ती अबोध निर्दोष आँखाहरू
बगैँचामा रङ्गीबिरङ्गी पुतलीझैँ फिर्रफिर्र डुल्दै छन् ।
ती निश्चल पवित्र मन
चराझैँ खुला आकाशमा फुर्रफुर्र उडान भर्दै छन् ।
मिर्मिरेको उज्यालोमा गुलाफका पत्रहरूझैँ ती कलिला मुनाहरू
फक्रिँदै छन् सुस्तरी–सुस्तरी ।
तर आज दिउँसै आँखाहरूबाट चञ्चलता
यसरी अदृश्य भए सबैको माझबाट, जसरी फूलबाट सुगन्ध ।
निलो स्वच्छ आकाश कालो देखियो एकाएक
र उनीहरू आत्तिए, विचलित भए
तर नजिकै न आमा–बा हुनुहुन्थ्यो, न त आफ्ना मान्छेहरू !
शरीर शिथिल हुँदा आफूलाई असुरक्षित ठान्ने
बरु आफूभित्र उर्लिएका आगोका लप्काले आफ्नो अस्मिता जोगाउन
उनीहरू (निर्मलादेखि इनिशासम्म) युद्धमा लडिरहे ।
जसरी सिपाही मातृभूमिमा होमिन्छन्
थाहै नपाई कति बाटो हिँडिरहन्छन् पूर्ण रूपले देशलाई बचाउन ।
उनीहरू पनि कलियुगका दानवहरूसँग लड्दै छन्
कुनै नौलो ठाउँमा आफ्नो अस्तित्व जोगाउन ।
रणमैदानमा दुर्योधन, दुशासन र रावण आफ्नो रूप फेरेर
उनीहरूभित्रको उज्यालो समाप्त पार्न अग्रसर देखिन्छन् ।
बाटोछेउमा अतृप्त चाहनाको प्यास मेटाउन
निर्लज्ज हाँस्दै छन् खोलाकिनारमा ।
उनीहरू एक्लै थिए तैपनि
साहसी योद्धाले झैँ आकाश–धर्तीलाई साक्षी राखेर प्रणाम गर्दै
अन्तरात्माको साहस बटुल्दै उनीहरू होमिएका थिए ।
वीरताका साथ हृदयको ढुकढुकी मन्द गतिमा सुसेलिँदा
आफ्नो अस्त्र र औजार लिएर, नङले चिथोर्दै रगताम्य पार्दै थिए
ती गिद्धका जस्ता अनुहारलाई, शिकारीको रूपमा हिँडेका ती पिशाच दानवहरूलाई ।
छि: छि: ! कस्तो निर्लज्ज !
आवेगहरूलाई, मनको कुण्ठालाई शान्त पार्न
कामवासनाले अतृप्त अघोरीहरू र्याल चुहाउँदै
ब्वाँसोको झुन्ड यात्रामा निरन्तर लम्किँदै थिए ।
आफ्नै सृष्टि बिर्सेर आमा, दिदीबहिनी र छोरीलाई पनि
हिँड्दा–हिँड्दै घिसार्दै छन् भावविह्वल दृष्टिले आगनमै ।
आफ्नो तुच्छ स्वभावको आडमा न त पश्चात्ताप छ, न त खेद ।
बरु उल्टो— कुनै रहस्यमय वस्तुझैँ हेर्दै छन् उनीहरूतिर
धुन्धुकारीले झैँ सहजै निल्न खोज्दै छन् आफूतिर ।
झेपारोले झैँ रूप फेर्दै असहज परिस्थितिमा पनि
डस्न लम्किँदै छन् उनीहरूतिर ।
फितलो कानुनको आधारशिलाले त प्रश्न उठाएको छ निरन्तर
युगौँदेखि अझैसम्म पनि ।
बिचरी आमा भन्दै छिन् “उठ नानी उठ, पूरै सहर ब्युँझिसक्यो
तँ किन बोल्दिनस् ? बा–आमालाई किन चिन्दिनस् ?”
आमाको अनुहार बिस्तारै पश्चिमतर्फ डुब्न लागेको घामजस्तै लाग्छ
कहिल्यै नसुक्ने आँसुजस्तै बग्दै छन् बह ।
अनि कति अबोध छोरीहरू मृत्युको खाटमा चिरनिद्रामा छन् घाटमा ।
न त चीत्कारको चिच्याहट बोल्छ, न त पीडाका सुसेलीहरू नै
न त जीवन छ, न त जीवन्तता !

