाश

विस्तीर्ण सीमाहीन नीलोले

हरेक बिहान तिमीलाई शुभप्रभात जनाउँछ

बीचबीचमा एक टुक्रो फिस्स

बादलको रमाइलो यात्रा

घर फर्कने पक्षीहरूका हाँचले

बनाएका एक–दुई उल्टो ‘V’ को नक्सा ।

तिम्रो आकाशमा सिमलले

अझै रातो आगो दन्काइदिन्छ

आज पनि राजवृक्षले स्वर्णालङ्कार भिराइदिन्छन् ।

मुट्ठीका मुट्ठी रातो र पहेँलो अबिरले

रङ्गीन बनाइराख्छन् तिम्रो आकाश

सूर्यले चियाउने हरेक बिहान

अनि बिदा लिने हरेक साँझ ।

कहिलेकाहीँ बेघनीसेहासुरले

छरिएका प्रकाशका अपरूप लुकामारी खेल ।

फलामे ग्रिलको फाँटोबाट

हरेक बिहान म पनि देख्छु

छेउको निर्माणाधीन फ्ल्याटको

रडको शिरले खण्डित गरेको

महानगरका आकाशका केही टुक्राहरू।

धेरै दिन भएछन् नदेखेको

नाजुक बादलले अघिपछि ननाचेको ।

देखिरहेको छैन

बगालका बगाल पक्षीहरू घर फर्केका

देखेको छैन

रङ्गीन सूर्योदय र सूर्यास्त ।

ढिबरी लिएर आउने जुनकिरीको मेला

देखेको छैन उहिलेको त्यो आकाश

आशा र विश्वासले भरिएको

पलास र सिमलले रातो आगो बालेको।

सप्तरङ्गको समाहार देखेँ एक–दुई पटक

विलासी विमान यात्रामा

जब आकाशको नीलो र सेतो छेदन गर्छु ।

महाकाशले दियो तिमीलाई दृष्टिको विशालता

निर्धो हुन पुगेँ म मेरो दृष्टिमा केवल

आकाशको खण्डित टुक्रा

भत्किएको सपनाको टुक्रा ।

मूल असमिया: मेघाली दत्त सलिहा अनुवाद: डा. देवेन सापकोटा

*बेघनीसेहासुर = इन्द्रेणीका सातवटा रङ (बेजनी, घामिलो, नीलो, हरियो, सुन्तला, गुलाबी, रातो) को सङ्केत।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.