निष्पट्ट अन्धकार छाइरहँदा
कालो बादलले गगन ढाकिरहँदा
शीतल प्रकाश फैलाएर
मधुर मुस्कान छरिरहने
पूर्णिमाको एक पूर्णचन्द्र “तिमी” ।।१।।
एकान्त एकलासे जङ्गलको बाटोमा
मार्ग भुलेर भौतारिरहने यात्रीलाई
शीतल छहारी अनि सुरक्षित बास
पवित्र जल अनि भरपेट भोजन
दिलाउँछु भन्दै स्वागत गर्ने
उदारमना एक आतिथेय “तिमी” ।।२।।
मरुभूमिमा तिर्खाएर तखतरान बटुवालाई
चिसो अमृतमय जल प्रदान गर्न
आफूलाई नै धर्तीमा बिछ्याइदिने,
सबैलाई बराबरी अधिकार दिलाउन
आफैँलाई नै बिर्सिएर फैलिदिने
एक सुन्दर श्रान्त तलाउ “तिमी” ।।३।।
उष्णतामा छटपटिरहेको यात्रुलाई
पसिना सुकाउने हावा दिने
आफैँ नै फैलिएर
फलफूलले लटरम्म भई झुकिरहेको
परोपकारी वृक्षको रूपमा सधैँ खडा
एउटा प्रिय छहारी “तिमी” ।।४।।
आफैँलाई मेटाएर
अरूको निम्ति सदा समर्पित
धृति क्षमाकी प्रतिमूर्ति
सिर्जनाकी प्रतिबिम्ब
प्रकृतिकी प्रतिनिधि
मातृस्वरूपा धर्ती “तिमी” ।।५।।
शृङ्गारकी शोभा
हृदयकी रानी
शरीरकी गहना
हीराकी हार
लक्षणकी मूर्ति
श्री अनि लक्ष्मीस्वरूपा
जताततै नै
तिमी नै “तिमी” ।।६।।


