साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : तिम्रा फूल खै कस्ता फूल ?

कविता : तिम्रा फूल खै कस्ता फूल ?

तिम्रा फूल खै कस्ता फूल
फूल हुनुपर्छ त हाम्रा महामहिमका जस्ता
सेता, सुकिला, मग्मगाउँदा ।

तिम्रा माटो र फोहोर मिसिएका फूलले
बढाउँदैनन् उहाँको बगैँचाको शोभा
तिम्रा रगत र पसिना गन्हाउने फूल
कदापि हुन सक्दैनन् महामहिमका चम्पा र चमेली ।

तिमीहरू जस्तो कहाँ हो र ?
महामहिमका चरणकमलमा चढाइदिइराख्नुपर्छ फूलहरू
उहाँको मुखमण्डलको शोभा बचाइराख्न
सिउरिदिइराख्नुपर्छ उहाँका कानमा फूलहरू
उहाँको दैवी चरित्र कायम राख्न
लगाइदिइराख्नुपर्छ उहाँका गर्धनमा फूलहरू ।

उहाँका कोठाहरू गन्हाउन सक्छन्
छरिदिइराख्नुपर्छ फूलहरू,
उहाँ सहन सक्नुहुन्न
गन्हाउने, कुरूप फूलहरूको दृश्य ।

साँच्चै
वासना नआउने फूल पनि कहीँ फूल हुन्छन् ?
फूल हुनुपर्छ त हाम्रा महामहिमका जस्ता
सेता, सुकिला, मग्मगाउँदा
तिम्रा फूल खै कस्ता फूल ?

तिम्रा जस्ता वासना नआउने फूल
जलिरहनुपर्छ पटक–पटक
हाम्रा महामहिम वास्ता गर्नुहुन्न
कुरूप, गन्हाउने फूलहरूको ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.