तिम्रो बैँसालु उमेरमा तिमी अद्भुत सुन्दर थियौ रे
तिम्रो छेउछाउ ओहोरदोहोर गर्ने सबैलाई मोहित बनाउँथ्यो रे ।
तिम्रो लम्बेतान शरीरको स्पर्श नै मानिसहरूको तीर्थ हुन्थ्यो रे
पाइलैपिच्छे स्वर्ण वर्षा गराउँथ्यौ रे, सहरभरि प्राण भर्थ्यौ रे ।
कि त तिमी अप्सरा जस्तै सुन्दर हुनुहुँदैनथ्यो
कि त तिमी मूर्ति जस्तै सहनशील हुनुहुँदैनथ्यो ।
आफ्नो अस्तित्व जोगाउन तिमी किन काली बनिनौ ?
आफैँलाई जोगाउन तिमी किन राक्षस बनिनौ ?
म पत्याउनै सक्दिनँ, म कल्पना नै गर्न सक्दिनँ
तिम्रो त्यो कोमल अनुहार, शीतल वक्षस्थल, पुष्ट नितम्ब…
तिम्रो अनुपम सुन्दरता तिम्रै लागि अनिष्ट भएछ
तिम्रो मौनता नै तिम्रो ठूलो कमजोरी भएछ ।
कति बस्छ्यौ अब यो सहरका चोक र गल्लीहरू धाएर ?
कति हिँड्छ्यौ अब अर्धनग्न जीर्ण शरीर लिएर ?
कहाँ जान्छ्यौ यो सहरको बैँस बिसाउने रछ्यान बनेर ?
कति बाँच्छौ दिनरातको यो बलात्कार सहेर ?
म चमत्कारी ईश्वर होइन, मानवभन्दा माथिको महामानव पनि होइन
तिमीलाई न्याय गर्न सक्छु कि सक्दिनँ, तर तिमीलाई अझै प्रेम गर्छु।
तिमीलाई हेरेर मात्रै नथाक्ने एउटा पागल प्रेमी हुँ
त्यसैले, तिमी रुँदा म कसरी हाँस्न सक्छु, विष्णुमती ?

