साहित्यपोस्ट डट कम

कविता : तिम्रै सम्झनामा

कविता : तिम्रै सम्झनामा

गहभरि आँसु झरी, सल्बलाउने छाया

दिलैभरि सम्झना छ, मुटुभरि माया ।

हिमालको काँधबाट चन्द्रमाले च्याउँछ

सम्झनाको डिलैबाट स्वर्ग डगमगाउँछ।

जुनेलीको पहेलीमा रारा चुलबुलाउँछ

तिम्रै माया जताततै सधैँ सल्बलाउँछ ।

गीत धुन बगैँचामा पसी कोइली चरी

बोलाउनै नसकेर कुक्क–कुक्क गरी ।

तिम्रो कृति फिजाउन हाँस सक्तैन रे,

सेता–सेता पखेटा उसका खुम्ची त्यसै झरे ।

बादलको पाखी बोकी सूर्य फन्फनाउँछ

तिम्रै माया मेरो मनमा सधैँ झनझनाउँछ ।

विरहका व्यथा उनी माला गाँसी रहेछु

तिम्रै माया मुटुभित्र सधैँ साँचिरहेछु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.