साहित्यपोस्ट डट कम

कविता : तिलोत्तमा

कविता : तिलोत्तमा

कुहिरोले ढाकेको आकाश

झरीले रुझेको धरती

घुम ओढेर

कोदो रोपिरहेकी तिलोत्तमा ।

नजिकै एकोहोरो कुकुर भुके पनि

धोद्रो स्वरमा काग कराए पनि

विचलित नभई

कोदोसँगै रोपिरहेकी छे जिन्दगी ।

म नियालिरहेछु

तिलोत्तमाको जीवन-यात्रा ।

नियतिले बेस्सरी चुट्दा पनि

जिन्दगीलाई तुन्दै र बुन्दै

आशाको झिनो बत्ती बालेर

जीवनको उज्यालो खोजिरहेकी छे ।

साउँ अक्षर मात्रै छिचोलेकी

सामाजिक बन्धनले बाँधिएको पत्तै नपाई

अन्धपरम्पराले थिचिएर

तौली-तौली बोल्न सिकाइएकी

घुम्टो हाली हिँड्नुपर्ने

पाखण्डी समाजमा बाँच्न विवश

एकल महिला हो तिलोत्तमा ।

गर्भे टुहुरी

आमाले बनिबुतो गरी हुर्काएकी

पाठशाला जानै नपाई

साहुको बाख्रा गोठालोमा

साहुकै छोरी नर्मदाले

पढ्न सिकाएकी हो ठुलो वर्णमाला

र छिचोलेको हो साउँ अक्षर ।

पुण्य प्राप्तिको भ्रममा

आमाको अविवेकी हतारोले

भविष्यको हेक्का नराख्दै

तेह्र वर्षमै विवाह गरिएकी

अबोध बालिकाको जीवन-कथा हो यो ।

बाबुको अनुहारै नदेखेकी

आमाको मृत्युको पीडा नबिर्सिँदै

छब्बीस वर्षको जवानीमै

पतिलाई हैजाले लान्छ ।

तिलोत्तमा अधीर बन्छे

लालाबाला कसरी हुर्काउने ?

दुःखको समुद्र आँखाबाट बर्सिन्छ

गतिहीन जिन्दगी घिसारेर

जीवनको परिभाषा खोज्छे ।

आफ्नै घर-खेत छैन

बनिबुतो नगरे हात-मुख जोडिँदैन।

तिलकबहादुर!

तिमीले किन एक्लै छोड्यौ तिलोत्तमालाई ?

समयले नराम्ररी चुटेपछि

तिम्रो यादमा तिलोत्तमा रोइदिन्छे ।

साहु गिद्धे नजर लाउँछ

साहुको प्रतिरोध गर्ने या नगर्ने ?

तिलोत्तमामा प्रतिशोध जन्मन्छ

ऊ साहुलाई थुकिदिएर

विद्रोहको सुरुवात गर्छे ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.