तिमी आयौ चुनावी मैदानमा
मेरो स्वतन्त्रताको घोषणापत्र बोकेर
साझा निर्णयलाई कार्यशैली भन्यौ
विस्तार र समृद्धिलाई गन्तव्य ।
जब कोणसभामा भाषण गर्यौ
तिम्रा शब्द–शब्दमा पोखिए
आत्मविश्वास र समझदारी
आपसी सम्मान र जिम्मेवारी ।
जति तिमी बोल्यौ खुलस्त
त्यति म कसिएँ विश्वासले
तिमीलाई सुन्दै निर्धक्क बनेँ
तिम्रो मतदातामा दर्ज हुन ।
कतिलाई तिमीले सुनायौ एजेन्डा
कतिको मैले सुनेँ आश्वासन
तिम्रो घोषणापत्रमा भावना मेरै भेटेँ
तिम्रो जितमा विजयी हुन मतदान गरेँ ।
मेरो एक भोट मात्र
शतप्रतिशत विश्वासमा तिमी विजयी
दुवैको समर्थन र साझा स्वीकृतिमा
चुनियौँ प्रधानमन्त्री र गृहमन्त्री दुई ।
दुई दशकको दाम्पत्य शासनमा
साझा सङ्घर्ष र अडिग समर्पण नै
स्थिर घर–सरकारको सूत्रधार बनी
समृद्धिको सहयात्रा निरन्तर नै ।
परिष्कृत हुने मार्ग पहिल्याउन आऊ
निर्वाचनमा फेरि वैधता लिऊँ
म तिम्रो एक्लो स्थायी मतदाता
तिमी मेरो एक्लो स्थायी उम्मेदवार ।

